२०औं शताब्दीमा महिलाको ‘चरमसुख’ खोज्ने राजकुमारी मेरी बोनापार्ट को हुन्?

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १४ गते १०:१६
२०औं शताब्दीमा महिलाको ‘चरमसुख’ खोज्ने राजकुमारी मेरी बोनापार्ट को हुन्?

कतिपयका लागि मेरी बोनापार्ट एक धनाढ्य महिला थिइन्, जो त्यो बेलाका सामन्तहरूको संगतमा हुन्थिन्।

तर, आममहिलाको कामुकताका बारेमा उनी एक अध्येता थिइन् भन्ने कमैमात्र मानिसलाई थाहा छ।

मेरी फ्रान्सका पूर्वसम्राट नेपोलियन बोनापार्ट प्रथमकी भतिजी हुन्।

त्योबाहेक उनलाई धेरैजसो इतिहासकारले अर्को पाटोबाट नियालेर हेरेका छैनन्।

एक राजकुमारी भएर पनि यौन सम्पर्कका बेला महिलामा हुने चरमसुख के हो र कसरी त्यो प्राप्त हुन्छ भन्ने अध्ययन गरेकी उनी एक ‘स्वतन्त्र विचारक’ महिलाका रूपमा पनि चिनिन्छिन्।

उनी एक समय सिग्मन्ड फ्रायडका एकदमै नजिकको चेली पनि थिइन्।

मेरीको जीवनी लेख्नेहरूका अनुसार उनी त्यस्ती महिला थिइन् जो संसारका चर्चित वैज्ञानिकका अगाडि पनि सहजै खडा हुन सक्थिन्, जसरी उनी राजपरिवारका साथ हुन्थिन्।

र, जीवनभर उनले महिलाको चरम सुख खोजिरहिन्।

राजकुमारी मेरी बोनापार्ट

मेरी बोनापार्टको जन्म पेरिसको एक धनाढ्य राजखानदानमा भएको थियो। उनी मेरी फेलिक्स तथा फ्रान्सका राजकुमार रोल्यान्ड नेपोलियन बोनापार्टकी छोरी हुन्।

उनका हजुरबुबा फ्राँस्वा ब्ल्याक एक चर्चित व्यापारी थिए। उनी क्यासिनो मोन्टे कार्लाेका संस्थापक पनि थिए।

जन्मेको एक महिनामै उनकी आमाको निधन भयो। उनले निकै त्रासदी र दुःखपूर्ण बालापन बिताउनुप¥यो।

उनको बालापन एक्लोजस्तै बित्यो। उनका कोही साथी थिएनन्, न भाइ न बहिनी।

बुवाले नै उनलाई हुर्काए। उनका बुबा एक वैज्ञानिक र भूगर्भविद थिए। उनी आफ्नो हजुरआमासँग निकै डराउँथिन्।

सानै उमेरमा उनी विज्ञान, साहित्य लेखनमा अब्बल थिइन्। आफ्नो शरीर र अंगहरूसँग जोडिएका धेरै सवालका बारेमा उनी निकै जिज्ञासु थिइन् र आफ्ना पितालाई त्यसका बारेमा सोधिरहन्थिन्।

एक दिन मेरी बोनापार्ट हस्तमैथुन गरिरहेकी थिइन्। उनको स्याहारमा खटिएकी महिला मिमउले त्यो दृश्य देखिन् र, मेरीलाई हप्काइन्।

सन् १९५२ मा उनले आफ्नो डायरीमा त्यो घटनाका बारेमा लेखेकी थिइन्– ‘मिमउले मलाई भनेकी थिइन्, यो पाप हो, यो स्विकार्य छैन। यदि तिमीले फेरि यस्तै गर्‍यौ भने तिमी मर्नेछौ।’

आफ्नो लेख ‘द थ्योरी अफ सेक्सुआलिटी अफ मेरी बोनापार्ट ः फेन्टासी एन्ड बायोलोजी’ मा नेली थम्प्सनले लेखेकी छिन्– ‘आफ्नो डायरीमा बोनापार्टले आठ–नौ वर्षको उमेरमै हस्तमैथुन गर्न छोडेको कुरा लेखेकी छिन्। किनकि, मिमउको चेतावनीपछि उनलाई डर थियो कि कामुकतामा आनन्द खोज्दा उनको मृत्यु पनि हुनसक्छ।’

निकै कम उमेरमै उनीभित्र एउटा विद्रोही स्वभावले जरा गाडिसकेको थियो। उनलाई कुनै पनि हालतमा महिलामाथिको अधिनता स्विकार्य थिएन।

किशोरावस्थामै अंग्रेजी तथा जर्मन भाषाको पढाइ सुरु गरेकी उनलाई पछि उनका पिता र हजुरआमाले अगाडिको परीक्षा दिन रोके।

लेखक थम्प्सनका अनुसार त्यसपछि मेरीले लेखेकी थिइन्– ‘मेरो नाम, मेरो हैसियत, मेरो भाग्य! खासगरी म केटी हुनुप्रति मलाई धिक्कार छ किनकि म केटा हुन्थे भने सायद उनीहरू मेरो प्रयासलाई रोक्ने कोसिस गर्ने थिएनन्।’

२० वर्षको उमेर टेक्नुभन्दा अघि नै उनले यौनका विषयमा आफ्नो फरक धारणा बनाइसकेकी थिइन्।

त्यो बेला उनको एक विवाहित पुरुषसँग अफेयर चलिसकेको थियो, जो उनका आफ्नै पिताका एक सहयोगी थिए।

पछि यो अफेयर उनको जिन्दगीको एउटा स्क्यान्डल बन्यो। जो ब्ल्याकमेल तथा अपमानसँगै अन्त्य भयो।

उनका बुबाले सोचिरहेका थिए, डेनमार्कका राजकुमार प्रिन्स जर्ज (१८६९–१९५७) सँग मेरीको विवाह गराइदिने। जर्ज मेरीभन्दा १३ वर्ष जेठा थिए।

मेरी पनि विवाहका लागि तयार भइन्। १२ डिसेम्बर १९०७ मा एथेन्समा उनीहरूको विवाह भयो।

वैवाहिक जीवन खासै सन्तोषलाग्दो त थिएन। त्यहीबीचमा उनीहरूको दुई छोरा भइसकेका थिए, राजकुमार युजिन र पिटर।

करिब ५० वर्ष उनीहरूले सँगै बिताए। त्यो बीचमा उनलाई आफ्नो जीवन र प्रेमप्रति धेरै निराशा जागिसकेको थियो।

महिला कामुकताका बारेमा अध्ययन

त्यसपछि उनले जीवनमा उत्पन्न हुने त्यस्ता निराशाहरूको बारेमा अध्ययन सुरु गरिन्।

१९२४ मा उनले एई नरजानीको छद्म नामबाट एउटा आलेख लेखिन्, जसको शीर्षक थियो– ‘नोट्स अन दि एनाटोमिकल कलेज अफ फ्रिजिडिटी इन वुमेन’ अर्थात् महिलामा आउने उदासिनताको शारीरिक कारण।’

अमेरिकाको जर्जियास्थित इमोरी युनिभर्सिटीका एक प्रध्यापक भन्छन्– ‘कसैसँग यौनसम्पर्क गर्दा पनि चरमसुख नपाउँदा उनी दुःखी थिइन्। र, उनी यो पनि मान्न तयार थिइनन् कि महिलाले आफैं हस्तमैथुन् गर्दा चरम सुख पाउँछन्।’

मेरी बोनापार्टलाई लाग्थ्यो कि कुनै व्यक्तिसँग यौन सम्पर्क गर्दा यदि कोही महिलालाई चरमसुख मिल्दैन भने त्यो उसको शारीरिक समस्या हुनसक्छ। अर्थात्, यौन अक्षमताको दोष उनले महिलाको शारीरिक बनावटलाई दिन थालिन्।

त्यसका लागि उनले एउटा सिद्धान्त पनि बनाइन् ‘महिलाको योनीद्वार र भंगाकुरबीचको दुरी जति कम हुन्छ, यौनसम्पर्कका बेला चरमसुख पाउने सम्भावना उति नै बढी हुन्छ।’

त्यसका लागि उनले १९२० मा पेरिसका करिब २ सय ४० जना महिलाको योनी र भंगाकुरबीचको दूरी पनि नापेकी थिइन्।

प्रध्यापक वान्लन र डाक्टर एलिजाबेथ लायर्डले संयुक्तरूपमा मेरी बोनापार्टको त्यो शोधपत्रको अध्ययन गरेका थिए।

दवै जानकारका अनुसार मेरीले योनीको मुखसँग भंगाकुरको दुरीको आधारमा तीन भागमा बाँडेकी थिइन्।

इन्डियाना विश्वविद्यालयकी इतिहास तथा दर्शन विज्ञान विभागकी प्रध्यापक डा. लायर्ड भन्छिन्– ‘मेरी बोनापार्टको त्यो कल्पनालाई त मान्नैपर्छ। मेरीको शोधअनुसार महिलाको शरीरको रचना अलग–अलग तरिकाबाट बनेको हुन्छ र यौनसम्पर्कका बेलामा उनीहरूको अनुभव पनि फरक हुन्छ।’

आफ्नो हाइपोथेसिस (कल्पना) का आधारमा मेरीलाई लाग्थ्यो कि अप्रेसन गरेर योनी र भंगाकुरको दुरी कम गर्न सकिन्छ। जसबाट यौनसम्पर्कका बेला चरमसुख पाउन सकिन्छ।

तर, दुभाग्र्य यो मामलामा उनी पूरै गलत साबित भइन्।

प्रध्यापक वान्लनका अनुसार मेरीलाई आफ्नो सिद्धान्तमाथि एकदमै भरोसा थियो। त्यही सिद्धान्तका आधारमा उनले आफ्नो अप्रेसन पनि गराइन्। तर, उनलाई केही लाभ भएन। मेरीलाई त्यही पनि विश्वास लागेन र उनले तीन पटकसम्म अप्रेसन गराएकी थिइन्।

फ्रायडसँगको गहिरो मित्रता

यी तमाम घटनाबाट पनि मेरी कत्ति विचलित भइनन्। बरु, उनी यौनकुण्ठा र यौनसमस्याका बारेमा जोडिएका तमाम जिज्ञासाको जवाफ खोज्नमा लागिरहिन्।

१९२५ मा उनी एक चर्चित मनोविश्लेषकसँग भेट गर्न अस्ट्रियाको भियना गइन्। पेरिसका मेडिकल सर्कलमा उनको खुब चर्चा हुन्थ्यो। उनी थिए– सिग्मन्ड फ्रायड।

थम्प्सनले आफ्नो लेखमा लेखेकी छिन्– ‘फ्रायडमा मेरीले त्यो कुरा भेटिन्, जुन उनले खोजिरहेकी थिइन्। उनले एक नयाँ पिता पाइन् जसलाई उनी प्रेम गर्न सक्थिन्। जोसँग उनी काम गर्न सक्थिन्।’

सुरुमा मेरी फ्रायडकी एक बिरामीमात्रै थिइन्। पछि मनोविश्लेषणमा उनको लगाव बढ्दै गयो र उनी फ्रायडकी चेली बनिन्।

स्विजरल्यान्ड लुजेन विश्वविद्यालयका मनोविज्ञानका प्रध्यापक रेमी अमोरक्स भन्छन्– ‘उनी एक त्यस्तो फ्रान्सेली महिला थिइन्, जसले मनोविश्लेषणको अध्ययन गरिन्, त्यो पनि फ्रायडसँग।’

त्यो बेला फ्रायड ७०  वर्षका थिए। र, पनि उनी मेरी बोनापार्टसँग उत्तिकै रमाएका थिए।

मेरी बोनापार्टको चर्चा चुलिइरहेको थियो।

त्यही बेला जर्मन नाजीरूले अस्ट्रियामाथि आक्रमण गरे। त्यो बेला मेरीले आफ्नो धन प्रभावको प्रयोग गर्दै फ्रायडलाई बचाइन्। फ्रायड र उनको परिवारलाई भियनाबाट उनले लन्डन पठाइदिइन्।

जहाँ उनले जीवनका अन्तिम दिन बिताएका थिए।

‘८२ वर्षको उमेरमा मैले आफ्नो घर छोड्नुपर्‍यो किनकि त्यहाँ जर्मनीले आक्रमण गरेको थियो। त्यसपछि म इङ्ल्यान्ड आएँ। र, म चाहन्छु यहीँको स्वतन्त्र मौसममा मैले आफ्नो अन्तिम सास लिन सकुँ,’ १९३८ मा बिबिसीलाई दिएको एउटा अन्तर्वार्तामा फ्रायडले भनेका थिए।

पछि मेरी बोनापार्टले आफ्नो सिद्धान्तलाई आफंैले खारेज गरिदिइन्। १९५० मा उनले एउटा किताब प्रकाशन गरिन्।

‘फिमेल सेक्सुआलिटी’ नामक त्यो पुस्तकमा उनले आफूले पहिला उत्पादन गरेको सिद्धान्तलाई आफैंले काटेकी छिन्।

त्यो पुस्तकमा उनले प्रष्ट भनेकी छिन्– ‘यौनमा चरम सन्तुष्टि पाउनका लागि उसको शारीरिक बनावट नभई मानसिकतासँग जोडिएको हुन्छ। त्यो एक मनोवैज्ञानिक कारण हो।’

त्यो बेला उनले मनोविश्लेषण अध्ययन गरेको २५ वर्ष भइसकेको थियो।

प्रध्यापक डा. लयर्ड भन्छिन्– ‘पछि मेरी बोनापार्टले आफ्नो सिद्धान्तको बाटो बदलिन्। तर, उनले बनाएको त्यो सिद्धान्त आफैंमा एक उल्लेखनीय थियो। जसले जेसुकै भनोस्, म उनलाई साँच्चिकै नायक मान्छु।’

डा. लायर्डका अनुसार उनी आफ्नो शरीरसँग खुसी थिइनन्। र, महिलाको यौन मामलाका सन्दर्भमा उनी आफ्नो समयभन्दा धेरै अगाडि बढिसकेकी थिइन्।

२०औं शताब्दीमै महिला र यौनका बारेमा त्यसरी खुलेर अगाडि आउने मेरी बोनापार्टलाई प्राध्यापक अमोरक्स ‘महिलावादी आन्दोलन’ का लागि एक महान प्रेरणा ठान्छन्।

अन्त्यमा, मेरी बोनापार्टले यो पनि स्वीकार गरिन् कि, महिलामा कामुकता खोज्ने उनको दृष्टिकोण पनि पितृसत्तात्मक सोच नै थियो किनकि उनले शारीरिक बनावटमै त्यो कुरा खोजिरहेकी थिइन्।

(अनालिया लोरोन्तेले बिबिसीमा लेखेको सामग्री आयोमेलमा अनुवाद गरिएको)

प्रकाशित : २०७७ भदौ १४ गते १०:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI