उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन निर्वाचन आयोगको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १३ गते १७:१६
उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन आग्रह गरेको छ । 

आयोगले शुक्रबार भिडियो अपिल गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । 

उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरुले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटो सहितको कुनैपनि परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागि हुने वातावरण बनेको बताए । 

उनले उपनिर्वाचनको प्रयवेक्षणका लागि राष्ट्रिय पर्यवेक्षण संस्थाहरुले अनुमति पाइसकेको र नेपाल स्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुलाई समेत अनुमति प्रदान गरिएको बताए । 

यस्तै आयोगमा मिडिया अनुगमन इकाई स्थापना भई अनुगमनको काम भइरहेको समेत उनले बताए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीहरु सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पु-याइसकेको समेत जानकारी दिए । उनले ३७ जिल्लामा २ सय ४७ मतदान स्थल तथा ५ सय ३७ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षकर्मीहरु आवश्यक मतदान सामग्रीहरुसहित गत बुधबार साँझ नै पुगिसकेको समेत जानकारी दिए । 

उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १ जना, प्रदेश सभा सदस्यतर्फ ३ जना, उपमहानगरपालिका प्रमुख १ जना, गाउँपालिका अध्यक्षका लागि ३ जना, गाउँपालिका उपाध्यक्षका लागि १ जना र स्थानीय तह सदस्य तर्फ ४३ गरी कुल ५२ रिक्त पदमा निर्वाचन हुँदै छ । प्रतिनिधि सभा सदस्यतर्फ ११, प्रदेश सभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलहरु सहभागी भएका छन् । 

निर्वाचनमा २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० पुरुष र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ जना मतदाताले मतदान गर्दै छन् ।

प्रकाशित : २०७६ मंसिर १३ गते १७:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI