इन्टरनेट सेवा प्रदायकबीच थपिए जायन्ट कम्पनी, बजारमा कसरी टिक्लान् पुराना आइएसपी?

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २० गते १९:३७
इन्टरनेट सेवा प्रदायकबीच थपिए जायन्ट कम्पनी, बजारमा कसरी टिक्लान् पुराना आइएसपी?

काठमाडौं। बजार बढ्न थालेपछि ‘जायन्ट’ कम्पनीले इन्टरनेट सेवामा लगानी गर्न थालेका छन्। कोरोना महाव्याधिसँगै मानिसहरू घरै बसेर काम गर्ने क्रम बढेपछि इन्टरनेट युजर दिनदिनै बढेका छन्। ब्याण्डविथको खपत वृद्धि भएको छ भने आइएसपीको व्यापारले गति लिएको छ।

नयाँ कम्पनीको लगानीले परम्परागत रूपमा सेवा दिइरहेका इन्टरनेट सेवा प्रदायक(आइएसपी)लाई थ्रेट सुरु भएको छ भने उपभोक्ताका लागि सर्वसुलभ र गुणस्तरीय इन्टरनेट पाउने वातावरण तयार भएको छ। नयाँ कम्पनी आउँदा नेपाली बजारका प्रमुख इन्टरनेट सर्भिस प्रोभाइडर वर्ल्डलिंक, सुविसु, क्लासिक टेक र भायनेट लगायतका लागि चुनौती थपिएको हो।

निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक एनसेल र टेलिभिजन च्यानल प्रोभाइडर डिसहोमले इन्टरनेट आक्रामक रूपमा इन्टरनेट सेवा सुरु गरेका छन्। दुवैले आकर्षक अफर ल्याएपछि पुराना कम्पनीमाथि ग्राहक रिझाउन दबाब बढ्न थालेको छ। एनसेलले ‘वायर फ्रि वाइफाइ’ सेवा दिइरहेको छ। दुई वटा सिमको बन्डलसहितको वायरलेस राउटरबाट उपभोक्ताले इन्टरनेट प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ।

कम्पनीले वायर फ्रि वाइफाइ तीन प्याकेजमा उपलब्ध गराइरहेको छ। गोल्ड, प्लाटिनम र डायमन्ड प्याकेजमा रहेको एनसेलले जनाएको छ। गोल्डको मासिक मूल्य ६ सय ९० रुपैयाँ पर्नेछ भने ६० जीबीको डेटा रहने एनसेलले जनाएको छ। यो प्याकेजको खरिदमा उपभोक्ताले प्रभु टिभी र दामी म्युजिक सेवासमेत पाउँछन्।

यस्तै, प्लटिनम प्याकेजको मासिक मूल्य ८ सय ६० रुपैयाँ पर्नेछ जसको खरिदमा उपभोक्ताले ८५ जीबी डेटासहित प्रभु टिभी, मोबिप्लेक्स र दामी म्युजिक सेवा पाउने एनसेलले जनाएको छ। डायमन्ड प्याकेजमा एक सय जीबी डेटासहित प्रभु टिभी, मोबिप्लेक्स, हंगामा र दामी म्युजिक सेवा पाउन सक्ने एनसेलले जनाएको छ। यसको मासिक मूल्य ९ सय ५० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। यी मूल्यहरु उपभोक्ताले वार्षिक शुल्क (४२० दिन) तिर्दा मात्रै प्राप्त गर्ने र भ्याट छुट्टै तिर्नुपर्ने एनसेलले जनाएको छ।

डिसहोमले पनि ‘डिसहोम फाइबर नेट’ उपत्यकाका विभिन्न स्थानमा संचालनमा आइसकेको छ। डिसहोमले इन्टरनेट र टिभी सेवालाई फरक राखेर सेवा दिइरहेको डिसहोमका जेनेरल म्यानेजर रमेश सापकोटाले दाबी गरे। एउटै तारबाट इन्टरनेट र टिभीको सेवा दिँदा तारमा समस्या पर्ने भएकाले डेडिकेटेड इन्टरनेट लाइन दिएको सापकोटाले बताए।

यी दुई कम्पनीको सेवासँगै पुराना कम्पनीले पनि प्रविधिमा सुधार गर्दै विभिन्न प्याकेज ल्याउन थालेका छन्। एउटै आइएसपीले दिने एकै ब्यान्डविथको प्याकेज पनि स्थान अनुसार फरक फरक स्पीडमा चल्ने, चाहिएका बेला ‘फास्ट’ नहुने समस्याले उपभोक्ता आक्रान्त बनिरहेका छन्। इन्टरनेट गुणस्तर सम्झौताअनुसार नहुँदा दिक्क बनेका उपभोक्ता एउटा आइएसपीबाट अर्कोमा सिफ्ट हुनुपर्ने बाध्यात्मक अवस्था छ।

बजारमा रहेका अधिकांश आइएसपीहरुले इन्टरनेटसँगै केबल(टिभी) सेवा पनि दिइरहेका छन्। सेटअप बक्सका लागि अतिरिक्त शुल्क लिएर आइएसपीहरुले इन्टरनेटकै तारबाट केबल सेवा उपलब्ध गराइरहेका छन्।

चुनौती कसलाई ?
वर्षौदेखि इन्टरनेट सेवा दिइरहेका कम्पनीहरुले भने नयाँ आइएसपी आउँदैमा चुनौती नथपिने बताएका छन्।
बजारमा चलेका वर्ल्डलिंक, भायनेट, सुबिसु, नेपाल टेलिकम, क्लासिक टेकलगायत कम्पनीका प्रतिनिधिहरुले पछिल्लो प्रविधि नै प्रयोग भएकाले चुनौती नथपिने जिकिर गरे। फाइबर अप्टिकल केबल प्रविधिबाटै इन्टरनेट सेवा दिइरहेकाले नयाँ आउने आइएसपीहरुसँग सहजै प्रतिस्पर्धा गर्न सक्ने उनीहरुको दाबी छ।

हाल नेपाल दूरसंचार प्राधिकरणमा एक सय २० भन्दा बढी आइएसपी कम्पनी दर्ता छन्। सीमित क्षेत्रमा नेटवर्क र थोरै ग्राहक भएका कम्पनीहरूलाई भने बजार प्रतिष्पर्धामा टिक्न गाह्रो हुने भएको छ।

नयाँ आउने कम्पनीलाई नेटवर्क विस्तार गरी ग्राहक बनाउन निकै समय लाग्ने आइएसपानका अध्यक्ष भोजराज भट्टले बताए। ‘अहिले बजारमा नाम चलेका आइएसपी एकै रातमा सफल भएका होइनन्। दुई दशकभन्दा बढी समय खर्चिएका छन्। बजारको लामो अनुभव, प्रतिस्पर्धात्मक इन्टरनेट बजार, बिक्री पछिको सेवा, प्रविधिमा निरन्तर स्तरोन्नती, शाखा विस्तारलगायतका काम गर्दै आएका छौं,’ भट्टले भने।

उनका अनुसार बरु नयाँ आउने आइएसपीलाई चुनौती रहेको बताए। नाफाको मार्जिन पनि कम भएकाले चुनौती नयाँ आउनेलाई हुने भट्टले बताए। ‘पुराना आइएसपीहरुले इन्टरनेटसँगै टिभी सेवा पनि दिइरहेका छन्। तर, नयाँ आएका डिसहोमजस्ता कम्पनीहरुको इन्टरनेट र टिभी छुट्टै जडान गर्नुपर्ने हुन्छ। यसले हामीलाई त्यति चुनौती  थप्दैन भन्ने लाग्छ’, उनले भने।

सुबिसुका अध्यक्ष सुधिर पराजुलीको बुझाइमा ठूलो लगानी लिएर आउने आइएसपीहरुले साना लगानी भएका कम्पनी मात्रै समस्यामा पर्ने बताए। ठूलो लगानी र संस्थागत रुपमा राम्रो आइएसपी बजारमा आउँदा स्वच्छ प्रतिस्पर्धा हुने पराजुलीको विश्वास छ। नेपाल दूरसंचार प्राधिकरणलगायतका नियामक निकायले देशभरका आइएसपीहरुको प्रभावकारी अनुगमन गर्नुपर्नेमा पराजुलीले जोड दिए।

डिसहोमले टिभी सेवा नि:शुल्क गरिदिएमा मात्रै पुराना आइएसपीहरुलाई ठूलै चुनौती थपिने कतिपय आइएसपीहरुको बुझाइ छ। डिमहोमले केही वर्षअघि केबल अपरेटर सीम टीभी पनि आफ्नो स्वामित्वमा ल्याएको थियो। अहिले डिस होम र सीम टिभी गरी कम्पनीसँग कुल २५ लाख ग्राहक रहेको दाबी सापकोटाले गरे। टिभीसँगै एउटै कम्पनीबाट इन्टरनेट सेवासमेत पाउन सके सहज हुन्थ्यो भन्ने ग्राहकहरुको मागलाई ध्यानमा राखेरै इन्टरनेट सेवा सुरु गरेको उनले बताए। ‘बजारमा रहेका अरु आइएसपीहरुको इन्टरनेट सेवा सबै स्थानमा एकैनाश र राम्रो नचल्ने गुनासोले पनि डिसहोम फाइबर नेटको जन्म भएको हो,’ सापकोटाले भने।

आइएसपीहरुका अनुसार इन्टरनेटमा निकै कम नाफा मार्जिन रहेकाले प्राइसवारको सम्भावना कमै रहेको बताउँछन्। राम्रो सेवा दिने कम्पनीमा उपभोक्ता आकर्षित हुने उनले बताए।

 

इन्टरनेट सेवाको नयाँ खेलाडी डिसहोम
गत माघमा आएसपीको लाइसेन्स पाएको डिसहोमले ‘डिसहोम फाइबर नेट’ विस्तार गर्दै लगेको छ। अहिले डिसहोम प्रयोगकर्ताको घरमा छाता स्वरुपमा जडान गरिएको सेटेलाइट ब्रोडकास्टिङको डीटीएचबाट इन्टरनेट भने आउने छैन। उपभोक्ताहरुले डिसहोम फाइबर नेटका लागि भने छुट्टै उपकरण जडान गर्नुपर्छ। डिसहोम फाइबर नेट जडान गर्नेको संख्या करिब १४ सय पुगिसकेको कम्पनीले जनाएको छ।

देशका प्रमुख सहरहरुमा आफैंले नेटवर्किङ विकास गरिरहेको डिसहोमले चिनियाँ दूरसंचार कम्पनी हुवावेको प्राविधिक टीमसँगको साझेदारी रहेको सापकोटाले जानकारी दिए। हुवावेसँग डिसहोमले उपकरणका साथै २०२० मै निर्माण भएको आइएसपी प्रविधि जडान गरेको जनाएको छ।
डिसहोमले हुवावेकै राउटर, मुख्य अप्टिकल लाइन टर्मिनेसन (ओएलटी) लगायतका उपकरण प्रयोग गर्ने जनाएको छ। बजारमा रहेका अन्य आइएसपीहरुलाई लेटेस्ट प्रविधिमा स्तरोन्नती गर्न थप पुँजी विस्तार गर्नुपर्ने भएकाले डिसहोम बजारमा रहेका अरु आइएसपीभन्दा नयाँ रहेको सापकोटाले जिकिर गरे। बजारमा दशकौंदेखि इन्टरनेट सेवा दिइरहेका पुराना कम्पनीसँग डिसहोमले स्वस्थ प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ।

पहिलो पाइलट प्रोजेक्ट भैंसीपाटीमा गरेको डिसहोमले आफ्ना २५ लाख ग्राहकसम्म पुग्ने योजनासहित काम अघि बढाइरहेको छ। पछिल्लो समय कपन र बौद्धमा इन्टरनेट सेवा विस्तार गरेको कम्पनीले अब जोरपाटी र पेप्सीकोलामा लैजाने तयारी गरिरहेको सापकोटाले जानकारी दिए। कम्पनीका अनुसार अबको ६ महिनाभित्र काठमाडौं उपत्यकाका सबै क्षेत्र र एक वर्षभित्र देशका प्रमुख सहरहरुमा इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य रहेको जनाएको छ।

वार्षिक मूल्य कस्को कति ?
देशमा रहेका मुख्य आइएसपीहरुले आवासीय प्रयोजनका लागि न्यूनतम आठदेखि ६० एमबिपिएस ब्यान्डविथ सम्मका प्याकेज उपलब्ध गराएका छन्।
त्यो प्याकेजको वार्षिक शुल्क १३ प्रतिशत भ्याटबाहेक आठ हजार रुपैयाँदेखि २२ हजार रुपैयाँसम्म (राउटर र जडान शुल्कबाहेक) रहेको कम्पनीहरुले जनाएका छन्। अधिकांश कम्पनीहरुले इन्टरनेटसँगै अतिरिक्त शुल्क लिएर टेलिभिजन सेवा पनि दिइरहेका छन्।

सबैभन्दा धेरै ग्राहक रहेको दाबी गर्ने वर्ल्डलिंकले ३०, ४० र ६० एमबिपिएस स्पीडको इन्टरनेट सेवा दिइरहेको छ। वार्षिक ३० एमबिपिएसको १५ हजार रुपैयाँ, ४० एमबिपिएसको १७ हजार ५ सय र ६० एमबिपिएसको २२ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। वर्ल्डलिंकको वार्षिक योजना खरिद गर्ने उपभोक्ताले थप एक हजार रुपैयाँ राउटरको शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ।

यस्तै, वर्ल्डलिंकले फाइभ जी प्लान सेवा दिइरहेको छ। ३०, ४० र ६० एमबिपिएस प्याकेजमा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ। फाइभ जी प्लानको मूल्य भ्याटबाहेक वार्षिक ३० एमबिपिएसको १५ हजार रुपैयाँ, ४० एमबिपिएसको १७ हजार पाँच सय रुपैयाँ, ६० एमबिपिएसको २२ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

वर्ल्डलिंककै राउटर प्रयोग गरिरहेका उपभोक्ताले फाइभ जी प्लानको इन्टरनेटमा रुपान्तरण गर्दा नोकिया कम्पनी राउटर (नोकिया कम्पनी)को रेन्टल चार्जवापत तीन हजार तीन सय ९० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ।

नयाँ उपभोक्ताले भने राउटरको रेन्टल चार्जवापत ६ हजार रुपैयाँ तिरेर फाइभ जी प्लान सेवा लिन सक्ने वर्ल्डलिंकले जानकारी दिएको छ। वार्षिक शुल्क तिर्ने उपभोक्ताले नेट टिभीको प्राइमरी सेटअप बक्सका लागि २ हजार रुपैयाँ अतिरिक्त तिर्नुपर्ने कम्पनीले जनाएको छ।
भायानेटले पनि ३०, ४० र ६० एमबिपिएस प्याकेजमा इन्टरनेट सेवा दिइरहेको जनाएको छ। भ्याटबाहेक वार्षिक ३० एमबिपिएस प्याकेजको १४ हजार चार सय रुपैयाँ, ४० एमबिपिएसको १६ हजार आठ सय रुपैयाँ र ६० एमबिपिएसको २१ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

वार्षिक शुल्क तिरी इन्टरनेट लिने उपभोक्ताले जडान खर्च स्वरुप २ हजार रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ। भायानेटले इन्टरनेटसहित आइपी टिभि सेवा पनि दिइरहेको छ। वार्षिक शुल्क तिर्ने उपभोक्ताले प्राइमरी सेटअप बक्सका लागि २ हजार रुपैयाँ अतिरिक्त तिर्नुपर्ने कम्पनीले जनाएको छ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले ८, २० र ५० एमबिपिएस प्याकेजमा एफटिटीएच इन्टनेट सेवा दिइरहेको छ। वार्षिक ८ एमबिपिएस प्याकेजको ८ हजार रुपैयाँ, २० एमबिपिएसको १२ हजार पाँच सय रुपैयाँ र ५० एमबिपिएसको १९ हजार रुपैयाँ पर्ने टेलिकमले जनाएको छ।

यस्तै, टेलिकमले व्यापारिक उपभोक्ताहरुका लागि १० र २० एमबिपिएसको प्याकेज उपलब्ध गराउने जनाएको छ। जसको वार्षिक मूल्य  क्रमश: ३४ हजार पाँच सय रुपैयाँ र ६९ हजार रुपैयाँ तोकिएको जनाएको छ। वार्षिक प्याकेज प्रयोग गर्ने उपभोक्ताले जडान शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ।

त्यसैगरी, सुबिसुले २०, ३५ र ४५ एमबिपिएस प्याकेजका इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ। भ्याटबाहेक वार्षिक शुल्क २० एमबिपिएस प्याकेजको १४ हजार ९ सय ६९ रुपैयाँ, ३५ एमबिपिएसको १५ हजार पाँच सय ६९ रुपैयाँ र ४५ एमबिपिएसको १६ हजार सात सय ६९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

यो मूल्यमा ओएनयू एक्टिभेसन शुल्क र वायर शुल्क समावेश गरिएको कम्पनीले जानकारी दिएको छ। सुबिसुले दुई वटा क्लियर टिभि प्याकेज उपलब्ध गराउने गरेको छ। क्लियर टिभी बेसिक प्याकेजको वार्षिक शुल्क ५ हजार तीन सय ९ रुपैयाँ र प्रिमियम प्याकेजको ७ हजार ७७ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। यो मूल्यमा सेटअप बक्स र वायर शुल्कसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

क्लासिक टेकले ३०, ४० र ६० एमबिपिएस प्याकेजका इन्टरनेट दिइरहेको छ। भ्याटबाहेक वार्षिक शुल्क ३० एमबिपिएसको १४ हजार चार सय रुपैयाँ, ४० एमबिपिएसको १६ हजार ५ सय र ६० एमबिपिएसको २१ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

फाइबर राउर र एफटिटिएच केबल शुल्कस्वरुप उपभोक्ताले १५ सय रुपैयाँ अतिरिक्त तिर्नुपर्ने कम्पनी जनाएको छ। क्लासिक टेकको जुनसुकै प्लान खरिद गर्ने उपभोक्ताले क्लासिक प्रभु टिभी सेवा नि:शुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

डिसहोमले दुई वटा प्याकेजमा इन्टरनेट उपलब्ध गराइरहेको जनाएको छ। भ्याटबाहेक वार्षिक शुल्क २५ एमबिपिएसको १० हजार रुपैयाँ र ४० एमबिपिएसको वार्षिक १४ हजार ५ सय रुपैयाँ पर्ने सापकोटाले जानकारी दिए। उपभोक्ताले इन्टरनेट जडान एक हजार रुपैयाँ राउटरसहित रिफन्डेबल डिपोजिट तिर्नुपर्ने कम्पनीले जनाएको छ।  यो मूल्यमा उपभोक्ताले डीटीएच टिभी सेवा भने पाउने छैनन्।

प्रकाशित : २०७७ भदौ २० गते १९:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI