परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाएको आरोपमा प्रहरीले काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीको शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई पक्राउ गरेको छ। बानेश्वर प्रहरी वृत्तको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको हो। ‘शिक्षिका कर्माचार्यलाई हामीले नियन्त्रणमा लिएका छौं। उनीमाथि अभद्र वा अमानविय यातना के विषयमा मुद्दा चलाउने अनुसन्धानपछि टुंगो लाग्छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने।शिक्षिका कर्माचार्यले बिहीबार कक्षाकोठामै कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएकी थिइन्।
उक्त घटनाबारे शनिबार नयाँ पत्रिका दैनिकले पहिलोपटक समाचार लेखेको थियो। विद्यालयका अनुसार गत साता शिक्षिका कर्माचार्यले २० पूर्णाङ्कको परीक्षा लिएकी थिइन्। कर्माचार्य सामाजिक शिक्षा विषय पढाउने शिक्षिका हुन्। नतिजा सुनाएपछि बिहीबार कर्माचार्यले कम नम्बर ल्याउने विद्यार्थीलाई सिसाकलम तिखार्न प्रयोग गर्ने ब्लेडले हात चिर्न दवाव दिएकी थिइन्। उनले १५ नम्बरभन्दा कम नम्बर आएका विद्यार्थीको हात (नाडी) चिर्न लगाएको आरोप छ। विद्यार्थीका हातमा एकभन्दा धेरै ठाउँमा ब्लेडले चिरा पारेपछि घटना बाहिर आएको थियो।
प्रकाशित : २०७६ फागुन २४ गते १८:३१
Facebook Comment