अमेरिकी चुनावको ७ दिनअघिबाट फेसबुकले लिने छैन राजनीतिक विज्ञापन

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १९ गते १३:५२
अमेरिकी चुनावको ७ दिनअघिबाट फेसबुकले लिने छैन राजनीतिक विज्ञापन

काठमाडौं । आगामी नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय चुनावको एक हप्ता अगावैबाट कुनैपनि नयाँ राजनीतिक विज्ञापन प्रकाशन नगर्ने फेसबुकले घोषणा गरेको छ ।

तर पहिलेदेखि नै फेसबुकमा प्रकाशित विज्ञापनहरु भने निरन्तर रहने फेसबुक सिइओ मार्क जुकरबर्गले खुलासा गरेका छन् । साथै मत गणना अगावै आफ्नो विजयको घोषणा गर्ने उम्मेदवारका पोष्टहरुमा फेसबुकले कैफियत सूचक संकेत राखिदिने अर्थात् लेबल गरिदिनेछ ।

फेसबुक सिइओ जुकरबर्गले अमेरिकामा आम द्वन्द्व तिम्त्याउने सम्भावना रहेको कित्ताकाटबाट आफू चिन्तित रहेको पनि बताएका छन् ।

फेसबुकले पछिल्लोपटक विज्ञापनहरुलाई निश्चित लक्षित वर्गमा मात्र सीमित गर्नका लागि सुक्ष्म ढंगले लक्षित गरिने फिचर थप गरेसँगै त्यसको आलोचना पनि भैरहेको छ । विज्ञापनहरुलाई आम फेसबुक प्रयोगकर्ताभन्दा कुनै निश्चित सानो लक्षित समूहमा मात्र टार्गेट गर्ने उक्त प्रक्रियाका कारण राजनीतिज्ञ तथा उनीहरुका समर्थकलाई काल्पनिक कथालाई समेत तथ्यहरुको रुपमा प्रस्तुत गरेर दिग्भ्रमित गर्ने जोखिम रहेको मोजिल्ला फाउण्डेसनले आरोप लगाएको छ ।

फेसबुकले यसअघि नै उम्मेदवारले राखेका विज्ञापनहरुको तथ्य जाँच नगरिने प्रष्ट पारिसकेको छ । त्यसैले राजनीतिक विज्ञापनहरु फेसबुकमा आम रुपमा विश्लेषण हुन नपाई निश्चित समुदायमा मात्र सीमित हुँदा लक्षित वर्गले गलतलाई समेत आत्मसाथ गर्ने जोखिम रहेको आलोचकहरुको तर्क छ ।

उता नर्थ क्यारोलिनाका मतदाताहरुलाई चुनावको दिन दुईपटक भोट हाल्न भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्साएको भाषणका भिडियोहरु पनि हटाइने फेसबुकले प्रष्ट पारेको छ । दुईपटक भोट हाल्ने कार्य गर्नु गैरकानूनी रहेको फेसबुको ठहर छ ।
स्मरण रहोस् राष्ट्रपति ट्रम्पले आगामी चुनाव मतदाता ठगीका कारण धरासायी हुनसक्ने भनी बारम्बार दाबी गर्दै आएका छन् । तर यसअघिका चुनावहरुमा आम रुपको मतदाता ठगीका घटना अहिलेसम्म भएका छैनन् ।

फेसबुक सिइओ जुकरबर्गका अनुसार अमेरिकी राष्ट्रपतिको आसन्न चुनाव यसअघिका जस्तो सामान्य ढंगको हुनेछैन । उनी भन्छन्, ‘हामी मुलुक अति नै विभाजित भएको र चुनावको पूरै नतिजा आउनका लागि केही दिन र हप्ता समेत लाग्ने हुँदा त्यसले अमेरिकाभर अशान्तिका घटना हुने जोखिम रहेको छ ।’

फेसबुकबाट फैलिने अफवाह तथा गलत हल्लाहरु रोक्नका लागि भन्दै जुकरबर्गले घोषणा गरेका उपायहरु यस्ता छन्ः

  • चुनावको एक हप्ता अगाडिदेखि कुनैपनि नयाँ राजनीतिक विज्ञापन स्विकार गरिनेछैन ।
  • चुनावमा भाग लिएमा कोरोना संक्रमण हुनेछ भन्ने खालका डर फैलाइएका पोष्टहरु हटाइनेछ ।
  • चुनावको नतिजालाई अवैधानिक दाबी गर्ने खालका पोष्टहरुलाई समेत नियन्त्रण गरिनेछ ।
  • अन्तिम नतिजा नआउँदै आफूले जितेको दाबी गर्ने उम्मेदवारहरुको फेसबुक पोष्टमा समेत लेबल लगाइनेछ ।

साथै फेसबुकले विभिन्न खालका षडयन्त्र सिद्धान्तहरुलाई बढावा दिने खालका फेसबुके अभियानहरुलाई समेत कडाइका साथ नियन्त्रण गर्ने जुकरबर्गले जनाएका छन् । यस विषयका हजारौँ फेसबुक ग्रुपहरु हालसम्म हटाइसकिएको उनको भनाइ छ ।

स्रोत : बीबीसी

प्रकाशित : २०७७ भदौ १९ गते १३:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI