महाधिवेशनको कार्यतालिका पौडेलको बटम लाईन

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २८ गते १५:१८
महाधिवेशनको कार्यतालिका पौडेलको बटम लाईन

देउवा र पौडेलको मिलेन कुरा

२८ मंसिर, काठमाडौं । पार्टीको केन्द्रीय कार्यसतितिको बैठक बहिस्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उनकै निवास पुगेका छन् । तर पौडेलले १४औं महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको भन्दै अरु कुरा वार्ता समितिसँगै गर्न भनेर पठाएका छन् ।

पौडेल समूहले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको थियो, जुन बैठकमा केन्द्रीय विभागहरु थप्र्ने, नेवि संघको म्याद ६ महिना लम्ब्याउने लगायतका प्रस्ताव पेश भएको थियो ।

त्यसको भोलिपल्ट शुक्रबार चाक्सीबारीमा बसेको बैठकले महाधिवेशनको कार्यतालिकाको अडान नछाड्ने निर्णय गर्दै प्रकाशमान सिंहको नेतृत्वमा वार्ता समिति बनाएको छ ।

शनिबार सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेल निवास बोहोराटार पुगेका थिए ।

भेटमा देउवाले विभाग गठन र तरुण दलको म्याद थपका लागि सहयोग गर्न आग्रह गरेका थिए । ‘महाधिवेशनको कार्यतापलिका नबनाउने भनेकै छैन’ उपसभापति निधिले भने, राधेश्याम अधिकारीको नेतृत्वको निर्वातन समितिले अन्तरिम संरचनाको समायोजना काम सकिसकेपछि कार्यतालिका बनाउने निर्णय पनि छ ।’

महाधिवेशनको कार्यतालिका बनाउन केन्द्रीय समितिको म्याद थप पनि गर्नुपर्ने देउवाको भनाइ थियो ।

तर वरिष्ठ नेता पौडेलले महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको जवाफ दिएका छन् । ‘महाधिवेशनको कार्यतालिकालाई टेबलमा अगाडि राखेर अरु समस्याहरु परस्परिकताका आधारमा सुल्झाएर जानुपर्छ’ नेता पौडेलले भनेका छन् ।

उनले अरु विषयमा आफूसँग नभई वार्ता समितिसँग सम्वाद गर्न आग्रह गरेका छन् । पौडेल समूहले प्रकाशमान सिंह र हृदयराम थानी रहेको वार्ता समिति बनाएको छ भने सभापति देउवाले उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका छन् ।

दुई नेताबीच भएको छलफलअनुसार निधिले सिंहलाई भेट्न चाहेका छन् तर समय मिलेको छैन ।

प्रकाशित : २०७६ मंसिर २८ गते १५:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI