देवचुलीमा “तपाईको मास्क खोई ? ” सचेतना अभियान सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २१ गते २१:३५
देवचुलीमा “तपाईको मास्क खोई ? ” सचेतना अभियान सुरु

राजु चापागाईं/देवचुली, २१ भदौ 
समुदायस्तरमा कोरोना फैलिन थालेपछि यसको नियन्त्रण गर्न भन्दै देवचुली नगर क्षेत्रमा सचेतना अभियान सुरु गरिएको छ ।

परिवर्तनका लागी युवा नेपाल र प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ताको सहकार्यमा सचेतना ब्यानर देवचुलीका विभिन्न स्थानमा राखिएको छ । मास्क नलगाइकन भीडभाडमा प्रवेश गर्दा कोरोनाको जोखिम रहेकाले `तपाईको मास्क खोई ?´ भनाई सहित `मास्क लगाऔँ भीडभाडमा नजाऔं´, `कम्तिमा २ मिटर दूरी कायम गरौं´, `साबुनपानीले हात धोऔं´, `सेनिटाईजरको प्रयोग गरौं´, `नमस्कार गर्ने बानी बसालौं´ जस्ता भनाइहरु सहित ब्यानर बनाएर प्रगतिनगर खानेपानी सेवाक्षेत्रभित्रका १२ चोकहरुमा ब्यानर राखिएको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताए ।

अहिले निषेधाज्ञाको समयमा काम विशेषले घरभन्दा बाहिर निस्कँदा अनिवार्यरूपमा मास्क लगाउँदा कोरोना संक्रमणबाट जोगिन सकिने भएकाले आज प्रगतिनगर खानेपानीको सेवाक्षेत्रमा ब्यानर राखिएको र भोली सोमबार दिव्यपुरी खानेपानी तथा सरसफाइ संस्था , दिव्य युवा उद्यमी संस्थासँग सहकार्य गरी दिव्यपुरीका १५ वटा चोकमा सचेतना ब्यानर राखिने परिवर्तनका लागी युवा नेपालका उपाध्यक्ष विश्वास लामिछाने बताए ।

देवचुलीमा कोरोना भाइरस संक्रमण समुदायमा फैलिएकाले सबैजना सचेत रहनुपर्ने देवचुली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत शिव पराजुलीले बताए । पराजुलीका अनुसार देवचुली नगरपालिकामा जम्मा कोरोना संक्रमितको सङ्ख्या ५७ पुगेको छ भने सक्रिय संक्रमितको सङ्ख्या ३० छ ।

प्रकाशित : २०७७ भदौ २१ गते २१:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI