उपचुनाब जित्नु बाहेक काङ्ग्रेसको लागि विकल्प छैन : मिनेन्द्र रिजाल

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ४ गते ११:२३
उपचुनाब जित्नु बाहेक काङ्ग्रेसको लागि विकल्प छैन : मिनेन्द्र रिजाल

पोखरा । नेपाली कांग्रेसका नेता एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले यो चुनाव कांग्रेसले जित्नुको विकल्प नभएको बताएका छन् । नेता रिजालले मुलुक व्यथितितर्फै उन्मुख भइरहेको भन्दै सरकारलाई सबक कै लागि भए पनि चुनाव जितेर कास्कीबाट गतिलो सन्देश दिन आवश्यक रहेको बताए ।

एक कुराकानीमा नेता रिजालले भने, ‘भ्रष्टाचार व्याप्त भएको छ । सरकारका कुनै पनि काम आहा भन्न लायकका छैनन्, सरकारको अर्कमण्यतालाई हामीले हेरेर मात्रै बस्न पनि भएन । अब नागरिकले भ्रष्टाचार सहदैनन्, उनीहरूमा विश्वास गुमेको बेलामा उपनिर्वाचनलाई सदुपयोग गर्नुपर्छ ।’

‘जनताले विकास चाहियो, देश भ्रष्टाचारमूक्त हुनुपर्यो भनेका छन्, निर्मला हत्या काण्डको कार्बाही कहाँ पुग्यो ? भनेर प्रश्न गरेका छन्, चिकित्सा शास्त्रको अध्ययनमा भईरहेको विसंगतिलाई सरकारले रोक्न सकेको छैन’, नेता रिजालले भने, ‘हामीले सरकारको यस्तै गलत रबैयालाई चिर्दै, एकताको सन्देश प्रवाह गर्न चाहेका छौं ।’

सीमा अतिक्रमणको बारेमा सरकार समयमा प्रष्ट हुन नसकेको नेता रिजालले आरोप लगाए । ‘आफ्नो भूमिको रक्षा गर्न सकेको छैन । खरो रुपमा राष्ट्रवादको नारा दिएको सरकार खोक्रो भएको छ’, उनले भने, ‘संवैधानिक अंगहरूमा राम्रा मान्छे पठाउनु पर्ने हो, त्यो पनि सबै पार्टीको सहमतिमा पठाउनु पर्ने हो । त्यसो नगरेकोले सरकारको चरित्र लोकतन्त्रवादी छैन । सरकारले संविधान मिचेर काम गरिरहेको छ ।’

एनले निरन्तर ६० वर्षको निस्कलंकित ईमान्दारीको राजनीति गरेका कांग्रेस उम्मेदवार खेमराज पौडेललाई कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा जिताउनुको विकल्प नभएको बताए । ‘अहिले मतदाता जवान पनि धेरै छन् । हामी ठाउँठाउँमा जाँदा त्यो जमातलाई पाका उम्मेदवार पौडेलको उम्मेदवारीले हौसला बढाएको छ’, उनले भने ।

‘कास्कीमा धेरै मानिससंग भेट गरें, सबैलाई करको चिन्ता छ, व्यवसाय फस्टाउन सकेको छैन भनिरहेका छन्, पर्यटन क्षेत्र खाली भएको व्यवसायीले गुनासो गरीरहेका छन्’, नेता रिजालले भने, ‘होटलहरू खाली भएका छन्, पर्यटनको नारा दिएको सरकारले पर्यटन क्षेत्र नै आक्रान्त बनिरहेका छ, उपभोगमा समस्या भएको छ, हरेक बस्तु आयात गर्नुपरेको छ, बिप्रेसन आउने क्षेत्रमा कसैलाई हौसला दिन सकिएको छैन र पर्यटक आउने बेलामा यो क्षेत्र मुर्झाएर बसेको छ, अब भन्नोस् सरकारले अरु के गर्छ ?’

उनले हरेक चुनाव पहिलो हुने भएकोले यो चुनाव पनि पहिलो हो, यो पहिलो उपनिर्वाचनमा जनताले कांग्रेस उम्मेदवार पौडेललाई जिताएर पहिलो नै हुने दावी गरे ।
 
घरदैलो अभियान जारी
कास्की कांग्रेसको घरदैलो अभियान जारी छ । उम्मेदवारसहितको घरदैलो अभियान पोखरा–१६ मा भइरहेको छ । यस्तै पोखराका अन्य १० वटै वडामा घरदैलो र मतदाता भेटघाट अभियान जारी रहेको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार केही वडामा मतदाता भेटघाट कार्यक्रम सकिएको र चुनावीसभाको तयारी भइरहेको छ ।

प्रकाशित : २०७६ मंसिर ४ गते ११:२३
Copyright © 20 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI