ठेक्का टेण्डरको अनियमितताप्रति ध्यानाकर्षण

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ४ गते ९:२३
ठेक्का टेण्डरको अनियमितताप्रति ध्यानाकर्षण

रासस ,गण्डकी

नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको शनिबार बसेको बैठकमा विभिन्न सञ्चार माध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे उल्लेख भएको भन्दै यसप्रति ध्यानाकर्षण भएको प्रवक्ता नवीन सिग्देलले बताए । 

कास्की कांग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिकाका सभापतिसहितको संयुक्त बैठकमा पोखरा महानगरपालिकाका राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अभद्र व्यवहारप्रति पनि ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
 
टेण्डरसम्बन्धी अनियमितता र राष्ट्र सेवक कर्मचारी माथिको अभद्र व्यवहारबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न बैठकले माग गरेको प्रवक्ता सिग्देलले बताए । बैठकले ३८ औँ वीपी स्मृति दिवसमा साउन ६ गते पोखरा २६ पैतेडाँडाका बाढिपहिरो पीडित परिवारलाई राहत वितरण गर्ने, वृक्षारोपण गर्ने र विगतका वर्षमा रोपिएका बिरुवाको गोडमेल गर्ने निर्णय गरेको छ ।बैठकले नेपाली कांग्रेसका नेता मेजर दीपकबहादुर गुरुङको निधन भएकोमा दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रकाशित : २०७७ साउन ४ गते ९:२३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI