चितवनको निर्वाचन परिणाम : प्रचण्ड देखि शेरबहादुर सम्मलाई गतिलो पाठ

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १६ गते १७:१८
चितवनको निर्वाचन परिणाम : प्रचण्ड देखि शेरबहादुर सम्मलाई गतिलो पाठ

रमेश बस्ताकोटी 


चितवनमा यो पटक भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले पराजय बेहोरेपछि अहिले यो चर्चाको बिषय बनेको छ । हुन त देशभरिको परिणामलाई हेर्ने भहो भने नेकपा निकै अघि छ । काग्रेस भन्दा दोव्वर बढी सिटमा उसले विजय हासिल गरेको छ । तर पनि नेकपा भित्र चितवनमा भएको पराजयको बिषयलाई लिएर गम्भिर बहस भएको छ । यो पटकको उपनिर्वाचनमा चितवनमा चुनाव भएका तिन वडा मध्ये तिनवटै वडामा नेपाली काग्रेसले विजयी हासिल गरेको छ । खासगरि भरतपुर १६ मा आएको चुनावी नतिजाले नेकपाका धेरै नेता र कार्यकर्ताहरुको ध्यान खिचेको छ । यो वडा पहिले एमाले एक्लैले जितेको वडा हो पार्टी एकता पछि अहिले चुनाव हुदा काग्रेसका अमृत हमालले ३८६ मतको अन्तरले नेकपाका उम्मेदवार भक्तबहादुर हमाललाई हराए  । यस पछि अहिले चितवनका नेकपाका नेता कार्यकर्ताहरु पार्टी एकताको अर्थ खोजिरहेका छन् । निर्वाचनमा भएको पराजय पछि नेकपाका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा व्यक्त गरेको भावना पछि सोझै बुझ्न सकिन्छ की चितवनको पराजयलाई उनिहरुले आत्मघातीको गोलको रुपमा बुझेका छन् ।

 सामाजिक सञ्जाल मार्फत् धारणा राख्ने अधिकांश नेता कार्यकर्ताको भनाईको एउटै अर्थ लगाउन सकिन्छ पार्टी एकता भएपनि चितवनका नेता कार्यकर्ताहरु मनैदेखि एकिकृत हुन सकिरहेका छैनन् । खासगरि पुर्व एमाले बाट आएका नेता कार्यकर्ताहरुले पार्टी भित्रको अन्तरघात , गुटगत समस्या लगायतका कारण चुनावमा पराजय भोग्न परेको प्रति संकेत गरेको पाईन्छ । यसको एउटै कारण छ नेकपा चितवन भित्र प्रचण्ड पक्षधर अर्थात् पुर्व माओवादी केन्द्रबाट आएका कार्यकर्ताहरुको हालीमुहाली हुनु । पार्टी एकता गर्ने क्रममा प्रचण्डको गृह जिल्ला भएका कारण उनी निकट धेरै नेता कार्यकर्ताहरु महत्वपुर्ण पदहरुमा समेटिएका छन् । यसले पुर्व एमालेबाट आएका नेता कार्यकर्ताहरु खुशी छैनन् । चितवनमा पुर्व एमाले र तत्कालिन एमालेका भातृसंगठनहरु बलिया थिए , तत्कालिन माओवादी केन्द्र कमजोर अबस्थामा थियो तर पनि पार्टी एकता हुदा महत्वपुर्ण पद जति सबै प्रचण्डको गृह जिल्ला भएको नाममा प्रचण्ड पक्षधरहरुलाई परेपछि त्यसले नेकपा भित्र एक तहको असन्तुष्टी थियो । यो पराजयको एउटा कारण यो पनि हो । 

यतीमात्र होईन नेकपाका कार्यकर्ताहरुमा देखिएको दम्भ र सत्ताको उन्माद पनि चितवनमा नेकपाका उम्मेदवारहरु पराजय हुनुको कारण हो । दम्भ र उन्माद यती बढेको थियो की यसले सिमा नाघिसकेको थियो । सामाजिक सञ्जालहरुमा नेकपाका नेता कार्यकर्ताहरुले व्यक्त गर्ने उरन्ठेउला धारणाहरु र टिप्पणी पनि नेकपा पराजयको कारण हो । नेकपाका नेता कार्यकर्ताहरुको यस्तो प्रवृत्ती तटस्थ बस्न रुचाउने मानिहरुलाई मन परेको थिएन । उनिहरु नेकपा नेता कार्यकर्ताहरुको यो दम्भ र सत्ताको उन्मादलाई जवाफ फर्काउन चाहान्थे त्यसैको परिणाम हो चितवनको नेकपाको पराजय । 

हुन त यो वडाको निर्वाचन हो , केन्द्रीय सत्ता राजनितिमा यसले कुनै प्रभाव पार्देन तर पनि यसले नेकपालाई भने गतिलो पाठ सिकाएको छ । भरतपुर १६ नेकपा अध्यक्ष प्रचण्ड र उनकी छोरी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल संग जोडिएको प्रतिष्ठाको बिषय पनि थियो । त्यस कारण उनिहरु भरतपुर १६ गुम्न दिन हुन्न भन्नेमा लागिपरेका थिए । त्यसैका लागि भनेर स्वयम् अध्यक्ष प्रचण्डको पटक पटकको चितवन दौडाहा चलेको थियो । उनको , चुनावी सभामा सहभागिता थियो भने पत्रकार राधेश्याम खतिवडाले सामाजिक सञ्जालमा व्यक्तीगत बिचार भन्दै व्यक्त गरेको धारणा झै सांसद तहका जनप्रतिनिधी निरन्तर निर्वाचनको प्रचारमा खटेका थिए । तर यो नेकपाको लागि प्रत्युउत्पादक सावित भयो । मतदाताहरुले नेकपा बेस्सरी आत्तिएको रुपमा यसलाई बुझे र त्यसपछि पर्न गएको मनोबैज्ञानिक असर पनि पराजयको अर्को कारण हो । निकैलामो विवाद पछि भरतपुर महानगरको मेयरमा चुनिएकी प्रचण्डपुत्री रेनु दाहाल मेयर भएपछि जनताका अपेक्षा नेकपा संग हुनु स्वभाविक हो । तर अपेक्षा अनुसार मेयर दाहालले काम गर्न सकिनन् यसले स्थानीय सरकार प्रति जनताको बिश्वास गुम्यो , अर्थात् उनिहरु ले नेकपालाई भरोषाको साथी मान्न सकेनन् त्यसको सिधार असर निर्वाचनमा परेको कुरालाई नकार्न मिल्दैन । 

यो पटकको निर्वाचनमा जसरी पनि जित्नै पर्ने दवावमा चितवन काग्रेस थियो । यस अघि कहिले हसिया हथौडा त कहिले हलोमा भोट हाल्न काग्रेसको केन्द्रीय नेतृत्वले कार्यकर्ताहरुलाई निर्देशन दिएको थियो । यसलाई चितवनका काग्रेसी कार्यकर्ताहरुले आफ्नो अपमान र आफुमाथीको अन्न्यायको रुपमा बुझेका थिए । जिल्ला राजनितिको अन्तरवस्तु बुझ्दै नबुझी केन्द्रबाट निर्देशन लादेर कार्यकर्ताको भावनामाथी खेल्ने काग्रेस नेतृतवका कमजोरीका कारण चितवनमा अघिल्लो निर्वाचनमा शर्मनाक हार बेहारेको थियो । यो काग्रेसलाई जसरी पनि जित्नु थियो र अझै भरतपुर १६ मा जितेर एकै पटक नेकपा र आफ्नै केन्द्रीय नेतृत्वलाई पनि जवाफ दिनु थियो । त्यसकारण यस पटक चितवनका काग्रेसीहरु एकजुट भए र उनिहरुले आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई समेत सन्देश दिए की अब चितवनमा केन्द्रीय हस्तक्षेप बन्द गर यदी केन्द्रबाट तिमि हस्तक्षेप गर्देनौ भने हामी यहा एकजुट हुन सक्छौ र आफ्ना उम्मेदवार जिताउन सक्छौ भन्ने सन्देश प्रष्ट रुपमा चितवन काग्रेसले दिएको छ । त्यस कारण यो निर्वाचनको परिणाम स्वयम् काग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाका लागि पनि एउटा सन्देश हो । 

चितवनमा भएको अघिल्लो निर्वाचनका क्रममा तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नी छोरी रेनु दाहाललाई निर्वाचनमा जिताउनका लागि काग्रेस संग गठबन्धन गरेका थिए । काग्रेस नेतृत्वले आफ्नो जित निश्चित भएको ठाउमा आफ्नो उम्मेदवार व्याक गरेर तत्कालिन माओवादी केन्द्रलाई सघाएका थिए  । प्रचण्डले त्यसको गुण उपयुक्त समयमा तिर्ने भने सार्वजनीक रुपमानै घोषणा गरेपनि पछि उनले काग्रेसलाइ धोका दिए र तत्कालिन एमाले संग गठबन्धन बनाएर चुनावमा गए । चितवनका काग्रेस कार्यकर्ताले यो धोकालाइ भुलेका थिएनन् र उनिहरुले खोलो तर्ने तर लौरो बिर्सने प्रवृत्तीलाई सवक सिकाउने घोषणा गरेका थिए  । अहिले भएको निर्वाचनमा यो मनोबिज्ञानले पनि राम्रो संग काम गरेको थियो । प्रचण्डलाई सवक सिकाउन काग्रेसीहरु एकजुट थिए यो पटक र त्यही अनुकुलको निर्वाचन परिणाम पनि आयो । अर्को तर्फ पार्टी एकिकरणका क्रममा उनले आफ्नो पक्षीय कार्यकर्ताहरुलाई महत्वपुर्ण पदमा पु¥याउनु र त्यही अनुसारको व्यालेन्स गर्न नसक्नुले पनि यो निर्वाचनलाई प्रभावित पारेको छ । यसबाट नेकपा अध्यक्ष प्रचण्डले पक्कै केहि पाठ सिके होलान् । 

समग्रमा चितवनको निर्वाचन परिणामको दुइवटा सन्देश थियो एउटा प्रचण्ड लगायतकालाई चितवनमा काग्रेस अझै बलियो छ र हिजो छलछाम र धोकाधडीले काग्रेसको मत पाएपनि अब त्यो संभव छैन भन्ने सन्देश चितवका काग्रेसीहरुले दिएका छन् । उनिहरुले यो निर्वाचन मार्फत् आगामी चुनावमा काग्रेस एक जुट हुदा स्वयम् प्रचण्ड र नेकपालाई हम्मे हम्मे पार्छौ र हामी अझै बलियो छौ भन्ने सन्देश दिएका छन् । अर्को चितवनका काग्रेसीहरुले आफ्नै केन्द्रीय नेतृत्वलाई पनि ग्राउण्डमा काम गर्ने कार्यकर्ताको भावना नबुझी सानेपामा बसेर तिमि जथाभावी निर्णय नगर भन्ने सन्देश दिएका छन् । यसले काग्रेस नेतृत्वलाइ अबका दिनमा निर्णय लिदा सोच्न बाध्य बनाएको छ । चितवनको निर्वाचनको परिणामले नेकपा अध्यक्ष प्रचण्ड र काग्रेस सभापति शेरबहादुर देउवा दुबैलाई गतिलो पाठ सिकाएको छ ।

प्रकाशित : २०७६ मंसिर १६ गते १७:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI