तरुण दल नेतृत्व बिहिन : केन्द्रिय समिति नबन्दै सकियो कार्यकाल

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ४ गते ६:३७
तरुण दल नेतृत्व बिहिन : केन्द्रिय समिति नबन्दै सकियो कार्यकाल

काठमाडौँ — कांग्रेसको भ्रातृ संस्था तरुण दल नेतृत्वविहीन बनेको छ । ०७३ मंसिर २ मा भागबन्डाका आधारमा घोषणा गरिएको कार्यसमिति विस्तार नै नभई कार्यकाल सकिएको छ । महाधिवेशनमार्फत नयाँ कार्यसमितिसमेत चयन भएको छैन ।तीन वर्षअघि पोखरामा आयोजित महाधिवेशनमा निर्वाचन रोक्न लगाएर पार्टी नेतृत्वले भागबन्डाका आधारमा चार सदस्यीय कार्यसमिति घोषणा गरेको थियो । जितजंग बस्नेतको नेतृत्वमा बनाइएको समितिमा उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङ थिए । बस्नेत र गुरुङ पार्टी सभापति शेरबहादुर देउवानिकट, शाही वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट र चापागार्इं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन् । पार्टी नेताहरूबीचको झगडाका कारण कार्यसमिति विस्तार हुन सकेको थिएन । विधानअनुसार दलको कार्यसमिति ९९ सदस्यीय बन्नुपर्थ्यो । ‘हामीले तरुण दल विस्तार गरिदिनका लागि धेरैपटक नेताहरूलाई गुहार्‍यौं तर कहिल्यै सहमति जुटेन, न त हामीलाई गठन गर्न अधिकार दिइयो,’ दलका एक पदाधिकारीले भने, ‘कार्यसमिति विस्तार नहुँदा महाधिवेशनसमेत गर्न सकिएन ।’
पछिल्लोपटक अध्यक्ष बस्नेत र महासचिव शाहीबीच द्वन्द्वसमेत चर्किएको थियो । पार्टी हितविपरीत काम गरेको भन्दै बस्नेतले शाहीलाई र शाहीले बस्नेतलाई निष्कासन गरेको घोषणा गरेका थिए । अध्यक्ष बस्नेतले ६ महिनाको म्याद बढाउन सकिने भन्दै ५ महिनाभित्र दलको महाधिवेशन गर्ने बताए ।

प्रकाशित : २०७६ मंसिर ४ गते ६:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI