लकडाउनमा झन् धेरै चित्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १८ गते १४:२४
लकडाउनमा झन् धेरै चित्र

लेखराम सापकोटा/गैंडाकोट, १८ भदौ ।

चित्रकार भीम शर्मा यतिबेला गैंडाकोटस्थित घरमै व्यस्त छन् । उनको घरभरी चित्र टाँगिएका छन् । त्यै पनि उनलाई फुर्सद छैन । उनी रातदिन चित्र बनाइरहन्छन् । चित्रकै सामुन्ने आराम गर्छन्, निद्रा लागे छेउमै सुत्छन् । शर्मा भन्छन् – अब त चित्रबाट टाढा भाग्नै सकिन्न ।

शर्माले व्यावसायिकरुपमा चित्र कोर्न थालेको ३७ वर्ष नाघिसकेको छ । बागलुङबाट बसाइँ सरेर गैंडाकोट आएपछि २०४० सालमा एउटा सर्कसको लागि कवि एवम् चित्रकार गोविन्दराज बिनोदीसँग मिलेर उनले ४ फिट खालका २५ वटा चित्र बनाएका थिए । त्यसबाट आएको पारिश्रमिकले शर्मालाई यो पेशालाई निरन्तरता दिन मन लाग्यो । त्यसपछि कवि विनोदी र उनी मिलेर नारायणगढमा सनसाइन आर्टस् सुरु गरे ।

शर्माले अहिलेसम्म एक हजार बढी चित्र कोरेका छन् । उनका चित्र नेपालमा भन्दा बढी बिदेशमा बिक्री भएका छन् । उनको चित्रकला प्रदर्शनी धेरैपटक बिदेशमा भएको छ । नेपालसँगसँगै छिमेकी मुलुक भारत अनि बंगलादेश, अफगानिस्तान, डेनमार्क, जर्मनी र क्यानडामा गरि शर्माले चित्र प्रदर्शनीका १० औं शृङ्खलाको फेहरिस्त बनाएका छन् । उनले अब ११ औं, १२ औं र १३ औं प्रदर्शनीको तयारी गरिरहेका छन् । यतिबेला भैसक्ने ती प्रदर्शनीहरू कोरोनाले गर्दा रोकिएका हुन् । प्रदर्शनी रोकिए पनि शर्मा अहिले तीन वटा सिरिजमा काम गरिरहेका छन् । ती सिरिजहरू कोभीड १९, कर्म र सम्बन्धन २ हुन् ।

शर्माले अहिले भर्खरै कोभिड सम्बन्धित चित्र बनाएर सके । यो प्रतिकात्मक चित्र हो । चित्रमा हरियो, निलो र सुन्तला पहेँलो गरि तीन रङको पृथ्वी आकारको गोलो छ । हरियोले जमीनलाई, निलोले पानीलाई र सुन्तला पहेँलोले ब्रह्माण्डलाई संकेत गर्छ । चित्रमा कोरोनाको प्रभावलाई देखाउँदै घरबाहिर मानिसले राहत पर्खेको देखाइएको छ । सडक खाली छ, गाडी चलेका छैनन् । जनावर आएर सडकमा सुतेका छन् । चित्रको दुईतर्फ दुइटा ठूल्ठूला चील उडेका छन्, यसलाई चीन र भारतको संकेतमा प्रयोग गरिएको छ । चित्रको बिचमा संसद भवन देखाइएको छ, जहाँ सांसदहरू लडाभाँती गरिरहेका छन् । वास्तवमा मुलुकको अवस्था पनि यस्तै छ अहिले । कोरोनाले सबै क्षेत्र तहसनहस छ तर नेताहरू कुर्सीकै लागि, आफ्नो गोजि भर्नका लागि लडाइँ गरिरहेका छन् ।

शर्मा धेरै जसो काठमा चित्र कोर्छन् । कागजमा पनि उनले चित्र उतारेका छन् । कुनैकुनै चित्र उनले १ दिनमै तयार गर्छन् भने कुनैलाई महिनादिन पनि लगाउँछन् । लकडाउनले उनलाई चित्र बनाउन सजिलो भएको छ । यो बेला मज्जाले फुर्सद पाएँ, शर्माले भने- लकडाउन अझै थपियो भने मेरो अभियान सजिलोसँग पूरा हुनेछ । उनले लकडाउन सुरु भएपछि चैतदेखि यता ५० बढी चित्र बनाइसकेका छन् । चित्रका ग्राहक पर्यटक हुन्, तर देशै बन्द हुँदा पर्यटकको चहलपहल छैन । यसको प्रत्यक्ष मारमा हामी छौँ, उनले भने- काठमाडौं बाहिर बसेर काम गर्न झनै गार्‍हो छ ।
काठमाडौं बाहिर त चित्र प्रदर्शन गर्न ठाउँसम्म छैन । सरकार र स्थानीय पालिकाले यसतर्फ ध्यान पुर्‍याए मात्रै पनि मोफसलका कलाकारले राहत मान्न सक्छन् ।

शर्मा कलावती आर्ट काउन्सिलका संस्थापक हुन् । स्थानीय कलाकारहरूको समूह हामी कलाकारका अध्यक्ष रहेका उनी त्रिवेणी साहित्य परिषद्का उपाध्यक्ष हुन् ।

प्रकाशित : २०७७ भदौ १८ गते १४:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI