वर्ष २०७६ : एकदिवसीय क्रिकेटमा विकेट लिने नेपाली बलरहरु
NAWALPUR TIMES प्रकाशित : २०७७ वैशाख १ गते २१:२३
काठमाडौं । विस २०७६ सालमा नेपालले निकै कम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्यो । अघिल्लो वर्ष ६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपालले ७६ को वर्ष भने मात्र ४ खेल मात्र खेल्यो । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको आफ्नो पहिलो सिरिज खेल्नु बाहेक नेपालले अन्य एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पाएन । सिरिजमा नेपालले अमेरिका र ओमानलाई आतिथ्यता प्रदान गर्यो । नेपालले खेलेको ४ खेलमा समेत ओमानसँग पराजित हुँदा अमेरिकालाई पराजित गर्यो । तर, नेपालले पहिलो पटक घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै इतिहास रच्यो । त्यस बाहेक नेपालले खासै उपलब्धि एकदिवसीय अन्तर्राष्ट्रियमा हात पार्न सकेन । नेपालले खेलको ४ खेलमा मात्र ५ बलरले विकेट लिन सफल रहे । २०७६ सालमा नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट लिने खेलाडीको व्याख्या तल गरिएको छ ।
सुशन भारी
७६ सालमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक विकेट लिने खेलाडी हुन् सुशन भारी । उनले ४ खेलमा ११ विकेट हात पार्न सफल भए । एकदिवसीय अन्तर्राष्ट्रियमा सुशनको ३ दशमलब ३९ को इकोनमी रहेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा सुशनले ओमानविरुद्ध डेब्यु गरेका थिए । डेब्यु खेलमा उनले ३ विकेट हात पार्दै सुखद सुरुवात गरे । यस्तै उनले दोस्रो खेलमा अमेरिकाविरुद्ध पुन: ३ विकेट हात पर्दा ओमानसँगको खेलमा १ विकेट हात पारे । अमेरिकासँगको अन्तिम खेलमा सुशनले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरको सर्वाधिक सफल बलिङ गर्दै ४ विकेट हात पारे ।
सन्दीप लामिछाने
सन्दिप लामिछाने
सन्दीपले ७६ सालमा ४ खेलमा ८ विकेट हात पार्न सफल भए । सन्दीपले खेलेको ४ खेल मध्ये २ खेलमा भने विकेट विहिन रहेका थिए । उनले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको दुवै खेलमा विकेट लिन सकेनन् । अमेरिकाविरुद्ध भने सन्दिपले सानदार बलिङ गरे । पहिलो खेलमा अमेरिकाको २ विकेट लिएका उनले दोस्रो खेलमा एक्लैले ६ विकेट लिएका थिए । उक्त ६ विकेट लिंदा सन्दीप एसोसियट राष्ट्रको लागि उत्कृष्ट बलिङ खेलाडीको कीर्तिमान बराबरी गरे । सन्दीपले अमेरिकाविरुद्धको दोस्रो खेलमा ६ ओभर बलिङ गर्दै १ मेडेनका साथ १६ रन खर्चेर ६ विकेट लिएका थिए । अमेरिकाविरुद्ध कीर्तिमानी जित निकाल्न मुख्य भूमिका खेलेका सन्दीप म्यान अफ द म्याच समेत बनेका थिए ।
करण केसी
करण केसी
नेपालका उत्कृष्ट अलराउण्डर करण केसीले समेत ८ विकेट लिए । करणले ओमान र अमेरिकाविरुद्धको पहिलो खेलमा समान ४/४ विकेट लिएका थिए । नेपालको लागि दुवै खेलमा सर्वाधिक विकेट लिएका करण अमेरिकाविरुद्ध जित दिलाउन मुख्य भूमिका खेलेका थिए । तर पहिलो खेलमा ओमानको ४ महत्वपूर्ण विकेट लिएपनि नेपाललाई जित दिलाउन भने सफल रहेनन् । नेपालका अर्का भरपर्दा अलराउन्डर सोमपाल कामी अनुपस्थित सिरिजमा करणले फास्ट बलिङको जिम्मा सम्हालेका थिए ।
कुशल मल्ल
कुशल मल्ल
एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका कुशल मल्ल नेपालको लागि सर्वाधिक विकेट लिने चौथो खेलाडी हुन् । उनले ३ खेलमा २ विकेट लिएका थिए । कुशलले दुवै विकेट क्लिन बोल्ड गर्दै लिएका थिए । अमेरिकाविरुद्ध, डेब्यु खेलमा उनले आफ्नो पहिलो विकेट लिएका थिए । एल्मोरे हट्चिन्सनलाई कुशलले एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो सिकार बनेका थिए । लगत्तै उनले ओमानविरुद्धको खेलमा समेत एक विकेट लिन सफल भएका थिए । ओमानका ओपनर तथा आक्रमक ब्याट्सम्यान जतिन्दर सिंहलाई उनले बोल्ड गर्न सफल भएका थिए।
दिपेन्द्र सिंह ऐरी
दिपेन्द्र सिंह ऐरि
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि २०७६ सालमा विकेट लिने अन्तिम खेलाडी रहे । ऐरीले ४ खेलमा १ विकेट लिन सफल भए । राष्ट्रिय टिमका उपकप्तान समेत रहेका ऐरीले ओमानविरुद्धको पहिलो खेलमा १ विकेट लिन सफल भएका थिए । ऐरीले ओमानका बादल सिंहलाई रोहितको हातबाट क्याच गराएका थिए । उपकप्तान ऐरीले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको लागि ठुलो योगदान भने दिन सकेनन् । उनले खेलेको ४ खेलमा २ पटक डक आउउट भएका थिए ।
Facebook Comment