श्रीधर लामिछाने
संसार लाई कोरोनाले दुखः दिन थालेको पनि झन्डै ८ महिना पुरा भयो। यो अवधि मा नै संसारका अरु देशहरु झैं हाम्रो देश पनि कोरोनाले थला परेको छ। अर्थतन्त्र नराम्रो संग बिग्रिएको छ। जनता अहिले नै कसरि भोक मेटाउने भनेर चिन्तामा छन्। यस्तो लकडाउन भैरहे वा यस्तै जनजीवन रही रहे, देशमा खाद्य पदार्थ अभाव हुन सक्छ। आर्थिक अभावको कारण मध्यम वर्गका नेपाली समेतको क्रय शक्ति घट्छ, गरिवको त कुरै छाडौ। यस्तो अवस्थामा हरेक नेपालीको बाँच्ने अधिकार छिनिन सक्छ। वा भनौ धेरै नेपाली भोकमरीको चपेटामा छटपटाउने अवस्था आउन सक्छ। अर्को तर्फ हाम्रा राम्रा सम्मा ठाउँका जमिनहरु प्राय घडेरीमा परिणत भएका छन्। ति घडेरी सबै बाँझा छन्। जसको युवा जनशक्ति बाहिर पलायन भएको छ उनका पनि खेत बारी बाँझा छन्। खेत वारी जम्मै बाँझो हुनु भनेको खाद्यान्नमा पर निर्भर बढ्दै जाने भन्ने नै हो। अनि कतिपय उर्वर भुमी को प्रयोग चिया, कफी, सुर्ती, जस्ता नगदे बालि लगाएर राखिएको छ। ति सबैको कारण भुमिलाई कसरी दैनिक बाँच्ने आधार अन्न उत्पादनमा सहयोगी बनाउने भन्ने चुनौती हो जस्तो लाग्छ मलाइ त।
त्यसको सामना गर्न अहिले नै होस गर्नु जरुरी छ। त्यो होस परिवारको तहमा, स्थानीय निकायको तहमा, प्रदेशको तहमा, र केन्द्रीय सरकारको तहमा समेत गम्भीर भएर सोच्नु र योजना बनाइ कार्यन्वयन गर्नु अति आवश्यक छ। यो काममा लागि हाल्नु पर्ने देखिन्छ। त्यसरी समुदाय र राज्यको स्तर बाटै लाग्ने भनेको के हो?
छिटो फल्ने र खानको छिटो तयार हुने वाली लगाउने:-
हुनत हामी अहिले खाद्यान्नमा समेत पर निर्भर भै सकेका छौँ। तर यदि समन्वयात्मक ढंगले काम गर्न सकेमा हामी परनिर्भरता बाट आत्मनिर्भरताको बाटोमा लाग्न सक्छौ। त्यो पनि यस्तो महामारीको समयमा यसलाई एक अवसरको रूपमा लिएर हामीले सहि ढंगले स्रोत परिचालन गर्न सकेको खण्डमा यो अवसरमा परिणत गर्न सकिन्छ। केवल सबै तहका राज्य संरचना ले गम्भीर भएर लाग्नु मात्र पर्यो। उदाहरणको लागि कार्डिनल, डेजिरे जातको आलु दुई महिनामा नै खन्न योग्य हुन्छ। सठिया भटमास, चालिस दिने मुला, त्यस्तै छिटो तयार हुने वाली हुन। मैले यी त उदाहरण मात्र दिएको हुँ। यस्ता धेरै वालीका जात होलान जुन् छोटो समयमा नै तयार हुन्छ त्यस्ता वाली वारे किसान समुदाय लाइ वेलैमा जानकारी दिने, मल र विउको उपयुक्त व्यवस्था गरिदिने हो भने भोकमरि वाट जोगिन मद्दत पुग्नेछ।
खाद्य सामग्रीको जोहो हरेक तहमा गर्ने :-
हाम्रा किसानहरु प्राय पछी सम्म सोच्ने खालका छन्। उनीहरु “हुलमुलमा जीउ जोगाउनु अनिकालमा विउ जोगाउनु” भन्ने परम्परा बाट प्रशिक्षित भएका छन् । जो जस संग जति छ उनीहरु आफैले र विभिन्न तहका राज्य संयन्त्रहरुले खाद्य पदार्थ जोगाउने सन्देस दिएर सचेत रहने र आवस्यक सहयोग जुटाउनु जरुरि छ । कथमकदाचित त्यसो हुन नसकेमा ठुलो भोकमरीको समस्या झेल्नु पर्ने हुन् सक्छ । यसरि सबै तहका सरकार र आम जनसमुदायले अन्न जोगाउने कामको अभियान नै चलाउनु जरुरि छ ।
जाँड रक्सि बनाएर अन्न सकाउने भन्दा अन्न लाइ हिफाजत गरि टन्न खान पाउने व्यवस्था मिलाउने :-
सिन्धुपाल्चोकमा काम गर्ने क्रममा मकै पाकेको बखत हामीले मकै पोलेर खान पाए हुन्थ्यो भन्दा त्यहाँका किसान दाजुभाइले भनेको मलाई अहिले पनि राम्रो याद छ कि सर, मकै पोलेर खाँदा एक जनाले ४-५ घोँगा पनि खान सकिन्छ, त्यहि मकै सुके पछी छोडाएर त्यसको पिठोको ढिंडो पकायो भने ३-४ जनाको छाक टर्छ। त्यसैले मकै पोलेर खानु हुँदैन भन्थे। यो मेरो जीवनको भोगाई हो। त्यस्तै जाँड रक्सी बनाएर खाँदा धेरै अन्न चाहिन्छ तर फेरी बिहान बेलुकाको छाक टार्ने अन्न त्यता तिर खर्च हुन्छ। वरु त्यसको सट्टा अहिले नचाहिने काममा अन्न सकाउनु भन्दा राम्रो संग जोगाएर अन्न खर्च गरेमा अनिकालमा धेरै सहयोग पुग्दछ। अनिकालबाट वा भोकमरी बाट धेरै मानिस लाइ जोगाउन सकिन्छ।
देश बाट कुनै पनि हालतमा खाद्यान्न निकासी हुन् बाट जोगाउने :-
हामीले केवल अन्न पैठारी मात्र गर्दैनौँ राम्रो अन्न राम्रो गुणस्तरको निकासी पनि गर्ने गरिएको छ। राम्रो मूल्य पाउने आशामा किसान कहाँबाट नै भारतीय हरुले धेरै अन्न खलो बाट नै किनेर लैजाने गर्दछन्। त्यसरी निकासी हुन् दिनु हुने अवस्था अहिले छैन। हो अन्य नगदे बालि जस्तै सुर्ती, चिया, कफी, अदुवा, अम्रिसो आदी निकासी गरेर आय बढाउनु राम्रो कुरा नै हो त्यसैले पहिले नै यस्ता खाद्यान्न लाई विक्री नगर्ने देशमै भोकमरी बाट आम नेपाली समुदाय लाई जोगाउन देश बाहिर अन्न विक्री गर्ने कुरा लाइ सकेसम्म निरुत्साहन नै गर्नु पर्छ। वरु समयमा नै जगेडा अन्न खरिद गरि राज्यले चातुर्यता अपनाउनु जरुरि छ।
लो भोलुम भन्दा हाइ भोलुम हुने वाली लगाउने :-
थोरै फल्ने मिठो अन्न वाली रोज्नु भन्दा अहिले धेरै फल्ने अन्नपातको खेति गर्नु पर्छ। जसले गर्दा समग्र उतपादन वृद्धि भै भोकमरी बाट जोगिन जोगाउन मद्दत पुग्छ। उदाहरण लागि मार्सी मसिनु र वासना आउने धान भन्दा धेरै फल्ने विकासे धान लगाउनु जरुरि छ। त्यस्तै मेरो बुझाइमा एक थैलो धान फल्ने ठाउँमा आलु, तरुल, सखरखण्ड, पिडालु जस्ता कुरा धेर फल्ने जात रोप्नु कल्याण हुन सक्छ। त्यसैले तुलनात्मक रूपमा धेरै फल्ने खाद्य वाली लगाउनु कल्याणकारी हुन सक्छ। मिठो मसिनु र नरम भन्दा अबको खाँचो भनेको उदार अग्नि शान्त पर्ने काम ठुलो हुन्छ अनिकालको बेला।
खेति योग्य जमिनको अधिकतम प्रयोग गरि खाद्यान्न उत्पादन मा प्रोत्साहन गर्ने:-
अव बाँझो जमिन राखेर बस्यौँ हामी भने वाहिर बाट ल्याएको अन्न ले नेपालको धन बाहिर जाने मात्र हैन खाद्य अभाव हुनेछ। त्यसैले कहिँ कतै कुना काप्चा बाँकि नराखेर खाद्यवस्तु उत्पादनमा जोड दिईनु पर्छ। सकभर खाली जमिन नराखी खेतिबाली लगाउने कुरामा विशेष ध्यान दिनु जरुरी छ।
प्रांगारिक मल उत्पादन र प्रयोगमा जोड गर्ने:-
जति सुकै उद्योग धन्दा संचालन गर्ने भने पनि प्रजातन्त्र। गणतन्त्र ल्याएको यति वर्ष हुदा पनि निरन्तर चाहिने नभई नहुने मल उद्योग नेपालमा स्थापना नहुनु विडम्बनाको कुरा हो। जहिले पनि सिजन शुरु हुने वेलामा मल भित्र्याउने सम्झौता गर्ने गरिन्छ। नत उद्योग पतिले नै त्यतातिर ध्यान दिएको देखिन्छ। तसर्थ हाम्रो आफनै देशमा मलको उत्पादन हुने र सिजनमा समयमा नै उपलब्ध गराउन सक्ने हो भने नेपाली पूँजी बाहिर जानबाट जोगिने थियो अनि समयमा नै मलखादको प्रयोग गर्दा वाली पनि राम्रो हुने थियो। अहिले नै भए पनि राज्यले त्यस्ता उद्योग स्थापनामा प्रोत्साहन दिनु पर्छ। अनि उद्योगी व्यापारीले पनि धन कमाए पनि त्यस्ता कामले राज्य र जनता दुवै लाभान्वित हुने थिए। नेपाललाई आवश्यक पर्ने मल खादको लागि विदेशीको भर पर्नु नपर्ने गरि स्वदेशमा नै मल उत्पादन गर्ने उद्योग को स्थापना गर्ने सोचमा लागि हाल्नु पर्ने अहिलेको आवस्यकता हो।
लामो समय सम्म टिक्ने अन्न लाइ संकलन गरि सकेसम्म जोगाएर राख्ने:-
मेरा पिता पुर्खाहरुले भन्ने गर्नु हुन्थ्यो १९९० सालको भूकम्पमा ठुलो खाद्यान्न संकट भएको थियो। त्यसवेला १५-२० वर्ष पुराना कोदो निकाल्न सक्ने सामर्थ्य भएका किसान थिए रे काठमाडौँ उपत्यकामा। एकजना दाहाल थरका किसानले तत्कालिन सरकारले बोलाएर सल्लाह लिंदा ति किसानले भने थिए अरे “ म मनोहरा पश्चिम र बागमती पूर्वका सबै मानिस लाइ एक वर्ष अन्न टन्न खान दिन्छु “ भनेर जिम्मा लिएका थिए अरे। हुन पनि उनले त्यस वेला धेरै मानिस लाइ कोदो बाँडे अरे। अनि धेरै मानिस लाइ भोकमरी बाट जोगाएका थिए रे। कोदो जस्तो अन्न १५-२० वर्ष राख्दा पनि नकुहिने रहेछ। तर बिडम्बना नै भन्नु पर्ला आजकाल कोदो जस्ता अन्नको खेति धेरैले गर्न छाडेका छन् । एक त त्यस्तो अन्न पाइदैन पाए पनि छ्यांग वनाएर सकिन्छ।
परम्परा देखि खाने गरेको जंगलमा प्राप्त हुने फलफुल र कन्दमुल को जगेर्ना गर्ने :-
पहिले हामी केटाकेटी हुँदा बन जंगल दाउरा घाँस गर्दा जामुन चुत्रो, दैकम्लो, भकिम्लो जस्ता धेरै खाने कुरा जंगलमा पाईन्थ्यो। अनि मकै बारीमा तिते काँक्रो जुन पके पछी अत्यन्त मिठो हुन्थ्यो। त्यस्तै गिट्ठा भ्याकुर जस्ता कन्दमुल, निगुरो जलुको जस्ता तरकारी हुने वनस्पति ले धेरै गरिव परिवारले अनिकालमा पेट पालन गर्न सक्थ्यो। अहिले एक त जंगल नै धेरै मासियो। त्यसमा पनि जंगलमा पाईने सबै कुरा हामी जारी देखि नास गरि आफु मात्र फाइदा पाउने काम गर्छौँ। त्यस्ता खाने कुरा मासियो संरक्षण भएन। अहिले कोरोना कै वेला त्यो अभियान चलाउन नसके पनि त्यता पनि ध्यान दिन सकेमा राज्य र आम जनसमुदायको कल्याण हुनेथियो।
कृषिमा विमा कार्यक्रम लाइ अझ प्रभावकारी रूपमा लागु गर्ने :-
मेहेनतवस किसान लाई प्रोत्साहन गर्न र उनीहरु को आयलाइ सुनिश्चित गर्न, उनीहरुको खेति कुनै पनि बेला क्षति नहोस बरु उनीहरु खेतीमा प्रोत्साहित् हुन भन्नका लागि हरेक वालीमा विमा कार्यक्रम लागु गर्नु बुद्धिमानी हुनेछ । यसले गर्दा किसानको लगानी डुब्ने डर कम हुन्छ र उनीहरु खेति गर्न प्रोत्साहित हुनेछन।
विउ बैंक स्थापना र परिचालन:-
हामी सानो हुँदा धारम भकारी भन्ने थियो त्यसले गाउँको अन्न संकलन गर्ने काम गर्थ्यो। त्यो त अहिले हरायो। त्यो कार्यक्रम त्यसै विलायो। खाद्य पदार्थको विउ नमासियोस भनेर धेरै मुलुकमा विउ बैंक स्थापना गर्दछन। हुन त हाम्रो देशमा पनि कृषि सामग्री संस्थान स्थापना भएको धेरै वर्ष भै सक्यो। त्यसले प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन। यसलाई नै प्रभावकारी बनाएर अन्य सामग्री जस्तै विउको संकलन र वितरणमा प्रभावकारी वनाउँन सकिएमा अहिले जस्तो मलको अभाव पनि नहुने थियो। त्यस्तै यसले देशमा आवश्यक पर्ने विउ संकलन र वितरण गर्ने काम गर्न सक्थ्यो। आवश्यक परे विदेश बाट समेत आयात गरेर कुनै पनि सिजनका विउ वितरण गरि खेति सुचारु गर्न सकिन्छ। अहिले हाम्रो नेपालमा न त मलखाद, न त विउ विजन समयमा नपाउने रोग छ। पाएर पनि मकैमा घोगा नलाग्ने समस्या ले किसान बारम्बार पिडित भएको पाइन्छ। त्यस्तो नहोस भन्न का लागि राम्रो प्रणाली स्थापना गरिनु पर्दछ। त्यसको उचित कार्यन्वयन गर्नु पर्दछ। असल मान्छे पधाधिकारी आवश्यक पर्दछ। जसले गर्दा कुनै पनि वेला कुनै पनि कृषि सामग्रीले किसानलाइ खेति गर्न बाधा नपरोस। समयमा खेति गर्न सकुन।
मैले भन्न खोजेको कुरा के हो भने हाम्रो देशमा अहिलेको परिस्थिति देख्दा भोकमरी आउने डर छ। त्यसको लागि आम मानिस र सरकार तयार हुनु पर्छ। तसर्थ अहिले नै राम्रो तयारी रहन सके भोको भएर मानिसको ज्यान जाने थिएन बरु खाद्य सामग्री संचित गरेर विदेशी मुद्रा समेत आर्जन गर्न सकिन्थ्यो।
सिनामंगल, काठमाडौँ (हाल अमेरिका)
प्रकाशित : २०७७ भदौ २५ गते १४:१७
Facebook Comment