उनी

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २० गते ९:३६
उनी

विपुल पोख्रेल

क्याम्पस जीवनबाट टाढिएको २० वर्ष पुगेछ । आज अचानक मेरी उनी फेसबुकमार्फत भेटिन्छिन् । उनलाई भेट्दा म खुसीले पागल झैँ हुनपुग्छु र पहिलेका हरेक पल एकएक गर्दै आँखाअगाडि घुम्न थाल्छन् ।

त्यो बेलाको क्याम्पसजीवन सम्झिनका लागि एल्बममा राखिएका केही थान फोटोबाहेक अरू केही छैन । एल्बमका ती फोटाहरू पनि छरपस्ट छन् । पाना च्यातिएका एल्बममा कैद फोटाहरूले राम्रोसँग स्याहार पाउने कुरै भएन । कोठा मिलाउँदा कहिले खाटमुनि भेटिन्छ, साथीभाइसँगका इतिहास झल्काउने तस्बिरहरू । कहिले कता अनि कहिले कता भेटिन्छन् । स्याहार गर्न पनि मन नलाग्ने ।

यो २० वर्षमा प्रविधिको निकै विकास भएको छ । कम्प्युटर, मोबाइल हुँदै अब त फेसबुक र ब्लगहरूले एल्बमको कामसमेत गरिरेहका छन् । हामीभन्दा अलिअगाडिको पुस्ताले ‘अटो’ बुक भरेर हस्ताक्षरसहित राख्ने चलन थियो । हाम्रो पालामा करिब–करिब त्यो हराएर गयो । कलेज जीवनमा मैले कसैको अटो भरेको सम्झना छैन । मैले पनि कसैसँग भराइनँ ।

नढाँटी भन्ने हो भने ब्याचलरमा पढ्दै गर्दा एकजना सुन्दर र आकर्षक सहपाठी छात्राको जीवन बुझ्न अटो बनाउने प्लान गरेको थिएँ । एकजना मिल्ने साथीलाई मेरो यो योजना सुनाउँदा ‘अब अटोको जमाना गयो, सीधै कुरा गर्ने हो, अटो बनाइस् भने पाखे भन्लान्’ भन्ने प्रतिक्रिया पाएँ । मलाई पाखे बन्नु थिएन । बरु आकर्षक बनेर ती सहपाठीसँगको सामीप्यताको खोजीमा म थिएँ । यसरी अटोको योजना अस्वीकृत भयो ।

म कमै मात्र कलेज जान्थेँ । सायद धेरै क्लास नै नलिएर ब्याचलर पास गरेँ भन्दा हुन्छ । रिजल्टपछि फेल हुने सहपाठीहरूले मेरो खुब कुरा गरेछन् “एक दिन पनि क्लासमा नबस्ने पनि पास हुने । हामीचाहिँ फेल हुने ?” भन्दै । मलाई चिट चोरेको आरोप पनि उनीहरूले लगाएका रहेछन् । त्यो आरोप प्रमाणित थिएन, बरू आफू फेल हुँदाको पीडाको अभिव्यक्त स्वर थियो । मैले ती प्रतिक्रियाहरूबाट किञ्चित दुःख मनाऊ गरिनँ ।

म पास भएँ, उनी पनि पास भइन् । सँगै अझ पनि जीवन बढ्नेछ र सामीप्यता निरन्तर हुनेछ भन्ने आश ममा बलियो थियो । उज्यालो जीवन र चाहना गरेको सहयात्रीको साथको मीठो कल्पनाले मेरा जिजीविषाहरू अझै रोमाञ्चित बन्यो । क्षितिजमा हाम्रो रंगिन दुनियाँ देखिन थाल्यो । सूर्यास्त मेरो प्रिय क्षण हुन पुग्यो ।

म उदाइसकेको छु, मध्याह्नले मलाई उपयुक्त चाहना खोजीमा सघाइरहेको छ । अब सन्ध्याले ‘म’लाई हामी बनाउँदै प्रेमको संसारमा पु¥याउनेछ । कसैले नदेख्ने कसैले नभेट्ने गरी लुकाएर राख्ने छ…। कल्पनाका ज्वाराभाटाहरू मेरो मस्तिष्कमा हावी बन्दै थिए, अन्य सवालहरूका लागि स्थान घट्दै थियो ।

अँ साँच्ची, त्यो क्षणको कुनै प्रमाण छैन मसँग यो बेला । २० वर्षअगाडिका तस्बिरहरू धमिराका आहारा बनिसकेका छन् । हुनत उनीसँगको तस्बिर पनि कति नै थियो र ! क्यान्टिनको एउटै बेन्चमा बसेर चिया खाँदा रमेशले खिचिदिएको एउटा फोटो मात्र त हो ।

त्यो फोटो पनि योजना बनाएर खिचिएको थिएन । त्यति मात्रै कहाँ हो र, एउटै बेन्चमा पनि बाध्यतावश बसिएको थियो, अरू ठाउँ खाली नभएका कारण । फोटो त झनै रिल सक्ने उद्देश्यले खिचिएको । रमेश भन्दै थियो, “पिकनिकमा किनेको रिलमा एउटा फोटो अझै आउँछ कि ? ट्राइ गर्ने हो ?” मैले झट्ट भनेको थिए, “ल यता खिच न त ।”

फोटो खिचियो, झिलिक्क त बल्यो । तर आउँछ कि आउँदैन थाहा थिएन । पछि पिकनिकका फोटा धुलाएर ल्याउँदा त्यो फोटो पनि आयो । मैले सुरुमै त्यो फोटो रोजेको थिएँ र घरमा सुरक्षित राखेको थिएँ ।

अहिले भेट्दिन त्यो फोटो । धमिराले नै सक्यो कि सुरक्षित राख्ने क्रममा म आफैंले नभेट्ने गरी कतै परेको छ ! म यसै भन्न सकिरहेको छैन । कहिलेकाहीँ खोज्छु, तर भेटेको छैन । नभेटिएर के नै भयो त ! मन मस्तिष्कबाट उनी हराएकी छैनन् र हराउने पनि छैनन् ।

आजकल उनलाई फेसबुकमा भेटेको छु, खासै कुरा त गर्दिनन् तर अब त्यो फोटोको अभाव भने उनीसँगको बोलचाल, कुराकानीले कत्ति पनि खट्कँदैन ।

२० वर्षअघि मोबाइल भएको भए, मोबाइलबाटै फोटो खिच्न सकिने भए, सायद मन खोल्न सकिन्थ्यो कि ? सामीप्यताको बहाना मिल्थ्यो कि ? कहिलेकाहीं विचार आउँछ मनमा । अनि फेरि सोच्छु, त्यो मेरो कमजोरी ढाक्ने बहाना मात्रै हो । त्यही परिवेशमा साथीहरू जीवन, रोहित, राधिका, सिर्जन, कुन्ताले प्रेम विवाह गरेकै त हुन् नि । उनीहरूको प्रेम कक्षाकोठा बाहिरसमेत चर्चित त थियो नै । रोहितले त आफ्नै सहपाठी कुन्तासँग बिहे गरेर सुखी जीवन बिताइरहेको छ । अनि मलाई भने मोबाइल चाहिने हुन्छ र ! पटक्कै होइन, मेरो अन्तर्मुखी स्वभाव अनि मनको कुरा उनीसामु भन्न नसक्ने कमजोरी नै मेरो समस्या भएको होला सायद ।

ब्याचलर पास गरिसकेपछि कतै सुने, उनको विवाहको कुरा चल्दै छ रे ! केटा उनलाई हेर्न गएको छ रे ! म आत्तिएँ । तर उपाय छैन त्यो प्रयासमा व्यवधान पु¥याउने । उपाय मात्रै होइन, हिम्मत पनि छैन ! पुरै मेरो कल्पनाहरूको तेजोबध हुँदै छ । म निरिह भएर उभिएको छु । एउटा संसार मैले देख्दादेख्दै डुब्दैै छ । पानीले मेरो घाँटी, मुख हुँदै नाक पनि डुबाउँदै छ । निस्सासिएर छटपटाउँदै यो जन्मको अन्तिम दिन गन्दै छु । कुनै सम्भावनाहरू देखिँदैन अब मैले कल्पना गरेको रोमाञ्चसहितको जिजीविषाको निरन्तरता । अहिले पनि स्मरण गर्दै गर्दा पसिना आइरहेको छ निधारमा, धड्कन बढी रहेको छ । कताकता संसारै रित्तिएजस्तो लाग्छ । सायद प्रेमको ताकत यही हो ।

त्यतिबेला नै झ्वाट्ट सुने, केटाले मन पराएन रे ! बरु योभन्दा पहिले हेरेकै केटी आकर्षक रे ! कस्तो सुन्दरता नजान्ने, नबुझ्ने मान्छेले हेर्न पुगेछ, मेरी उनीलाई !

मेरो मनको यो भाव आवाज बनेछ, र उच्चारित भएछ मेरा काँपिरहेका ओँठहरूबाट ।

“के भनेको रे ?” कसैले फेरि सोध्यो मलाई । “हो, उनलाई मन नपराउनेले सुन्दरता बुझ्दै बुझेको छैन, प्रकृति बुझ्दैन, सम्भावना देख्दैन, उज्यालो चाहँदैन ।” बेहोसीमा जस्तो मेरो यो बर्बराहट उनलाई हेर्ने केटाको अभिभावकका कानमा जस्ताको तस्तै पुगेछ । अभिभावकले उनको परिवारको स्तर मन पराएर उनलाई हेर्न पठाएका रहेछन् । मेरो बर्बराहटले अभिभावकलाई आफ्नो इच्छा पूरा गर्न दबाब दिने आधार मिल्यो । अन्ततः बिहे भयो । मेरो सपना खोस्ने मेरो बर्बराहट आज सम्झिन्छु, अनि फिस्स आफैं हाँस्छु । अनि सोच्छु मैले प्रेमको प्रशंसा गरे कि प्रेममा असुरक्षा निम्त्याएँ ?

प्रेमका पुजारीहरूले विश्लेषण गर्लान् यो कुराको । उनीहरूकै जिम्मा । तर आजकल उनी भेटिन्छिन् फेसबुकमा । खुसी देखिन्छिन् । जागिरे व्यस्त जीवनमा छ सिंगो परिवार । म पनि त आफूलाई सम्हाल्दै खुसीको जीवन बितारहेको छु । उनी पनि त्यही देख्दिहुन् फेसबुकमा । फेसबुकबाहेक उनीबारे बुझ्ने कुनै स्रोत पनि त छैन मसँग । उनी पनि सायद यसैलाई आधार मानेर मेरोबारे जानकारी लिन्छिन् होला !

एकपटक मैले उनीसँग कुरा गरेको थिएँ कलेजमा । यति मात्र भनेको थिएँ, “हामी निरन्तर भेट्न गफ गर्न सम्भव छ ?” उनी हाँसिन् मात्र । प्रतिक्रियाविहीन भइन् । सायद लजाइन् । मेरो स्वरमा मनभित्रको प्रेम चाहनासमेत मिसिएको थियो, सायद । उनी लजाउनुको कारण यही थियो कि !

रमेशसँग पटकपटक भनेकी रहिछन्, “मलाई त जागिरे केटा मन पर्छ, जागिरे नै भेटियोस् भन्ने लाग्छ ।” म जागिर नखाने अठोटसाथ हिँडेको केटा ! उनी जागिरे जीवनमा व्यस्त, सायद सुखी–खुसी दुवै छिन् क्यार ।
उनको सुन्दरतामा उठेको प्रश्नको ठाडो प्रतिवाद गर्ने म, उनको सुखी र खुसी जीवनको निरन्तरताको कामना गर्दै दिन बिताउँदै छु अचेल ।

प्रकाशित : २०७७ भदौ २० गते ९:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI