सिन्धुली, भदौ १५ । एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै यहाँको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले प्रधानध्यापक र शिक्षकलाई आइतबार कुटपिट गरेका छन् ।
सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएकाले रिजल्ट नराम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन् ।
शिक्षकले नम्बर कम दिएका कारण माथिल्लो शिक्षा लिन बञ्चित हुने भन्दै एक्कासि प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई विद्यार्थीले कुटेको शिक्षक झलक दाहालले बताए । तीनजना छात्रहरुले सरासर कार्यालय कोठामा आएर पहिला हेडसरलाई मुखमा हिर्काएको र अर्का शिक्षकलाई लछारपछार पारि कुटपिट गएको उनको भनाइ छ ।
विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा गम्भीर चोट लागेको छ । मुक्का प्रहार गरेकाले प्रधानाध्पाक सुनुवारको नाथ्री फुटेर रगत बगेको र ओठसमेत काटेको छ भने अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ ।
रिजल्ट सी आएपनि विज्ञान विषयबाहेक अन्य पढ्न पाइने भन्दाभन्दै कुरै नसुनी कुटपिट गरेको शिक्षकहरुको भनाइ रहेको आजको कान्तिपुर दैनिकमा खवर छ ।
प्रकाशित : २०७७ भदौ १५ गते ९:५३
Facebook Comment