पोखराको नभप्रभात माविमा मतदान हुँदै गर्दा बम विष्फोट

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १४ गते ८:३७
पोखराको नभप्रभात माविमा मतदान हुँदै गर्दा बम विष्फोट

पोखरा । कास्की २ मा प्रतिनिधि सभाको उपनिर्वाचनको मतदान हुँदै गर्दा पोखराको नभ प्रभात माबिमा बम विष्फोट भएको छ । 

पोखरा ९ मा रहेको नभप्रभात माविमा बम विष्फोट भएको र विष्फोटको थप विवरण आउन बाँकी रहेको पत्रकार सरिता तिम्सिना पंगेनीले बताइन् । 

शुक्रबार मात्रै सुरक्षाकै कारण जनाउँदै डीएसपीको सरुवा गरे पनि जिल्ला प्रशासन कार्यालयको बन्दोबस्ती तथा कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ ।  

कास्की क्षेत्र नं २ मा शनिबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए । 

प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन् । बिहानको समयमा धेरै बेर मतदान गर्नका लागि कुर्न नपर्नुपर्ने उद्देश्यका साथ कतिपय मतदाता बिहानै मतदान गर्न आएका हुन् । यसैबीच, मतदानस्थलमा सुरक्षाको व्यवस्था कडा बनाइएको छ ।     
     
 कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा पर्छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता छन् ।

यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको हो ।   

नेपाली काँग्रेस र नेकपाबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । काँग्रेसबाट त्यागी नेता खेमराज पौडेल (गुरु) र नेकपाबाट विद्या भट्टराई मैदानमा छन् । 

विद्याले बिहान ९ बजे शान्ति उदयबाट मतदान गर्ने छिन् भने पौडेलले मतदान गर्न पाउने छैनन् । 

प्रकाशित : २०७६ मंसिर १४ गते ८:३७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI