संशोधनसहित एमसीसी अनुमोदन गर्न ओली–प्रचण्डको प्रस्ताव

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २५ गते १३:००

काठमाडौं, २५ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संशोधनसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसदबाट अनुमोदन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

नेकपा स्थायी कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्न तयार पारिएको प्रस्तावमा भनिएको छ, ‘उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधनसहित अनुमोदन गर्ने ।’

दलहरूबीच विवाद हुँदा तीन पटक संघीय संसद सचिवालयमा दर्ता भए पनि एमसीसी कम्प्याक्ट अनुमोदन भएको छैन । नेकपाका विभिन्न तहका नेताहरुले नै एमसीसीको कडा शब्दमा विरोध गर्दै आइरहेका छन् ।

एमसीसी कम्प्याक्ट र कम्प्याक्टसम्बन्धी कार्यदलको प्रतिवेदनमाथि स्थायी कमिटी र सचिवालयमा छलफल गरिने अध्यक्षद्वयको प्रस्तावमा जनाइएको छ ।

एमसीसीबारे अध्ययन गर्न नेकपाले गठन गरेको कार्यदलले यसअघि नै बुझाएको प्रतिवेदनमाथि पार्टी कमिटीमा छलफल गर्न लागिएको हो । कार्यदलले संशोधन र परिमार्जन गरेर मात्रै अनुमोदन गर्नुपर्ने सुझाव दिएको छ ।

नेपाल सरकार र अमेरिकी संस्था एमसीसीबीच २९ भदौ २०७४ मा एमसीसी कम्प्याक्टमा हस्ताक्षर भएको थियो । जसमा अमेरिकाले ५० करोड डलर अनुदान दिने र नेपालले १३ करोड डलर लगानी गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित : २०७७ भदौ २५ गते १३:००
Copyright © 2020 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology