प्रमाण अधिकारी
आजकल हामी यति नकारात्मकतामा बाँच्न थालेका छौं कि कुनै सकारात्मक कुरा हामीलाई पाचन नै नहुने भइसक्यो।अनलाईनको संसारमा च्याउसरी उम्रिएका सस्ता वेभसाइट, ब्लग, च्यानल अनि न्यूजपोर्टलहरुले आफ्ना प्रचार, वेभपेज र भिडियो खोल्नेको संख्या बढाउँदै आर्थिक उपार्जन गर्ने लालसामा समाचार, आलेख, विचार, अन्तर्वाता वा कुनै पनि सामग्री समग्रमा सकारात्मक, विवादास्पद अभिव्यक्ति नभएका भएपनि नकारात्मकता मनपराउने बहुल मान्छेको मनोविज्ञानलाई उपयोग गर्दै दर्शक र पाठक बढाउन ठूला ठूला भँगेरे टाउके अक्षरमा गलत वा विपरीत सन्देश प्रवाह गर्ने किसिमका शीर्षक राख्ने गरेका छन्।
समाजमा भएका कुरीति, कुसंस्कार, भ्रष्टाचार, गलत क्रियाकलाप र अभिव्यक्ति, गैरकानुनी हर्कत कुनै व्यक्तिको होस्, कुनै समुदायको होस्, सरकारको होस् वा गैर सरकारी क्षेत्रको होस् ती सबैको पर्दाफास, विस्तृत सत्यतथ्य विवरण बाहिर ल्याएर जनतालाई सुसुचित गर्ने धर्म सबैको हो विशेष गरी सञ्चारकर्मी, पत्रकार र सञ्चारगृहको हो।जनताको सूचनाको हकको उच्चतम उपलब्धि भनेको पनि स्वतन्त्र र निष्पक्ष सञ्चार क्षेत्र अनि सूचनासम्मको सहज पँहुच हो।
यस पंक्तिकारले सामाजिक सञ्जालमा देखिएको असहिष्णु प्रवृत्तिका सन्दर्भमा एक आलेखमा विचार राखेजस्तै मान्छेले आफ्ना दुःख र संघर्षका कुरा ती सञ्जालमा पस्कनभन्दा पनि सफलता, खुशी र अधिकांशतः झुटा परिवेश खडा गरिराख्ने प्रवृत्तिले एक गास भात खाँदा पनि तिनै सामाजिक सञ्जालमा झुँडिनेहरु भित्रभित्रै हीनताभाष र कुण्ठाबाट ग्रसित हुँदै जाने क्रम बढेको छ।
जताततै मान्छेले राम्रा लुगा लगाएका, नयाँ नयाँ ठाउँ घुमेका, घर र गाडीछेउ फोटो खिचेका, नाम चलेका महँगा रेष्टुरेन्टमा गएर खाएका सामग्री दिलैदेखि मन पराएर एक लाईक ठोक्ने व्यक्ति कमै हुन्छन्, भित्रभित्रै भुटभुटिने र आफ्नो यथास्थितिले पिरोलिएकाहरुभन्दा। फेरि वास्तविकता पनि त्यही छ कि हाम्रो जीवनस्तरमा कुनै ठूलो परिवर्तन आएको अवस्था छैन। अधिकांश मान्छे आफ्नो वर्तमान अवस्थाबाट माथि फड्को मार्न नसकेको पीडा भित्रभित्रै पालेर बसिरहेको छ। धनी झन् धनी हुँदै छन्, सामाजिक आर्थिक असमानता बढ्दो छ। खोक्रो आडम्ब र प्रदर्शनका कारण निम्न मध्यम बर्गीय समुदाय सांस्कृतिक रुपमा पनि पाखा लाग्नुपर्ने स्थितिको सिर्जना भएको छ। जसले मान्छेमा अधैर्य रहने र असहिष्णु बन्ने प्रवृत्ति बढाइरहेको छ।
सबै विषयको ज्ञाता र जानिफकार कोही पनि हुँदैन। यो कुरा कुनै पनि राजनीतिक नेता, सामाजिक कार्यकर्ता, अभियन्ता, कर्मचारी र सामाजिक सञ्जालमा पहुँच भएका सर्वसाधारणले बुझ्नुपर्छ। एउटा समाचारको शीर्षक पढेका भरमा सल्लाहकार, विश्लेषक र आलोचकहरुको विचारको बाढी आउने प्रवृत्ति वास्तवमै हाम्रो आचरण र ज्ञानको स्तरलाई निचो देखाउने खालको हुँदै गइरहेको छ। आफ्ना भू राजनीतिक र आर्थिक यथार्थलाई नपर्गेलीकन फलाना देशजस्तो किन भएन र ढिस्काना देशजस्तो किन भएन भनेर सामाजिक सञ्जालमा फलाकेजस्तो परिर्वतन सम्भव छैन। विश्वसनीय सञ्चारमाध्यमको पहिचान नगरी हावा र झुठा कुरा गरेर दुँनिया भुलाउन पल्केका अनलाईन, युट्युव च्यानल, फेसबुक पेजहरुको हामीले पहिचान गर्न सक्नुपर्छ र तिनलाई बेवास्ता पनि।
अहिले कोरोना भाइरसका ज्ञाता र जानिफकारको बाढी छ, सामाजिक सञ्जालमा। फेक न्यूजको हानीकारक पक्षबारे हामी धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत छैनौं। दैनिक ज्याला मजदुरी गरेर जीवन गुजार्ने सर्वहारा जनताका पक्षमा सामाजिक सञ्जालमा हुने गरेका छलफल र बहस सान्दर्भिक छन् र तिनले केही प्रभावकारी भुमिका पनि खेलेकै छन् तर छाक टार्ने मेसो मिलेका र घरमै बस्न सक्ने एउटा सचेत व्यक्ति कोरोना भाइरस संक्रमणलाई नगण्य ठान्दै घरबाहिर निरीक्षण गर्न निस्कने प्रवृत्ति भनेको नै हाम्रो आशा र यथार्थबीचको विरोधाभाष हो।
हामी चुनाव सकिएपछि राजनीतिक दल र नेताहरुलाई अनेक गाली गर्दै असन्तुष्टीका बाढी ल्याउँछौं तर चुनाव अघि जिम्मेवार र विश्वसनीय उमेदवार पहिचान गर्न र उसलाई चुनावमा खडा गर्न कुनै पहल गर्दैर्नौ। यथार्थ पनि छ फेरि उल्टै। पैसा नभएका र मनग्य खर्च गर्न नसक्नेले राजनीति गर्ने वातावरण नै छैन। आँटीहाले पनि ऋण धन नगरी उपाय छैन जसको भरपाई चुनाव जितेपछि गर्ने योजना नबनाए घरखेत उठ्ने पक्का छ।
हामी सबै सार्थक परिर्वतनको पक्षमा छौं। हामीले आफ्नो जीवनकालमा धेरै किसिमका परिवर्तन देखेका, भोगेका छौं। तर पनि ति परिवर्तनले जीवनमा ल्याउन नसकेका तात्विक भिन्नताले गर्दा लाग्छ हामी काल्पनिक यथार्थमा मात्र रमायौं। जनताले चाहेको परिवर्तन त मुर्त हुनुपर्ने हो जसको अभावले मानिसमा नकारात्मकता बढेको पनि हुनसक्छ र यस मनोविज्ञानलाई कसैले फाइदा लिने माध्यम बनाइरहेको छ र यो गलत छ। हामी सबै सचेत हुन जरुरी छ।
नकारात्मकताले भरिएको शीर्षक नराखेपनि यो विचार आद्योपान्त पढ्नुभएकामा तपाईंप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। हामी सबै सकारात्मकतातिर ढल्किन सकौं। नकारात्मकतालाई घटाउँदै लैजान सकौं भन्ने कामना गर्न चाहन्छु।
[email protected]
पोखरा महानगरपालिका १०, रामघाट
लेखकबाट थप:-
प्रकाशित : २०७७ वैशाख ९ गते १२:५९
Facebook Comment