महेन्द्र राजमार्गसंगै जोडिएको एउटा रमणीय गाउँमा मेरो घर छ। हरेक बिहान सवारीसाधनको ट्याँ- ट्याँ, टि- टि हर्न, बाटोमा मर्निङ वल्क हिँडेका मानिसहरूले बजाउने रेडियोको चर्को आवाज र घर नजिकैको राम मन्दिरमा बज्ने भजनको कोलाहलले सधैं मलाई सबेरै विउझ्याउथ्यो।
म आँखा मिच्दै वार्तलीतिर लम्किन्थे। अनि गुडिरहेका सवारीसाधन एकैछिन घोरिएर हेर्थेँ। सधैं सवारीसाधनको घन्को सुनिरहेको यी कानले विश्राम पाएको र यी आँखाले बाटोमा फरक दृश्य देखेको आज ठ्याक्कै एक महिना पुगेछ।
भोको पेट, आँखा भरी टिलपिल आँसु , एउटा काखीमा बच्चा च्यापेर अर्को हातमा झोला समातेर निकै टाढा घर सम्मको पैदल यात्रामा निस्किनु भएको वृद्ध आमाबाबा, गर्भवती आमा र विश्राम लिँदै सडकमा बाध्यताबश हिडिरहेकाहरुको कारूणिक कष्टप्रद यात्राले मनै बिक्षिप्त बनाउँछ। अझ खुट्टा प्लाष्टर गरेर पनि बैसाखीको साहारामा पोखराबाट नवलपुरसम्म हिडेर आउनुभएका मेरो छिमेकका ३०-३२ वर्षका काकाको थकित र निराशाले भरिएको दृश्य देख्दा मेरा आँखामा आँशु थामिएनन्।
हरेक दिन जसो रेडियो, टेलिभिजन र ईन्टरनेटमा सामाचार आउने गर्छन्, कोभिड-१९ र यसले निम्त्याएका समस्याहरु भनेर। सुनिन्छ मजदुरहरु सहरमा भोकमरीसङ्ग जुध्न नसकेर सु:ख दु:ख परिवारसंगै साटौँला भन्दै भोक, प्यास, थकानको प्रवाह नगरि आफ्नो घर फर्कदै छन्। सन् २०२० नयाँबर्षसँगै चीन को वुहान प्रान्तमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको यो रोग आज एशिया, युरोप, अफ्रिका हुँदै अमेरिकासम्म फैलिएको छ। विश्वका सम्पन्न ,बिकशित र शक्तिशाली मानीएका राष्ट्रहरुमा समेत यस महामारी रोगको प्रकोपका कारण विश्वजनसमुदाय नै त्राही-त्राही भएको छ। विश्वकै पछिल्लो तथ्यांक हर्ने हो कोरोना भाइरसबाट २५ लाख भन्दा बढी मानिस संक्रमण भएकोमा १ लाख ८० हजार भन्दा बढीको मृत्यु भएको छ भने ७ लाख भन्दा बढी मानिस निको भएका छन्। नेपालमा भने हालसम्म ४७ जना यो रोग बाट संक्रमण भएकोमा १० जना मानिस निको भएर घर फर्किएका छन्।
आज नेपाल सहित संसारका धेरै देशहरुमा सुरक्षा, स्वास्थ र अत्यावश्यक सेवा बाहेक उद्योग, कलकारखाना बन्द छन्। यातायात ठप्प छ। बजार र शैक्षिकसंस्था समेत प्रभावित परेका छन्। यसले विश्व अर्थतन्त्रमै सुस्तता, आर्थिक मन्दी, बेरोजगारी एवम मुल्य वृद्धि जस्ता समस्या ल्याउने सामान्य अनुमान गर्न सकिन्छ। बन्द कोठाभित्र, चिडियाखानामा बसेका जिवजन्तु नि:सन्देह सहर र बजार पसेका छन्। स्वतन्त्रता महशुस गरेका छन्। प्रदुषण कम भएको छ। वातावरण, आकाश, खोला, नदि सफा देखिन थालेको छ। वास्तवमै प्रकृतिले पनि शितलता महशुस गरेको छ। एकातर्फ यस महामारीले हाम्रो दैनिक जनजीवनमा असर गरेको छ भने अर्कोतर्फ सरकारलाई आम नागरिकको जीवन रक्षा गर्ने चुनौती थपिएको छ।
गरिब जनता एवम दैनिक ज्याला मजदुरीमा काम गर्नेहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका छन्। अझै नेपाल जस्तो विकाशोन्मुख देशमा समयमै उचित स्वस्थ सेवा पुर्याउन कठिन हुन्छ। सरकारले आफ्ना नागरिकको जीवन रक्षाका लागि करोडौंको राहत सामग्री बाँडेको छ। स्वास्थ सामाग्रीहरु पनि उप्लब्ध गराएको छ तर आज पनि लाखौं गरिब जनताले राहतको अभावमा भोकै रात काटिरहेका छन् र देश भरि नै हजारौं स्वास्थकर्मीहरु पर्याप्त सुरिक्षत स्वास्थ सामाग्रीको अभावमै उपचार गर्न बाध्य छन्। यधपी सरकारले जनताको सुरक्षाका लागि भन्दै चैत ११ गते देखि बैशाख १५ गते सम्मको लागि लकडाउन गरेको छ। यस कारण हामी हाम्रो र परिवारको सुरक्षाका लागी घर भित्रनै बसौं र अप्ठ्यारोमा परेका जनताहरुको लागि आवश्यक राहत सामग्री उपलब्ध गराएर सहयोग गरौं। जसले जति सक्छौं,जे सक्छौ सकेको सहयोग गरौं….। नियमित साबुनले हात धुने गरौँ…।
कावासोती, नवलपुर।
प्रकाशित : २०७७ वैशाख ११ गते १८:०१
Facebook Comment