No ads found for this position

सावधान ! कोठामा कोइला र हिटरको प्रयोग त गर्दै हुनुहुन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ३ गते ११:२४
No ads found for this position
सावधान ! कोठामा कोइला र हिटरको प्रयोग त गर्दै हुनुहुन्न
No ads found for this position

‘सावधानी नपनाउँदा स्वास्थ्यमा समस्या आउनदेखि ज्यान नै ज्यान सक्छ’

देशभर अहिले चिसो बढेको छ । सकेसम्म घरभित्र चिसो नछिरोस् भनेर झ्याल÷ढोका सबै बन्द गरेर राखिन्छ । साथै, कोठा र शरीरलाई न्यानो बनाउनको लागि हिटर, कोइला आदिको प्रयोग पनि बढ्दो छ । तर, यस्ता कुराहरु प्रयोग गर्दा ध्यान पु¥याउन सकिएन भने ठूलो दुर्घटना हुन सक्छ भन्ने कुराको बारेमा भने कमैले मात्रै ध्यान दिएको देखिन्छ ।

४ वर्ष पहिले पोखरामा यसरी नै कोठभित्र कोइला बालेर न्यानो बनाउने हुँदा धुवाँले निस्सासिदा कोठाभित्र एकै परिवारका चारजनाको मृत्यु भयो । करिब दुई वर्ष पहिले इन्जिनियर दम्पत्ति पुष्कर जोशी र अप्सरा श्रेष्ठको चिसोको समयमा प्रयोग गरिएको हिटरबाट सल्केको आगोको लप्काले जल्दा ज्यान गुमाउनु परेको थियो ।

गत मङ्सिर ३० सोमबार कीर्तिपुर नगरपालिका–८ सुन्दरबजारमा आमा र दुई महिने छोराको निस्सासिएर मृत्यु भयो । सुत्केरी र नवजात शिशुलाई तातोको लागि राति मकलमा आगो बालेर सुत्दा यो अप्रिय घटना भएको थियो ।

यी त केही प्रतिनिधि घटना मात्रै हुन् । चिसोबाट बच्नको लागि हामीले प्रयोग गर्ने यी साधनहरुले कतिपय अवस्थामा जीवननै असुरक्षित बनाउने गरेको छ ।

चिसोका समयमा शरीरलाई न्यानो बनाउन प्रयोग गरिने यस्ता साधनले किन हामीलाई मृत्युको मुखमा पु-याइरहेको छ ? कोठाभित्र तातो बनाउनका लागि प्रयोग गरिने यस्ता साधनबाट स्वास्थ्यमा ल्याउने समस्या, नागरिकले ध्यान दिनुपर्ने कुरालगायतको बारेमा वीर अस्पतालका छाती रोग विभागका प्रमख डा. अशेष ढुङ्गाना यसो भन्छन्ः

धुवाँ आउने साधन धेरै खतरनाक

चिसोको समयमा तातो बनाउनको लागि प्रयोग गरिने दुई किसिमका यन्त्रहरु हुन्छन् । एउटा धुवाँ विषर्जन गर्ने – जस्तै दाउरा, कोइला अथवा अन्य कुनै प्रज्वलनशील वस्तु । अर्काे विद्युतबाट चल्ने यन्त्रहरु जसबाट धुवाँ निस्कदैन ।

चिसोको समयमा निस्सासिएर मृत्यु हुने कुरा जहाँसम्म छ, त्यो भने धुवाँ विषर्जन गर्ने कोइला बलेर या कुनै पनि प्रज्वलनशील वस्तु बाल्दा हुने गर्छ । त्यस्ता वस्तु बाल्दा त्यसले कोठामा रहेको अक्सिजनको प्रयोग गर्छ । र, त्यसको सट्टामा हावामा कार्बाेनडायोअक्साइड र कार्बाेनमनोअक्साइड जस्ता विषादीयुक्त ग्यास पठाउने गर्छ । 

बन्द कोठामा त्यस्ता वस्तु बाल्दा कोठाभित्र भएको अक्सिजनको मात्रा बिस्तारै—बिस्तारै कम हुँदै जान्छ र त्यसमा विषालु ग्यासहरुको मात्रा बढ्दै जान्छ । यसैले दुर्घटना निम्ताउँछ ।

विशेषतः सुतेको समयमा घरको झ्याल, ढोका सबै बन्द गरेर बालिएको छ भने यो विषालु ग्यासले सबैभन्दा पहिला मानिसलाई बेहोस (अचेत) बनाउँछ । वेहोस भए पछि कोठामा विषालु ग्यासको मात्रा बढिरहेको छ भन्ने जानकारीनै हुँदैन । यी ग्यासले शरीरमा अक्सिजनको मात्रा कम गर्छ, बिस्तारै सास फेर्न गाह्रो हुने, सास रोकिने र अन्तिममा मृत्यु हुनसक्छ ।

झ्याल ढोका पूर्णरुपमा बन्द नगरौँ

आधुनिक साधनहरुमा तातोको लागि ग्यास सिलिण्डर पनि प्रयोग गर्ने चलन छ । आगोको नजिकै ग्यास लिक भएको छ भने आगोको लप्काले सजिलै ग्यास समात्न सक्ने सम्भावना हुन्छ । विद्युतीय हिटरहरुमा निस्सासिने समस्या कम भएको पाएका छौँ ।

यद्यपि, चिसोको समयमा हिटरको प्रयोग गर्दा भेन्टिलेसनको राम्रो व्यवस्था गर्नुपर्छ । हावाको प्रवाह राम्रो भएको ठाउँमा मात्र हिटरको प्रयोग गर्दा जोखिम कम गर्न सकिन्छ । राती सुत्नुभन्दा पहिला सबै हिटरहरु बन्द गरेर सुत्ने बानी बसाल्ने हो भने यसबाट हुने सम्भावित दुर्घटनाहरुबाट बच्न सकिन्छ ।

हुन त विषालु ग्यासको मात्रा बढ्दै गयो भने समस्या सबै उमेर समूहका व्यक्तिमा देखिन्छ । तर पनि बालबालिका, बृद्धबृद्धा, दीर्घरोगीहरुलाई थोरै धुवाँले पनि असर गर्छ । साथै विभिन्न किसिमका दमका रोगी भएका व्यक्तिहरुलाई सामान्य नागरिकलाई भन्दा बढी समस्या हुन्छ ।

दुर्घटना घट्नुभन्दा पहिलाका लक्षणहरु

लामो समय हिटरमा बस्दा शरीरमा केही समस्या आउन लागेको छ भने सुरुमा नाक–मुख सुख्खा हुने, रुघा लाग्ने, लामो समय खोकी लाग्ने जस्ता छाती सम्बन्धी समस्याहरु देखिन्छन् । यी बाहेक लामो समय हिटरमा बस्दा पटक—पटक टाउको दुख्ने समस्या दोहोरिन्छ । हावामा कार्बाेनडाइड अक्साइडको मात्रा बढ्ने अथवा अक्सिजनको मात्रा कम हुने  हुँदा यस्ता लक्षणहरु देखिन्छन् । त्यसैले धेरै लामो समय हिटर वा अन्य तातो बनाउने कोइला आदि को अगाडी बस्नु स्वास्थ्यको लागि राम्रो होइन ।

त्यसमा पनि राती सुत्ने बेलामा झ्याल, ढोका बन्द गर्ने अनि हिटर ननिभाइ सुत्दा विभिन्न दुर्घटनाहरु हुने र ज्यानै जान सक्ने सम्भावना त छँदैछ । त्यसैले चिसोको समयमा निस्सासिएर हुने दुर्घटनालाई कम गर्नको लागि सम्बन्धित व्यक्ति आफैले विशेष ध्यान दिनुपर्छ । बन्द कोठामा यस्ता साधान प्रयोग गर्दा आउने जोखिमको बारेमा परिवार, घरछिमेकलाई पनि जानकारी गराउनुपर्छ ।

प्रकाशित : २०७६ पुष ३ गते ११:२४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI