सौगातले जिते ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को उपाधि

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २० गते १९:४०
सौगातले जिते ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’को उपाधि

चितवन, मंसिर २०

‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को उपाधि सौगात आचार्यले जितेका छन् । आज (शुक्रबार) वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा भएको फाइनल प्रतिस्पर्धामा ९ जनालाई पछि पार्दै सौगातले उपाधि जितेका हुन् । अरोमा कलेजमा अध्ययरत सौगातले उपाधिसंगै नगद ५० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरे ।
यस्तै एकता शिशु निकेतनका आशिष बन्जारा फष्ट रनरअप घोषित भए । उनले ३० हजार नगद र ट्रफी हात पारे । त्यस्तै स्काइराईडर स्कुलकी आयुष्मा पोखरेल सेकेण्ड रनरअप घोषित भइन् । उनले नगद २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।
विजेताहरुलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रमुख डिल्लीराम अधिकारी, काठमाडौं कार्यालयका विजनेश डेभलपमेण्ट म्यानेजर विकास ज्ञवाली, मिस्टर नेपाल वल्र्ड विकल्पराज श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।
फाइनल प्रतिस्पर्धाको निर्णायकहरुमा पुराना संचारकर्मी मनोज घिमिरे, प्रवेश किरण अधिकारी, मिस्टर नेपाल वल्र्ड विकल्पराज श्रेष्ठ रहेका थिए । विभिन्न चरणका अडिसनबाट फाइनल प्रतिस्पर्धामा १० जना प्रतियोगी छनौट भएका थिए ।
विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा चर्चित कलाकार निशान भट्टराई, नेपाल आइडलमा आफ्नो कला देखाएकी स्वस्तिका ढकाललगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटीले यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुको बोल्ने कलाको विकास हुनुको साथै आत्मविश्वास समेत बढ्दै जाने बताए । उनले राज्यले गर्नुपर्ने कार्य निजी क्षेत्रबाट भएकोमा खुशी व्यक्त गर्दै यसले युवाहरुलाई समाजप्रति उत्तरदायी बन्न प्रोत्साहन मिल्ने बताए । उनले विद्यार्थीहरुलाई विदेश गए पनि नेपालमै आएर आफूले सिकेको सिप प्रयोग गर्दै राष्ट्र निर्माणमा अघि बढ्न आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रमुख डिल्लीराम अधिकारीले विद्यार्थीको बोल्ने कलाको विकासमा यस कार्यक्रम फलदायी बनेको बताए । उनले विदेश गए पनि या नेपालमै रहने पनि आफ्नो कलाको विकास हुनु हरेक दृष्टिकोणले उत्कृष्ट रहेको बताए । उनले आगामि दिनमा पनि यस कार्यक्रमलाइ अघि बढाउन एक्सपर्टले सहकार्य गर्ने प्रतिवद्धता जनाए । विमोचन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रमुख यज्ञविलास पौडेललगायतको उपस्थिति रहेको थियो ।
यस पटक यस प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई विभिन्न सामाजिक कार्यमा सहभागि गराइएको थियो । साथै उनीहरुलाई काठमाडौं आएका ख्यातिप्राप्त व्यक्तिहरुबाट बोल्ने कला सम्बन्धि प्रशिक्षण दिइएको थियो ।
स्पिकिङ च्याम्पमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरु सहभागि भएका थिए ।

प्रकाशित : २०७६ मंसिर २० गते १९:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI