मृत्युपछि कोरोना पुष्टि, मलामी गएका १० सहित १५ जनामा कोरोना

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १६ गते १४:३२
मृत्युपछि कोरोना पुष्टि, मलामी गएका १० सहित १५ जनामा कोरोना

बुटवल । रुपन्देहीको रोहिणी–३, धकधई चैनपुरका सञ्जयकुमार मिश्रको ६ भदौमा मृत्यु भएपछि आफन्त, छिमेकी र नाता कुटुम्बले दाहासंस्कारका लागि घाटमा लगे ।

नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्षसमेत रहेका सञ्जयकुमार मिश्रको दाहसंस्कारमा ठूलो संख्यामा मलामीहरू पुगेका थिए । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी केही दिन बिरामी परेका मिश्रलाई ६ भदौमा भारतमा थप उचारका लागि लैजादै गर्दा नौतनहामा मृत्यु भयो ।

मृत्युपछि कोरोनाको आशंका गर्दै बुटवलको निजी प्रयोगशालामा स्वाब पठाइयो । तर परिवारका सदस्यहरूले रिपोर्ट नआउँदै ७ भदौको बिहान दाहासंस्कारका लागि लगे ।

दाहासंस्कार गर्दैगर्दा कोरोना रिपोर्ट पोजिटिभ भएको खबर घाटसम्म पुग्यो । मलामीहरू भागाभाग गरे ।

तर आज मात्रै संक्रमितको दाहासंस्कार गर्न पुगेका १० जना मलामीसहित १५ जनामा कोरोना पोजिटिभ देखिएको छ । १० जना एकै परिवारका हुन् भने ५ जना कामदार हुन् । उनीहरू १७ देखि ६९ वर्षसम्मका छन् ।

५३ वर्षीय मिश्रको कोरोनाबाट मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा परिवार र घरका कामदारहरूको स्वाब संकलन गरिएको थियो ।

भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र गिरीले जानाकारी दिए ।

यता एकै टोलका १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि चैनपुर क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले २० भदौसम्म चैनपुर टोलमा निषेधाज्ञा जारी गरिएको बताए ।

त्यस्तै, आज बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपािलकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : २०७७ भदौ १६ गते १४:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI