हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २७ गते १०:५०
हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात

पश्चिमी वायुको प्रभावले एक्कासि बिग्रिएको मौसममा शनिवारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले शनिबारदेखि मुलुकभरि मौसममा सुधार आउने जानकारी दिनुभयो ।
अबको दुई दिनसम्म पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । उहाँले विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका विभिन्न स्थानमा सतर्कता अपनाउन हुन सबैसँग आग्रह गर्नुभयो ।
पश्चिमी वायुको प्रभाव तथा मौसमी प्रभावका कारण नै अहिलेको मौसममा परिवर्तन देखिएको बताउँदै उहाँले शुक्रबार दिउँसोसम्म मुुलुकभरि सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । त्यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै स्थानका साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ ।

आठ वर्षयताकै छिटो हिमपात
हुम्ला समाचारदाता राजन रावतका अनुसार जिल्लामा विगत सात आठ वर्षयता यो वर्ष चाँडै हिमपात सुरु भएको छ । विगतका वर्षमा पुस महिनापछि मात्र हिमपात हुने गरेको भए पनि यसपालि भने मङ्सिरमै हिमपात सुरु भएको स्थानीय बासिन्दा बर्ख रोकायाले बताउनुभयो । यो वर्ष यो दोस्रो हिमपात हो । पहिलो हिमपात गत मङ्सिर १२ गते भएको थियो । बिहीबार बिहानैबाट हिमपात सुरु हुँदा जमिन हिउँले ढाकिन थालेको छ ।
जमिनमा एक इन्च हिउँ जमेको छ । सबैतिर सेताम्मे देखिन्छ । हिमपातसँगै बाक्लो कुहिरो पनि लागेको छ । तापक्रम भने दिउँसो माइनस तीन डिग्रीमा झरेको छ । चिसो बढेका कारण जनजीवन प्रभावित भएको छ । उत्तरी हुम्लाका अग्ला स्थानमा हिउँ बढी जमेको छ । हिमपात दिनभरि भइरहेकाले पशु गोठमै राखिएको छ ।

जनजीवन प्रभावित
हिमपातका कारण हुम्लाको एक मात्र हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट हुने सबै उडान स्थगित भएको सिमकोट विमानस्थलले जनाएको छ । हिमपात नभएको भए तारा, सीता र समिट एयरका जहाजले आधा दर्जनभन्दा बढी उडान भर्ने तालिका रहेको विमानस्थलले जनाएको छ । हिमपातका कारण सरकारी तथा गैससका कार्यालयमा सेवाग्राहीको उपस्थिति कमी आएको छ ।
अरू बेला सेवाग्राहीको बाक्लो उपस्थिति हुने सिमकोट गाउँपालिकामा बिहीबार थोरै सेवाग्राहीको उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो । त्यसैगरी मालपोत, जिल्ला प्रशासन कार्यालय, कृषि, पशु, बैङ्कजस्ता कार्यालयमा पनि सेवाग्राहीको उपस्थिति कमी थियो । नाम्खा गाउँपालिकाको वडा ६ को हिमालपारिको गाउँ लिमी जाने दुईवटै नाका यारी र न्यालु लेक हिमपातपछि बन्द भएका छन् । तत्काल सो ठाउँमा जान सकिने अवस्था छैन । त्यसैगरी नाम्खाकै चालामा जाने बाटो बन्द भएको छ ।

किसान खुसी
किसानहरु भने हिउँ परेपछि बाली उम्रने हुँदा खुसी देखिएका छन् । कात्तिकमा छरेको जेठासी बाली नउम्रेको बेला यो हिमपात भएपछि जौ, गहुँ र उवाको बीउ उम्रनेछ । यसबाट किसान खुसी भएको स्थानीय तुली रावतले बताउनुभयो । यो समयमा हिमपात भएपछि जेठासी बाली सप्रने किसानको भनाइ छ ।

प्रकाशित : २०७६ मंसिर २७ गते १०:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI