“कविता”
आज मातातीर्थ औँसी
म भेट्न आउँदिन है आमा
किनकि यसपालि हामी
लकडाउनले नराम्ररी किचिएका छौं
कोरोनाको भयानक प्रहारले
नराम्ररी थिचिएका छौँ
हामीमात्र कहाँ हो र आमा ?
लकडाउनको बलियो ताल्चाभित्रबाट
यो विश्व नै आर्तनाद गरिरहेको छ
आफ्नै पिञ्जडाभित्रको एकान्तबासबाट
भगवानलाई पुष्पगुच्छा छरिरहेको छ
तैपनि आमा,
यो अदृश्य जगतबाट
कोरोना भन्ने भाइरस
झरिरहेको छ, झरिरहेको छ !
सबै मानव जातिहरू
मानव जातिभित्रका नानाभाँतिहरू
सबै सबै ठप्प छन्
मानवनिर्मित उपकरणहरू ठप्प छन्
आफूभित्रका सामर्थ्य र उत्साहहरू ठप्प छन्
तँछाड–मछाड गरिरहने पाइतालाहरू ठप्प छन्
यतिमात्र कहाँ हो र आमा
विलक्षण प्रतिभाका प्रकाण्ड विद्वानहरू पनि
अन्योलै अन्योलमा यतिबेला अकमक्क छन्
हिमालबाट पहाड झरेकाहरू
पहाडबाट तराई सरेकाहरू
गाँउ छोडी शहर भरेकाहरू
देश छोडी परदेशमा काम गरेकाहरु
“होलिडे” मनाउँदा मनाउँदै बीचमा परेकाहरू
सबै सबै थुनिएका छन्
भित्रभित्रै भुन्भुनिएका छन्
हिजोआज शान्त छन्
शहर बजारका चहलपहलहरू
शून्य छन् अस्तव्यस्त सडकका महलहरू
चराचुरुङ्गीको बथानले पनि
स्वच्छन्द सास फेरेजस्तो लाग्छ
पशुचौपायाहरूले पनि
आश्चर्य मान्दै हेरेजस्तो लाग्छ
रुखबिरुवालाई पनि
स्निग्ध हावाले घेरेजस्तो लाग्छ!
अनौठो–अनौठो भएको छ यो पृथ्वी आज
डरैडरले थर्थराइरहँदा
निद्रामा पनि ‘कोरोना’ भन्दै बर्बराइरहँदा
एउटा ‘धैर्यता’को पाठ भने
अवश्य सिकेजस्तो लाग्छ
सत्प्रेम र सद्भावले नै
यो संसार टिकेजस्तो लाग्छ
तर,
नआत्तिनुहोला है आमा
जुन दिन यो धर्ती
पुरानै अवस्थामा फर्किने छ
यो पापी भाइरसले
मानवलाई मुक्ति गराएर
धर्तीमा शान्तिको जल छर्किने छ
म पहिलोचोटि ‘आमा’ भन्दै
दौडिएर भेट्न आउने छु
कोरोनारूपी तापले निम्त्याएको
अतृप्त प्यास मेट्न आउने छु !!
शङ्खमूल,नयाँबानेश्वर काठमाडौं
प्रकाशित : २०७७ वैशाख १० गते १९:४५
Facebook Comment