No ads found for this position

श्रीमति हत्याको आरोपमा वडा अध्यक्षका छोरा पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १० गते १७:३७
No ads found for this position
श्रीमति हत्याको आरोपमा वडा अध्यक्षका छोरा पक्राउ
No ads found for this position

नवलपुर

 पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नंं. ४ का वडाध्यक्ष चेतबहादुर गोदामीका छोरा तुलाराज गोदामी श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले उनलाई हत्या आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
मृतक महिला बुलिङटार ४ निवासी १८ बर्षीय महिला गोमति गोदामी मगरका आफन्तले मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै गोमतीको हत्या भएको दावी गरेका छन् ।

गोमतीका बुवा गिरन बहादुर जर्गाहा मगरले आफ्नो छोरीलाई हत्या गरेको भए पनि राजनीतिक आडमा घटना लुकाउन खोजिएको बताए ।
मृतक गोमतीका बुवा गिरनबहादुरले आफ्नी छोरीलाई ज्वाई तुलाराज गोदामी मगरले हत्या गरेको दावी गरेका छन् ।

घटना २०७५ साल जेठ २० गतेको भए पनि घटनालाई गुपचुप रुपमा लुकाई आत्महत्याको रुपमा पुष्टि गर्न खोजिएको र पछि आफूहरु उच्च अदालत पोखरा गएर मुद्दा हालेपछि अदालतको आदेशमा मात्र केही दिन अघि मृतकका श्रीमान्लाई पक्राउ गरिएको मृतकका बुवा गिरनबहादुर जर्गाहा मगरले बताए ।

उच्च अदालत पोखराले तुलाराज गोदामीलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गर्न आदेश जारी गरेपछि मात्र प्रहरीले मंसिर ८ गते आइतबार मृतकका श्रीमान् तुलाराज गोदामीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले अदालतको आदेश अनुसार मृतकका श्रीमानलाई नियन्त्रणमा लिई म्याद थप गरी घटनाको अनुसन्धान गरिरहेको बताए ।

मृतकका बुवा गिरनले पत्रकार सम्मेलनमा छोरीलाई कुटपिट गरी हत्या गरिएको तर आफूहरुलाई भने झुण्डिएर आत्महत्या गरेको भनि वडाअध्यक्ष र उनका परिवारले घटना लुकाएको दावी गरेका छन् ।

जिल्ला अस्पताल भरतपुर चितवनले पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको पोष्टमाटर्म रिपोर्ट दिएको भएपनि पोष्टमार्टम रिपोर्ट पनि गलत भएको र त्यसमा पनि जालसाजी गरिएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

मृतकका आफन्तले नवलपुर प्रहरीमा पटक पटक किटानी जाहेरी दिए पनि घटनाको अनुसन्धानलाई अगाडि नबढाएपछि आफूहरु बाध्य भए उच्च अदालत गएको जनाएका छन् ।

मृतकको शरिरमा निलडाम रहेको र झुण्डिएको भनिएको स्थानमा आफूहरुलाई घटनाको जानकारी नगराइएको लगायतका कारण आफूहरुले घटना आत्महत्या नभई हत्या भएको उनीहरुको दावी छ ।

प्रकाशित : २०७६ मंसिर १० गते १७:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI