लोकतान्त्रिक प्रक्रियामा सहभागी भएकोमा मतदातालाई काङ्ग्रेसको बधाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १४ गते २०:१८
लोकतान्त्रिक प्रक्रियामा सहभागी भएकोमा मतदातालाई काङ्ग्रेसको बधाई

काठमाडौं। नेपाली कांग्रेसले ३७ जिल्लाका ५२ स्थानका लागि शनिवार सम्पन्न उपनिर्वाचनमा सरीक सम्पूर्ण मतदातालाई लोकतान्त्रिक अभ्यासमा भाग लिएकोमा धन्यवाद सहित बधाई ज्ञापन गरेको छ। मतदातालाई धन्यवाद दिदै गर्दा कांग्रेसले सरकारप्रति भने कडा टिप्पणी गरेको छ। 

कांग्रेसले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भय र धांधली रहित वातावरणमा सम्पन्न गराउने प्रमुख दायीत्व सरकारको भएपनि त्यसमा सरकार खरो उत्रन नसकेको बताएको छ। विगतमा आफ्नो संभावित पराजयको आंकलन गरिरहँदापनि निष्पक्ष निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै कांग्रेसले वर्तमान सरकारको भूमिका निश्चीत स्थानका उप निर्वाचनमा समेत त्यो ढंगको हुन नसक्नु दुःखद भएको बताएको छ।

कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ती निकाल्दै सरकारको रवैया हाम्रो लोकतान्त्रिक अभ्यासको भविष्यका लागि समेत प्रतिकुल देखिएको उल्लेख गरेका छन्। उपनिर्वाचनका क्रममा सरकारी साधन–श्रोतको दुरुपयोग, सत्ताको संरक्षणमा भएका भौतिक आक्रमणका घटना, अनेक भय र प्रलोभनका घटनाप्रति नेपाली कांग्रेस आपत्ति प्रकट गरेको छ। 

सरकारी पक्षको असहयोग र अनेक दबाबका विच निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग, मतदानमा सरिक भएका राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकाय एवं निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकारहरुलाई नेपाली कांग्रेसले धन्यवाद र आभार प्रकट गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने भन्दा आफ्नो पार्टीलाई विजय गराउने ध्याउन्नमा सत्ताको दुरुपयोग गरिएको वताउँदै त्यसका बावजुद प्रतिकुल वातावरणमा मतदानमा सहभागी सवै मतदाताप्रति आभार प्रकट गरेका छन्।

सभापति देउवाले  मतगणना लगायतको बाँकि कार्य व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगलाई आव्हान समेत गरेका छन्। देउवाले मतपेटीका संकलन र मतगणनाको कार्यमा विशेष सर्तकता राख्न उपनिर्वाचन सम्पन्न भएका सबै ठाउँका साथीहरुलाई सजगता रहन अपिल गर्दै निर्वाचनमा अहोरात्र खटिनु भएका पार्टीका सवै तहका साथी एवं शुभचिन्तकहरुमा निरन्तर उत्साह र कृयाशिलताका लागि अपिल समेत गरेका छन् ।

प्रकाशित : २०७६ मंसिर १४ गते २०:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI