म नयाँबानेश्वरमा हाँसिरहेको लिम्पियाधुरा!

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ३२ गते १०:०४
म नयाँबानेश्वरमा हाँसिरहेको लिम्पियाधुरा!

चेतनाथ कणेल ‘हरित’

स्यावास् सांसदज्यूहरू

स्यावास् जनताका प्रतिनिधिज्यूहरू

म लिम्पियाधुरा

आज नयाँ नेपालको नयाँ संविधानमा

सर्वसम्मतले अनुसूचित भएर

एकपटक फेरि उत्ताल हाँसो हाँसिरहेछु

प्रसन्नताको अपी र सैपाल चढिरहेछु

म नयाँबानेश्वरको भव्य भवनमा

बुर्कुसिएको छु

आज म लिपुलेकसँगै गद्गदाएको छु,

म कालापानीसँगै हर्षविभोर छु आज!

हामी अखण्डित हौँ सार्वभौम नेपालमा

हामी प्रफुल्लित छौँ स्वाभिमानी नेपालमा

चुच्चिएरै चुलिएका छौँ

चर्चित भएरै उक्लिएका छौँ

लिपुलेक र कालापानीको साक्षी बनेर

म लिम्पियाधुरा कालीको शिर बनिरहेछु

प्रिय नेपालको अविच्छिन्नतामा रमिरहेछु

‘हुन्छ’ भन्नेहरूले हुन्छ भन्नुहोला….”

जब सप्पै माननीयहरूले समवेत् स्वरमा

‘हुन्छ’ भन्नुभयो,

म गद्गद् भएँ/म असीम आनन्दमा

डुबुल्की मारेँ

म नयाँबानेश्वरको भव्य भवनमा

बुर्कुसिएको छु आज

म लिपुलेकसँगै गद्गदाएको छु,

म कालापानीसँगै हर्षविभोर छु आज!

जुन दिन सजिएको थिएँ नेपालको नयाँ

नक्सामा

मेरो खुसीको सीमाले सगरमाथा चुमेको थियो

मेरो चर्चामा उमङ्ग मनाउनेहरूसँग

म त्यसै–त्यसै उमङ्गिएको थिएँ

त्यही दिन बेस्सरी हाँसेथे

लिपुलेक र कालापानीसँग

म अखण्डताको परिपोषक

म राष्ट्रियताको उद्घोषक

आज एकपटक फेरि सगरमाथातिर फर्केर

आज एकपटक फेरि लुम्बिनीतिर गम्केर

जय होस् नेपाल भनिरहेछु

धन्य हुन् नेपाली जनता भनिरहेछु

म लिम्पियाधुरा आज

म नयाँबानेश्वरको भव्य भवनमा बुर्कुसिएको छु

आज म लिपुलेकसँगै गद्गदाएको छु,

म कालापानीसँगै हर्षविभोर छु आज!!

नयाँबानेश्वर, शङ्खमूल, काठमाडौँ ३१

प्रकाशित : २०७७ जेठ ३२ गते १०:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI