चिनौ सिमाना जोगाउ माटो अभियान : कालापानी सहितको नक्सा सिकाउदै नेविसंघ स्कुलमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ६ गते ११:५५
चिनौ सिमाना जोगाउ माटो अभियान : कालापानी सहितको नक्सा सिकाउदै नेविसंघ स्कुलमा

काठमाडौं । नेपाल विद्यार्थी संघले (नेविसंघ)ले स्कूलका विद्यार्थीहरुलाई भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीसहितको भूभाग समेटेर नेपालको नक्सा बनाउन सिकाउने अभियान सुरु गरेको छ ।

 ‘चिनौ सिमाना, जोगाउ माटो’ नाम दिइएको उक्त अभियान विहीबारदेखि सुरु भएको हो। 

यस अभियान अन्तर्गत नेविसंघका नेताहरुले पहिलो दिन नेपालकै पहिलो विद्यालय दरवार हाइस्कूलका विद्यार्थीहरुलाई भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको इलाकालाई समेटेर नेपालको नक्सा तयार पार्न सिकाएका थिए ।

 नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपठीको टोलीले दरबार हाइस्कूलका माध्यमिक तहका विद्यार्थीहरुलाई अतिक्रमित कालापानी सहितको इलाका समेटेर नेपालको नक्सा तयार पार्न सिकाएको थिए ।

‘सरकारले विद्यार्थीहरुलाई नेपालको गलत नक्सा पढाइरहेको छ । कालापानी सहितको नक्सा अझैसम्म पनि सरकारले सार्वजनिक नगरेर भविष्यका कर्णधारहरुलाई नेपालको सीमानाबारे गलत जानकारी दिनु राष्ट्रघात हो । यो अभियान अन्तर्गत हामीले सरकारको गल्तीलाई सच्याउने प्रयत्न गरेका छौं । विद्यार्थीहरुलाई नेपालको सीमानाबारे सही जानकारी दिने हाम्रो प्रयास हो’, त्रिपाठीले भने । 

उनले यो अभियान लिएर नेविसंघ देशभरका विद्यालयहरुमा पुग्ने बताए ।

प्रकाशित : २०७६ मंसिर ६ गते ११:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI