बीपीको यी सन्देश हामीले नबुझ्दा हाम्रा एजेण्डा खोसेर अरु बलिया भए

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २४ गते ९:०६

विश्वप्रकास शर्मा-बीपी भएको भए, कस्तो हुन्थ्यो होला रु रोचक परिकल्पना गर्ने गरिन्छ बेलाबेला । डेढ वर्षमै प्रधानमन्त्री नहटाइएको भए र उहाँले परिकल्पना गरेजस्तै डेढ दशक काम गर्न पाएको भए निश्चय नै नेपाल समृद्धिको उचाइमा हुने थियो आज । नेपाली कांग्रेस पनि एक आधुनिक राजनैतिक दलका रूपमा पक्कै विकसित भइसक्ने थियो । हामीसँग दुईवटा विकल्प छन्, एक यस्तो हुन्थ्यो होला, त्यस्तो हुन्थ्यो होला भनेर कल्पनाकै पेडा खाइरहने । दुई, बीपीलाई भौतिक रूपमा खोज्न बुझ्न छाडेर उहाँलाई एउटा चेतनाका रूपमा बुझ्ने र आजका प्रश्नहरूको हल बीपीको जीवन्त चिन्तनको आलोकमा खोज्ने ।

बीपी, राजा र कम्युनिस्ट
बीपी कोइरालाले शब्दमा व्यक्त गरेको वा व्यवहारबाट बुझाइएको तीन भिन्न सन्देशलाई भिन्न तीन शक्तिले बुझ्न नसेकर गम्भीर क्षति व्यहोरेका छन् । एउटा सन्देश राजाले बुझेनन्, त्यसैले कालान्तरमा राजसंस्था समाप्त भयो । अर्को सन्देश कम्युनिस्ट आन्दोलनले बुझेन, अतस् उनीहरूबाट जनताले दुस्ख पाए अनि कम्युनिस्टहरू स्वयम्ले पनि दुस्ख पाए । तेस्रो सन्देश हामी कांग्रेसजनले बुझेनौं, जसले गर्दा समुदायका कतिपय मुद्दा हातबाट खोसेर अरू बलिया भए, हामी कमजोर भयौं ।

चर्चा सुरु गरौं भूतपूर्व राजसंस्थाको प्रसंगबाट । बीपीको सन्देशलाई नागार्जुन दरबारमा बसेर पूर्वराजाले विश्लेषण गरे भने पाउनेछन्, बीपीले राजसंस्थाको भविष्यबारे त्यसबेलै संकेत गर्नुभएको थियो । सन्देश थियो “राजाको र मेरो गर्धन जोडिएको छ” । बीपीले त्यसोभन्दा राजाबराबर आफूलाई राखेर बोले, बीपी अहंकारी भए भनेर पञ्चहरूले चर्को आलोचना गरे । बीपीको आशय थियो प्रजातन्त्रसँगै राजाको पनि गर्धन जोडिएको छ, यदि प्रजातन्त्रको गर्धन राजाले ताकिरहे भने अन्ततस् राजसंस्थाको गर्धन पनि जोगिने छैन । बीपीको प्रष्ट संकेत थियो “तब जनताले गणतन्त्रको मार्ग रोज्न सक्छन्” । बीपीले अझ खुलेर भन्नुभयो ‘म असफल भएँ भने विराटनगर गएर खेती गरौंला तर राजा असफल भए भने कता जान्छन् रु’ । शास्त्रमा भनिएको छ “रंक करोती राजनम्, राजनम् रंक मेवच” । नभन्दै जनताको छोराछोरी आज राष्ट्रपति भवनमा छन् अनि राजा चाहिँ भूतपूर्व भएर इतिहासमा थन्किएका छन् ।

कार्ल माक्र्सले मानिसलाई केवल आर्थिक कोणबाट व्याख्या विश्लेषण गरेकाप्रति बीपीको प्रखर विमति थियो । उहाँले एकपटक भन्नुभयो “मानिस मस्तिष्कले सञ्चालित हुन्छ रोटीले होइन” । कार्ल माक्र्स जीवित थिए भने जीवनको सापेक्षतामा सिद्धान्तको यो अर्थलाई सायद उनले बीपी चिन्तनको आलोकमा राम्रोसँग बुझ्ने थिए । तर दुनियाँका अनेक देशमा कम्युनिस्ट पार्टीहरूले माक्र्सवादलाई जडसूत्रमा रहेर यान्त्रिक ढंगले बुझिदिए । यद्यपि जीवित छँदा नै काल माक्र्स स्वयम्ले ‘माक्र्सवाद’ भन्ने शब्दावलीप्रति विमति जनाइसकेका थिए । उनको भनाइको अर्थ थियो ‘वाद’ भनिसकेपछि त्यो ‘जड’ बन्न सक्छ, जबकि जीवनका नयाँ प्रश्नहरूको हल नयाँ चिन्तनबाट हुने हो । बीपी अभिव्यक्तिसँग सम्भवतस् पूरै सहमत हुने थिए कार्ल माक्र्स । सायद कम्युनिस्ट आन्दोलनको जडतासँग उनी असहमत हुने थिए ।

त्यही जडताको चस्मा लगाएर हेरिएका कारण बीपी वा बीपीको पार्टी वा बीपी विचार बोक्ने कार्यकर्तालाई कम्युनिस्टहरूले शत्रु नै ठाने । एकथरीले २०२७र२८ सालतिर झापामा कांग्रेस सफाया सुरु गरे । तर २०४९ सालमा आइपुग्दा मदन भण्डारीले भन्नुभयो “मन पर्ने खाजा मस्मस्, मनपर्ने नेता बीपी कोइराला” । अर्काथरीले २०५७र५८ मा रोल्पामा सुरु गरे कांग्रेस सफाया । तर २०६५ सालमा आइपुगेपछि पुष्पकमल दाहाल उर्फ प्रचण्डले स्वीकार्नु भयो ‘बीपी मेरो प्रेरणको स्रोत’ । कमरेडहरूले यसरी बीपी मन पराउनु भनेको वास्तवमा उहाँको विचार मन पराउनु नै हो । उहाँको दाह्री, चस्मा वा ६ फुटको भौतिक शरीर मन पराएको पक्कै होइन ।

बीपी र कांग्रेस
हामी कांग्रेसजनले पनि बीपीको सन्देश र संस्कारलाई सायद कमै बुझ्यौ कि जस्तो लाग्छ र घरमा बीपीको तस्बिर राख्नु र मस्तिष्कमा बीपीको संस्कार राख्नुका बीच ठूलो भिन्नता हुन्छ । बीपीको नाममा कुनै सडक बनाउनु र बीपीले भनेको बाटोमा हिँडनुमा आकाश–जमिनको फरक हुन्छ । मैले के लेख्ने–बोल्ने गरेको छु भने, बीपीसँग सपना थियो, समय पाउनु भएन । हामीले प्रशस्तै समय पायौं तर हामीसँग उहाँको जस्तो सपना भएन ।

राजा र कम्युनिस्टले झैं हामीले पनि बीपीका तीन फरक सन्देशलाई राम्रोसँग आत्मसात् गर्न सकेनौं । बीपीले आफ्नो केन्द्रीय समिति र मन्त्रीमण्डल बनाउँदा लिम्बू, राई, दलित, मधेसी, थारू, नेवार, तामाङ, थकालीलगायतलाई समावेश गरिरहँदा त्यो तत्कालीन समाजको सापेक्षतामा क्रान्तिकारी कदम थियो । तर हामीले त्यसलाई जस्ताको त्यस्तै अनुसरणमात्रै गरिरह्यौं । एक्काईसौं शताब्दीको समाज सापेक्षतामा व्यक्तिको प्रतिनिधित्वभन्दा माथि उठेर समग्रतामा समुदायको भाषा, संस्कृति र मुद्दाहरूको पहुँच, प्रतिष्ठा र प्रतिनिधित्वको आयतन बढाउन हामीले ढिलाइ गर्‍यौं । पहिचानको प्रश्नलाई सम्बोधनमा ढिलाइ गरिँदा कांग्रेस अरूहरूभन्दा अक्रान्तिकारी पार्टी हो कि भन्ने अविश्वास र भ्रम पनि समाजमा बढ्न पुग्यो । हाम्रा थुप्रै मतदाता हामीबाट बाहिरिएर अन्तै लागे तर अन्ततस् सही समाधानमा हामी नै पुग्यौं । श्रद्धेय भीमबहादुर तामाङको अवधारणा समाएर “पहिचान भेटिने, द्वन्द्व मेटिने” संघीय अवधारणमा । आजको मितिमा बीपी विचारको मूल स्पिरिट यही हुन सक्दछ र यही नै समग्र हल हुन सक्छ, यो जटिल मुद्दाको ।

विकासको प्रश्नमा बीपी “स्मल इज ब्युटिफुल” भन्ने सुमाकरको मतसँग सहमत हुनुहुन्थ्यो । एनरोन, स्मेक र थ्री गर्जेजहरू पर्खिएर हामीले ठूला सपनाको उडान प्रशस्तै गर्‍यौं तर आफ्नै क्षमताले बन्न सक्ने साना र स्वाभिमानी परियोजनाहरूमा हामीले नेतृत्व क्षमता कमै प्रस्तुत गर्‍यौं । चिलिमे जलविद्युत् परियोजनाले प्रमाणित गरेको छ हाम्रो आन्तरिक क्षमता, योग्यता र सानो नै सुन्दर भन्ने अवधारणलाई । ठूला लगानीले दिने उत्पादन भोलिको ठूलै व्यापारका लागि हो, बीपीले यसमा विमति राख्नु भएन तर थोरै लगानी र थोरै समयमा आन्तरिक क्षमताले जो उत्पादन हुन्छ, त्यो आफ्नै घर व्यवहारका लागि हो । यद्यपि हामी कांग्रेसजनले बीपीको यो मत कम्तीमा एक हदसम्म बुझ्यौं । कम्युनिस्टहरूले एकछेउसम्म मात्र पनि बुझ्न नसक्नु सायद तिनको वैचारिक धर्म थियो ।

आफूसँग प्रतिस्पर्धा गर्न पार्टी महाधिवेशनमा बीपीले साथीहरूलाई प्रेरित गरेपछि डा।भूदेव राई खडा हुनुभयो उहाँको विपक्षमा । तर हामी बीपीको नाम जप्छौं, आफ्नो प्रतिस्पर्धीलाई भने दुश्मन ठान्न खोज्छौं । बीपीले सक्रिय हँुदै जनमतसंग्रहको बेला परशुनारायण चौधरीलाई भावी प्रधानमन्त्री घोषणा गर्नुभयो । हामी भने प्रधानमन्त्री पदका लागि अढाइ करोड नागरिकमा केवल आफूलाई योग्य देख्छौं । हामी बीपीको विचारलाई ‘बीपीवाद’ भनिदिन्छौं र त्यसलाई आजका प्रश्नहरू हल गर्ने गरी जीवन्त नबनाएर कार्ल माक्र्सलाई झैं जड बनाउन खोज्छौं । बीपी जयन्तीको बेला यतिमात्र संकल्प गरे पुग्छ, बीपीलाई मेसिनका रूपमा होइन मान्छेका रूपमा बुझौं । भित्ताको तस्बिर नठानेर नवीन विचारका रूपमा आर्गेनिक उत्पादन गरौं, आजको सन्दर्भमा बीपी विचारको । तब बीपीको असम्भव भौतिक उपस्थितिभन्दा सम्भव वैचारिक उपस्थिति हाम्रो साथमा हुनेछ ।

वीपी कोइरालाको शतवार्षिकीमा वीपी कोइराला पुस्तकबाट

प्रकाशित : २०७७ भदौ २४ गते ९:०६
Copyright © 2020 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology