प्रिय लेखक। साहित्यकारका ‘सानदार’ सान्दाजु। ‘विपी’ अर्थात् विश्वेश्वरप्रसाद कोइराला।
नेपाली लोकतान्त्रिक आन्दोलनको एउटा उचो शिर। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री।
नेपाली राजनीतिका दूरद्रष्टा र नेपाली साहित्यका उच्चकोटीका स्रष्टा हुन् विपी।
राजनीतिमा एउटा विशेष धार भए पनि उनको साहित्यमा सधै विशिष्ट धार रह्यो।
त्यसैले त उनी सबैका मनमा बस्न सफल भए। सबैका सर्वमान्य हुन सके।
आज तिनै विपी ३८औं स्मृति दिवस हो।
विपी स्मृति दिवसका रूपमा मनाउन थालेको आज ३८ वर्ष पुगिसकेको छ।
साहित्यकारहरूले उनको स्मृति दिवसलाई आफ्नो ढंगले मनाउँछन् भने राजनीतिज्ञले आफ्नो ढंगले। विपी विचारको कांग्रेसमा मात्र नभएर अन्य दलमा पनि उत्तिकै चर्चा हुन्छ।
उनले स्थापित गरेको मानक ‘समाजवाद’ अहिले पनि उक्तिकै सान्दर्भिक छ। विपीले परिकल्पना गरेको समाजवादमा अझै पनि मुलुक उन्मुख हुन सकेको छैन। ‘यौन मनोविज्ञान’मा लेखिएका विपीका कृति अहिले पनि उत्तिकै सान्दर्भिक छन्।
नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङका अनुसार विपी एक युगले जन्माएका महान प्रतिभा हुन्।
उच्च कल्पना सक्तिका साथ लेखिने उनका कृति नेपाली साहित्यका अब्बल पुस्तक रहेको उनले बताए।
‘अहिले हुर्रहुरी किताब आइरहेका छन्। केही किताब बाहेक कसैमा गम्भीरता हुँदैन’, उनले भने, ‘तर, विपीका प्रत्यक रचना दर्शन बोकेर जन्मिएका थिए, अहिले पनि उत्तिकै सान्दर्भिक र प्रिय छन्।’
एउटा विचार बोकेको व्यक्ति भए पनि सबैको प्रिय लेखक हुन सक्नुलाई असामान्य क्षमता ठान्छन् मुकारुङ।
राजनीतिमा एउटा दर्शन स्थापित गरेका विपीले साहित्यमा अर्को उचाई कायम गरेको मुकारुङले बताए।
तर, विपीपछि अहिलेसम्म कुनै पनि नेता सर्वमान्य भएर नजन्मिएको उनी ठान्छन्।
‘एउटा उच्च कोटीको साहित्यकार हुन उच्च राजनीतिक चेत चाहिन्छ र, उच्च राजनीतिक चेत भएको व्यक्तिले लेखेको साहित्य विशिष्ट हुन्छ भन्ने प्रमाण हो उहाँ’, मुकारुङ भन्छन्।
अहिलेका नेतामा त्याग र साधनाको कमी रहेको उनको बुझाई छ। एउटा ‘क्वालिटी’को मान्छेका प्रत्यक कुराले एउटा उचाई कायम गर्ने पनि बिपीबाट पुष्टि भएको उनले बताए।
कोरोनाका कारण लेखक संघले यस पटक भने कुनै औपचारिक कार्यक्रम गर्नेछैन।
प्रजातान्त्रिक धारका लेखक मात्र होइन, बाम बिचार पछ्याउने लेखक पनि विपीलाई उत्तिकै मान्छन्।
प्रगतिशिल लेखक संघका अध्यक्ष डा. जिवेन्द्रदेव गिरी पनि विपीको योगदानलाई उच्चताका साथ सम्झिन्छन्। विपीलाई विशिष्ट प्रतिभाको रुपमा लिन्छन् गिरी।
‘उहाँले राजनीतिका साथै साहित्यमा पनि विशिष्ट योगदान बनाउनु भएको छ’, उनले भने, ‘मनो विश्लेषणका क्षेत्रमा उहाँ एक अब्बल लेखक हो। उहाँको योगदानलाई युग युगले सम्झिनेछ।’
‘केही मान्छेमा बैचारिक भिन्नता हुनसक्छ। विचार फरक भए पनि विपी जुन बाटोमा लाग्नु भयो त्यो बाटोमा प्रतिवद्धताका साथ लाग्नुभयो। त्यो क्षेत्रमा फरक मानक स्थापित गर्नु भयो। जुन विपीबाट सबैले सिक्नुपर्ने सफल पाटो हो’, उनी भन्छन्।
राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएका कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदी–आइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु,आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ(मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन्। उनका सबै कृति अहिले पनि उत्तिकै प्रिय छन्।
Facebook Comment