सिपिएल : अन्तिम लिग खेलमा जमैका पराजित, सन्दिपको राम्रो बलिंग
NAWALPUR TIMES प्रकाशित : २०७७ भदौ २२ गते ८:२४
करेबियन प्रिमियर लिग टि-२० अन्तर्गत लिग चरणको अन्तिम खेलमा जमैका तलावाजलाई सेन्ट लुसिया जुक्सले ११ रनले पराजित गरेको छ।खेलमा पहिले ब्याटिंग गर्दै सेन्ट लुसियाले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा जमैकाले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा जमैकाको लागि ओपनर ग्लेन फिलिप्सले उत्कृस्ट लय कायमै राख्ने क्रममा सर्वाधिक ४९ रन बनाए जुन क्रममा ३६ बलमा उनले ४ चौका र १ छक्का हिर्काए। पहिलो विकेटको लागि उनले जर्माइन ब्ल्याकवुडअंग ८४ रनको साझेदारी गरे। ब्ल्याकवुडले २५ रन बनाए।
अफगानिस्तानका चाइनाम्यान बलर जाहिर खानले फिलिप्सलाई १२ औं ओभरमा तथा १४ औं ओभरमा रोभम्यान पावेल र आन्द्रे रसेललाई लगातार बलमा आउट गरेपछि सेन्ट लुसिया खेलमा फर्केको थियो। रसेल खाता नखोली पहिलो बलमै आउट भए। ८४/० बाट जमैका १०३/७ को अवस्थामा पुगेको थियो।
त्यसपछि निकोलस किर्टोनले तल्लो क्रममा २५ रन ( १५ बलमा १ चौका र २ छक्का ) बनाउनु बाहेक अन्य जमैका ब्याट्सम्यान क्रिजमा जम्न सकेनन्। सन्दिप लामिछाने पहिलो बलमा खाता नखोली केसरिक् विलियम्सबाट क्याच आउट भए।
सेन्ट लुसियाको बलिंगमा जाहिर खान ( ४-०-२५-३ ) र जाभेले ग्रिनले ( ४-०-१६-३ ) समान ३ विकेट तथा केसरिक् विलियम्सले २ विकेट ( ४-०-२७-२ ) लिए।
सेन्ट लुसियाको ब्याटिंग
यस अघि टस जितेर ब्याटिंग गरेको सेन्ट लुसियाले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो। उसको लागि नाजिबुल्लाह जद्रानले सर्वाधिक ३५ रन बनाए जुन क्रममा २५ बलमा १ चौका र ३ छक्का प्रहार गरे। ओपनर रखिम कर्नवाल र रोस्टन चेजले ३२ रन बनाए। कर्नवालले २९ बलमा २ चौका र ३ छक्का तथा चेजले अविजित रहँदै ३६ बलमा १ चौका र १ छक्का हिर्काए।
जमैकाको बलिंगमा मुजिब उर् रहमानले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। फिडेल एड्वार्ड्स, भिरासामी पर्मल, कार्लोस ब्राथवेट र सन्दिप लामिछानेले समान १/१ विकेट लिए। सन्दिपले ४ ओभरमा १ मेडन ओभर गर्दै २० रन खर्चिए।
लिग चरणको समाप्तिमा अंकतालिका
दुवै टिमलाई यो खेलको नतिजाले भने कुनै फरक पारेन। दुवै टिम यस अघिनै सेमीफाइनलमा स्थान बनाईसकेका छन्। लिगको पहिलो सेमीफाइनामा सेप्टेम्बर ८ तारिख मंगलबार ट्रिनबागो र जमैका तलावाजले प्रतिस्पर्धा गर्नेछ। यस्तै दोश्रो सेमीफाइनलमा बुधबार बिहान गायनाले सेन्ट लुसियासंग प्रतिस्पर्धा गर्नेछ।
यो संगै प्रतियोगिताको लिग चरणको खेलहरु सकिएको छ। जमैकाले १० खेल खेल्दा मात्र ३ जित हात पार्न सकेता पनि अंकतालिकामा चौथो रहँदै सेमीफाइनलमा भने पुग्न सफल भयो। नतिजाविहिन रहेको १ खेलबाट प्राप्त गरेको १ अंक जमैकाको लागि फाइदाजनक रह्यो। उक्त अंक नभएको भए पाँचौ स्थानमा रहेको बार्बेडोससंग जमैकाको बराबर ६ अंक हुने थियो।
सर्वाधिक विकेटकर्ताको सूचीमा सन्दिप चौथो स्थानमा
नेपाली लेग स्पिनर सन्दिप लामिछानेले लिगमा आफ्नो उत्कृस्ट लयलाई कायमै राखेका छन्। सेन्ट लुसिया जुक्स बिरुद्ध सन्दिपले १ विकेट लिंदै ४ ओभरमा मात्र २० रन खर्चिए। यस क्रममा उनले लिगमै पहिलो पटक मेडन ओभर पनि गरे। उनले खेलमा आक्रामक ब्याटिंग गरिरहेका रखिम कर्नवालको महत्वपूर्ण विकेट पनि लिए। उनले अन्य बलर भन्दा किफायती बलिंग पनि गरे र मात्र ५ रन प्रतिओभर खर्चिए। १ विकेट लिंदै उनले लिगमा विकेट संख्या १२ पुर्याए।
सेन्ट लुसिया बिरुद्ध १ विकेट लिंदै सन्दिपले जारि सिपिएलमा विकेट संख्या १२ पुर्याएका छन्। लिगको धेरै विकेट लिने बलरको सूचीमा सन्दिप चौथो स्थानमा रहेका छन्। पहिलो स्थानमा जमैकाकै मुजिब उर् रहमान र इमरान ताहिर संयुक्तरुपमा रहेका छन् जसले १५ विकेट लिएका छन्। दोश्रो स्थानमा सेन्ट लुसियाका स्कट कग्लाइन रहेका छन् जसले १४ विकेट लिएका छन्। तेश्रो स्थानमा सेन्ट लुसियाका केसरिक विलियम्स रहेका छन् जसले १३ विकेट लिएका छन्। सन्दिपले १० खेल खेल्दै ९ खेलमा बलिंग गर्ने क्रममा ३६ ओभरमा १ मेडन ओभर गर्दै १८२ रन खर्चेर १२ विकेट लिएका हुन्। यस क्रममा उनले प्रत्येक १८ बलमा १ विकेट लिएका छन्। यस्तै उनले लिगमै १० ओभर भन्दा बढी बलिंग गर्न बलरहरु मध्ये पाँचौ किफायती बलिंग पनि गरेका छन्। उनले प्रतिओभर ५.०५ रन मात्र खर्चीरहेका छन्।
Facebook Comment