रामबहादुर बम्जनसहित तीनजनालाई १४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर
NAWALPUR TIMES प्रकाशित : २०७७ असार १९ गते १४:५०
काठमाडौं । बलात्कार र आनी बेपत्ता गरेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सर्लाहीले बिहीबार (हिजो) साँझ बालबालिका सम्बन्धी ऐन, ०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।
सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमका अनुसार बम्जनसहित ३ जनालाई प्रतिवादी बनाइएको छ ।
जसमा मुख्य प्रतिवादी रामबहादुर बम्जन नै छन् भने उनलाई सघाएको आरोपमा आश्रम प्रमुख ज्ञानबहादुर बम्जन र जेवी गुरु भनिने जितबहादुर तामाङ छन् । गौतमका अनुसार बम्जनलाई १४ वर्षसम्म र अरु दुई जनालाई त्यसको आधा सजायको मागदाबी गरिएको छ । यसअघि पटक–पटक प्रहरीले बम्जनको आश्रममा छापा मारेको भए पनि उनलाई फेला पार्न सकेको छैन ।
हाल तीनैजना फरार छन् । बम्जनले ०७३ साउन २० मा आश्रममै आएकी आनीलाई प्रलोभनमा पारेर यौन शोषण र बलात्कार गरेको आरोप छ । उनीविरुद्ध ०७६ माघमा उजुरी परेको थियो । बलात्कार सम्बन्धी कसुरमा घटना भएको एक वर्षसम्ममा उजुरी दर्ता गरिसक्नुपर्ने र मुद्दा दायर गरिसक्नुपर्ने हदम्यादका कारण मुद्दा पेश गरिएको गौतमले जानकारी दिए । अब कानुनी प्रक्रिया सुरु भएकाले अदालतकै आदेशअनुसार अगाडि बढ्ने उनले बताए ।
Facebook Comment