No ads found for this position

भेन्टिलेटरमा राखेर प्रमको उपचार, भएको के हो ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ११ गते ७:४०
No ads found for this position
No ads found for this position

कान्तिपुर दैनिकका अनुसार  ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई भर्ना गरी राखिएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार उनको अहिलेको स्वास्थ स्थिति ‘स्थिर’ छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान करिब ९ बजे अस्पताल पुर्याइएको थियो। विशेषज्ञ चिकित्सकको टोलीले परिक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै पेरिटनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी (पेटलाइ पुरा चिरेर गरिने शल्यक्रिया)’ र ‘एपेन्डेक्टोमी (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया)’ गरिएको थियो। सेन्टरका अनुसार शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा। रमेशसिंह भण्डारीको नेतृत्वमा शल्यक्रिया गरिएको हो। शल्यक्रिया पछि सेन्टरले मंगलबार दिउँसो र राति गरी दुईपटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थीर रहेको जनाएको छ। विज्ञप्तीमा शल्यक्रिया पछि प्रधानमन्त्रीको सघन कक्ष (इन्टेन्सिभ केयर युनिट)मा उपचार भइरहेको र स्वास्थ्य ‘स्थिर’रहेको उल्लेख छ।

अस्पताल पुग्नु अघि नै प्रधानमन्त्रीको एपेन्डिक्स फुटेको थियो/थिएन भन्नेबारे अस्पतालले केही खुलाएको छैन। उनको उपचार प्रकृया र शारिरीक स्थितिलगायतको विश्लेषणका आधारमा केहि विशेषज्ञले अस्पताल पुग्नु अघि नै एपेन्डिक्स फुटेको आशंका गरेका छन्। ‘प्रधानमन्त्रीले इम्युनोसप्रेसिभ (शरीरको प्रतिरोधात्मक क्षमता घटाउने औषधि) खाइ राख्नु भएको छ। यो औषधिले गर्दा एपेन्डिसाइटिसको दुखाइ कम भएर समयमै थाहा नहुन पनि सक्छ’, एक मृगौला रोग विशेषज्ञले भने, ‘पुरै पेट खोलेर शल्यक्रिया गर्नु पर्नाको कारण या त एपेन्डीक्स फुटेकै हुनु पर्छ नभए पेट भित्र पिप, पानी आदि जमेको हुनु पर्छ।’

यता, नयाँ पत्रिका दैनिकका अनुसार प्रधानमन्त्रीको बिहान ११ बज्दानबज्दै अप्रेसन सुरु गरिएको थियो । एपेन्डिक्स मात्रै भएको भए भुँडीमा प्वाल बनाएर दूरबिनको माध्यमबाट अप्रेसन गर्न सकिन्छ । तर, प्रधानमन्त्री ओलीलाई पेरिटोनाइटिस भएको हो । अर्थात् संक्रमण धेरैतिर फैलिएको थियो । त्यसैले ल्याप्रोस्कोपी प्रविधिबाट प्वाल बनाउनुको सट्टा ल्यापाराटोमी प्रविधिबाट परम्परागत रूपमा पेट चिरेर अप्रेसन गरिएको थियो । यसका लागि उनलाई ‘एनेस्थेसिया’दिएर पूर्ण रूपमा बेहोस बनाइएको थियो । ‘पेटमा संक्रमण कति फैलिएको छ भन्ने यकिन थिएन, त्यसैले सम्पूर्ण रूपमा हेर्नका लागि परम्परागत प्रविधि प्रयोग गरियो । संक्रमण भएको एपेन्डिक्स निकालियो, वरिपरिको संक्रमण पनि ‘वास’ गरियो अर्थात् पखालियो । करिब ४५ मिनेटमा यो प्रक्रिया सकियो,’ डाक्टरले भने । अप्रेसन गरिएकाले उनलाई एन्टिबायोटिक औषधि चलाइएको छ । यो औषधिले उनको अप्रेसन गरिएको घाउ निको हुने मात्र होइन, पेरिटोनाइटिसका रूपमा पेटमा फैलिएको संक्रमण पनि नियन्त्रण गर्ने डाक्टरहरूको अपेक्षा छ । तर, प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले सुधार कसरी हुन्छ भन्ने विषयमा डाक्टरहरूले यकिन दाबी गर्न सकेका छैनन् । अप्रेसनपछि अपेक्षित समयमै उनलाई होस आएको थियो । तर, मध्यरातसम्म पनि उनलाई भेन्टिलेटरमा राखिएको छ । त्यसैले उनले बोलेर कुरा गर्न पाएका छैनन् । ‘मुखमा मास्क लगाइएको छ, त्यसैले उहाँले बोल्न मिल्दैन । तर, इसाराले कुरा गर्नुभएको छ । मास्क हटाइदिनूस् भनेर अनुरोध गर्नुभएको थियो । तर, हामीले हटाएका छैनौँ,’ डाक्टरले भने ।

नागरिक दैनिकका अनुसार प्रधानमन्त्री अबका केही दिन अस्पतालमै रहने भएका छन्। शल्यक्रियापछि चिकित्सकको सल्लाहमा केही दिन अस्पतालमै बस्नुपर्ने भएकाले उनलाई त्यहीं भर्ना गरिएको छ। हाल उनलाई अस्पतालको आइसियूमा उच्च निगरानीमा राखिएको छ। अस्पतालले साँझ साढे सात बजे विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली मंगलबार र बुधबार अस्पतालमै रहने बताए। ‘बाहिर आएजस्तो तीन दिन भन्ने होइन, चिकित्सकले केही दिन भन्नुभएको छ। त्यसकारण आज र भोलि अस्पतालमै रहनुहुन्छ। आवश्यक चेकजाँचपछि उहाँलाई निवास पठाउने कि अस्पतालमै आराम गराउने भन्नेबारेमा चिकित्सकको परामर्श आवश्यक पर्छ’, थापाले मंगलबार साँझ भने।

प्रकाशित : २०७६ मंसिर ११ गते ७:४०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI