कविता : अव्यक्त मृगतृष्णा

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २३ गते १४:०५

आदर्श सुशिल-

ए बसन्ती !
केही भन्नका लागी
जिब्रो नै चलाउनु पर्छ र?
के आँखाले
के इशाराले
के अनुभुतिले
केही भन्न सक्दैनन् ?

मैले हाम्रो सम्बन्धको
दशगजामा उभिएर
एउटा सगरमाथा ठडाएको छु
जसको
तिमीलाई अत्तोपत्तो छैन

जब तिम्रो समिप पर्छु
तिम्रो आँखाबाट चलेको युध्दबिमानले
मेरो मनको हिरोसिमा र नागासाकी ध्वस्त बनाउँछन्
तर म
तिम्रो हमलाको बिरोध गर्नै सकिरहेको छैन

तर
ए बसन्ती !
केही भन्नका लागी
जिब्रो नै चलाउनु पर्छ र ?

मलाई रहर छ
ठूलो भारी बोकेको भरियाले
भारी बिसाउन वरको छहारीमा सुस्ताए झैँ
तिम्रो कालो बाक्लो केशमुनि
मेरो भारी भएको छाती
तिम्रो काखमा बिसाउन

मलाई रहर छ
आक्कलझुक्कल दर्शन दिने
निकै टाढाको
इन्द्रेणीसंग रङ्ग सापट मागेर
तिम्रो हात भरि सप्तरंगी कंगन लगाईदिन

मलाई रहर छ
माछापुछ्रेसंग अलिकति हिउँ सापट मागेर
तिम्रो कोमल पाउमा
चांदी जस्ता सेता पाउजु लगाईदिन

मलाई रहर छ
राता लालगेडी फुटाएर
रातै लालीगुराँस फुलेका वन जस्तै
तिम्रो सिउँदोको रंगशाला
राताम्य बनाउन

तर
ए बसन्ती !
केही भन्नका लागी
जिब्रो नै चलाउन पर्छ र ?

मलाई थाहा छ
कपाल चामल जस्ता भए पछि
मनको क्यानभासमा कोरिएको तिम्रो तस्बिर
हत्केलामा राखेर भन्न बाध्य हुनेछु
म तिमीलाई असाध्दै प्रेम गर्छु

 

प्रकाशित : २०७७ भदौ २३ गते १४:०५
Copyright © 2020 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology