१
हुँदैन मित्रता कहिल्यै, स्याउको छुरासित
यत्ति हो, विश्वास नसाट्नू मीठा कुरासित
मरेको लासलाई आश्वासन नबाँडियोस्
बाँच्ने आधार बन्नुपर्छ आफ्नै पाखुरासित
मेरो सरकार ! म त अयोध्याबासी रहेछु
रमाउनु छ मलाई वृन्दावन र मथुरासित
लुट्नु र मोज गर्नुको पनि त सीमा होला
के नै छ र सरकार ! गरिब रैती बबुरासित
हातमा सजाइयो र झर्यामझुरुम फुटाइयो
कस्तो सम्बन्ध रहेछ जीवनको चुरासित
२
लाग्यो, आफ्नै औकातमा रमाउनु पर्छ
म ‘कमल’ हूँ , हिलोलाई सजाउनु पर्छ
मेरो सरकार ! दाल, चामल नबाँडियोस्
फेरि खोले-सिस्नुकै आदत बनाउनु पर्छ
मालिक ! महलको सुख नदेखाइयोस्
झुप्रोमा मैले सारा जीवन बिताउनु पर्छ
मेरो दुर्दशाको खिल्ली नउडाइयोस् प्रभु
अकारण सन्ततिले शिर झुकाउनु पर्छ
हर मान्छेको देवता बन्ने रहर छ,भगवान
आज फेरि कस्लाई के भेटी चढाउनु पर्छ
सरोज उजाड
गजल मञ्च नवलपुर
नवलपुर, नेपाल
प्रकाशित : २०७७ भदौ २१ गते १६:५३
Facebook Comment