विस्मृतिमा बानिरा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १ गते ९:२०

नेपाली साहित्यकी प्रखर, बेजोड र अनन्त हुङ्कारसहितकी कवयित्री, उपन्यासकार डा. बानिरा गिरी विस्मृतिमा छिन् । उनको लेखन घडीको सूई टक्क अडिएझैं भएको छ । यदि कुनै दैवी चमत्कार भएको खण्डमा बाहेक उनको जीवनबाट लेखनले लगभग विश्राम लिएको छ । यौटा लेखकका लागि कलम भाँचिनु, लेखनको मूल श्रोत मष्तिष्कले विश्राम लिनु, मात्र टोलाएर, निदाएर विस्मृतिको कालो अन्धकारको सुरुङ्मा धकेलिनु कति पीडादायी होला ? त्यो उसैले मात्र अनुभूत गर्ने कुरा हो । यसको व्याख्या विश्लेषण गर्ने क्षमता समाप्त भएपछि अरुलाई अनुभूति बाँड्न पनि सम्भव हुन्न ।

बानिरा दार्जीलिङमा जन्मिन् र भारतमै शुरुवातको शिक्षा ग्रहण गरिन् । उनलाई कविताले नेपाल बोलायो । तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले राजाबाट बक्स भएको शीर्षकमा हरेक वर्ष गरिने कविता महोत्सवमा पुरस्कृत भएर २०२२ सालमा नेपाल छिरेकी थिइन् बानिरा । पछि उनी उच्च शिक्षाका लागि महेन्द्र छात्रवृत्तिमा पुनः नेपाल प्रवेश गरिन् र यतै घरजम गरिन् इञ्जिनियर शंकर गिरीका साथ वैवाहिक जीवनमा बाँधिएर ।

बानिराले सानै उमेरमा कविताको आराधना आरम्भ गरिन् । दार्जीलिङमा अगमसिं गिरीको आयोजनामा कवि गोष्ठी भएको थियो । उनी सात कक्षामा पढ्दै गरेकी मात्र एघार वर्षकी वाला थिइन् । उनले त्यस कविता गोष्ठीमा भाग लिइन् । उनी पुरस्कृत भइन् । त्यतिखेर दार्जीलिङमै रहेका कवि ईश्वरवल्लभले खुशी भएर छन्द नमिलेको कविता भए पनि कवितामा ओज ल्याउन सक्ने भन्दै बानिरालाई पुस्तक उपहार दिए । बानिरा प्रज्ञा प्रतिष्ठानमा जान अनुपयुक्त पात्र थिइनन् । उनको घरसँगैको बाटो कवयित्री तोया गुरुङका नाममा ‘तोया मार्ग’ भयो । तर, बानिरालाई त्यो जुरेन

काठमाडौंमा बानिराका कविताले डंका पिट्यो । आफ्नो निजत्व र कतै–कतै दार्जीलिंङ्गे लवजसहितका कविता पाठक, अध्येता सबका लागि प्रिय भए । उनको ‘एउटा एउटा जिउँदो जंगबहादुर’ कविताले बानिरालाई चर्चित वनायो, उचाई अंगाल्यो र उनको काव्यिक विशिष्टतालाई फैलावट दियो ।

अमेरिकी कवि स्टाफोर्ड काठमाडौं आउँदा होटल सोल्टीमा भएको अति विशिष्ट कवि गोष्ठीमा बानिराले त्यही कविता ‘एउटा एउटा जिउँदो जंगबहादुर’ वाचन गरेकी थिइन् र तत्कालीन समयमा अमेरिकी राजदूतावासको सक्रियतामा नेपाली भाषामा प्रकाशन हुने ‘स्वतन्त्र विश्व’ मा त्यो कविताले ठाउँ पाएको थियो ।

बानिराको साहित्यमा पहिलो प्रेम र स्थायी प्रेम कविता नै थियो । तर, २०३६ सालको जनमत संग्रहमा पञ्चायतलाई जिताउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुरका पालामा तराईका निकै जंगल उजाडिएका थिए । त्यसैलाई विम्व बनाएर बानिराले लेखिन् ‘जंगल जंगल’ निवन्ध । त्योे लेख्न कम्ति आँटले पुग्दैनथ्यो । त्यो प्रकाशनका लागि पनि कम्ति आँटले पुग्दैनथ्यो । ‘पञ्चायती प्रजातन्त्र’ मा त्यो सहज कुरा थिएन । तर, बानिराले लेखिन् । रुपरेखाले छाप्यो ।

त्यति मात्र होइन, तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको रजत जयन्तीमा प्रकाशित २५ ग्रन्थहरुमध्ये ‘पच्चीस वर्षका निवन्ध’ संकलनमा त्यसका सम्पादक डा. तारानाथले यो निवन्धलाई समावेश गरे । त्यही शीर्षकमा उनले निवन्ध सङ्ग्रह पनि प्रकाशित गरिन् ।

बानिराले लेखेकी थिइन्:

महेन्द्र राजमार्गको जुन विराट, अभेद्य जंगलको बाक्लोपनले मलाई ग्वाम्म अँगालो हालेर सुरक्षा प्रदान गथ्र्याे, त्यहाँ उजाड छ, असह्य नांगोपन छ । जंगलको मृत्यु (तर किन किन मलाई गाँस बासको निम्ति जंगलको मृत्यु भएजस्तो लाग्दैन, ठूलो अनर्थ प्रश्नको निम्ति हत्या गरिएझैं लाग्छ– मृत्यु र हत्यामा आकाश–पातालको फरक छ) मा आशौच बारेका सेता बोर्डका छातीमा लेखिएका खेलाँची वाक्यहरु छन्– ‘रतुवामाई बृक्षारोपण आयोजना ।’

किलोमिटर किलोमिटर जंगल स्वात्तै पारेर धरतीलाई नाङ्गी, निर्लज्ज तुल्याई बेइज्जत गरेर उल्टो बृथारोपण गरौं जस्ता बोर्डहरु देख्दा एउटा अशुभ, पासविक नाटकीय दृश्य मेरा आँखा अघि नाच्दछ ।

एउटा स्वास्नी मानिसका पति, पुत्र सबैको अनाहकमा हत्या गर्ने कुनै बेताल पात्रले रक्तपातको नशामा उही स्वास्नीमानिसको शीरमा हात राखेर अभय मुद्रामा आफ्नो निन्दनीय बहादुरीको महानता प्रदर्शन गर्छ– ‘सौभाग्यवति बने ।’

हो, यो मेरो दशाब्दको सबभन्दा ठूलो गाईजात्रे नाटक हो । जंगल मासिएका ती खण्डहरुमा भोलि झुपडीहरु उम्रिएलान् र मेरा घाउहरुमा मल्हम लगाइदेलान् । तर, आज मैले विह्वल र व्यथित हुनुबाहेक अर्काे उपाय छैन ।

२०३८ सालमा सुधारिएको पञ्चायती कालमा यति चर्काे र गहन अभिव्यक्ति दिन हम्मे पर्ने अवस्था थियो । तर, कलात्मक विम्व र प्रतीकका माध्यमले बानिराले वन फँडानीको घोर भत्र्सना निवन्धको माध्यमबाट गरेकी थिइन् ।
एक ताका बानिरा र पारिजात पुतलीसडकमा डेरा गरेर बस्थे । उनीहरु छिमेकी थिए । मीठो पाकेको वा बनेका भान्साका परिकार पनि साटासाट गर्थे । मीठो मित्रता थियो ।

तर, पारिजात जब कम्युनिष्ट विचारधारातिर ढल्किन्, त्यसले यो मित्रतामा भाँजो हाल्ने काम गर्‍यो। बानिरा स्वतन्त्र प्रजातन्त्रमा विश्वास गर्ने लेखिका भए पनि कुनै पनि राजनीतिक विचारधाराको संगठन वा पार्टीमा आवद्ध थिइनन् । उनी पारिजातको लेखनीको प्रशंसक थिइन् साथै वीपी कोइरालाको लेखन पनि उनलाई अति प्रिय थियो ।

जब वीपीको ‘तीन घुम्ती’ प्रकाशित भयो । त्यो साहित्य जगतका पाठकहरुका लागि प्रिय पुस्तक भयो । बानिराले पनि हत्त न पत्त त्यो किताब पढिन् र त्यो कितावले परेको मीठो प्रभाव बाँड्न पारिजातकहाँ पुगिन् उत्साहका साथ ।

तर, बानिराको अपेक्षा विपरीत पारिजातले भनिन्, ‘मैले त्यो किताब पढेको छैन र पढ्दा पनि पढ्दिनँ ।’

पारिजातको जवाफ सुनेपछि बानिरालाई तोरीको फूल देखेजस्तो भयो । उनले पनि ठाडै भनिदिइन्,‘त्यसो भए अब उसो म पनि तपाईंको कुनै किताब पढ्दिनँ ।’

त्यसपछि बानिराले पारिजातको किताव चटक्कै पढ्न छाडिदिइन् । तर, एकपल्ट बसयात्रामा सहयात्रीले पारिजातको ‘तोरीबारी वाटा र सपनाहरु’ हातमा लिएको देखेपछि बानिराले मन थाम्न सकिनन् । आफ्नो हातको पत्रिका ती अपरिचित सहयात्रीलाई दिँदै त्यो किताब पढ्न चाहेको बताइन् । सहयात्रीले पनि सरक्क मानिदिए । अनि बानिराले पारिजातको त्यो उपन्यास आँखा नझिम्क्याई सकेकी थिइन् ।

बानिराको हुँकार र साहित्यिक विनयशीलता यस्तो थियो ।

हाल अस्तित्वमा भए पनि कतै बिलाएजस्तो, कतै हराएजस्तो, खासै साहित्यकारहरुको मन तान्न असमर्थझैं देखिने बानिराले विगतमा ‘अफ्रो एशियाली लेखक संघ’ को तासकन्दमा भएको साहित्य सम्मेलनमा पनि भाग लिएकी थिइन् । महाकवि लक्ष्मीप्रसाद देवकोटापछि अफ्रो एशियाली साहित्य सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने सम्भवतः उनी दोस्रो प्रतिभा हुन् । सो सम्मेलनको भ्रमण वृतान्त उनले धारावाहिक रुपमा रुपरेखामा प्रकाशित गराएकी थिइन् । र, उनको काव्यात्मक गद्यले सारा पाठकहरुलाई मोहनी लाउन सफल भएको थियो । पाठकहरु रुपरेखा पत्रिकाको आगामी अंकको व्यग्रतापूर्वक प्रतीक्षा गर्थे ।

बानिरा नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला साहित्यकार हुन् । आधुनिक गद्य कवि गोपाल प्रसाद रिमालका कवितामाथि उनले विद्यावारिधि गरेकी थिइन् । यो विद्यावारिधिको प्रकरण पनि बानिरालाई पीडादायी भएको थियो ।

बानिरा रिमालका कविता भनेपछि हुरुक्कै हुन्थिन् र उनले रिमालका कविता माथि विद्यावारिधि गर्ने सोच बनाइन् । तर, रिमालका कविताको सङ्ख्या थोरै भएकाले त्रिविमा उनको प्रस्तावना नै स्वीकार भएन । तर, उनको अठोट, हठी एवं स्वाभिमानी स्वाभावले गर्दा उनी यस मामलामा भिडिन् र विद्यावारिधि गराउन त्रिभुवन विश्वविद्यालय तयार भयो । उनले थेसिस तयार गर्ने क्रममा पनि लामै लफडा व्यहोर्नुपरेको थियो । उनको थेसिस तयार भएपछि पनि उनको थेसिस स्वीकार्य भएन । उनले लामै लडाइँ गर्नुपर्‍यो । एक्सटर्नल गाइड फेर्नुपर्‍यो । अनेक झमेला र लामो लडाईं पश्चात् उनले विद्यावारिधि हासिल गरिन् । यो उनको ठूलो लडाइँ थियो । र, यो लडाईमा उनले बिजेताको ताज पहिरेरै छाडिन् ।

गोविन्द गिरी प्रेरणा

नेपालमा ०४६ सालको आन्दोलनपश्चात् नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको गठनपश्चात् उनले त्यो प्राज्ञ परिषद र विशेष गरी डा.ईश्वर बराललाई उपकुलपति नियुक्त गरेकामा तीव्र आक्रोश पोखेर आफ्नो नियमित स्तम्भमा लेख छपाइन् । जीवनभर दिल्लीमा जागिर खाएर सरक्क नेपाल आउनेवित्तिकै बराललाई उपकुलपति पदमा गरिएको नियुक्तिप्रति उनको आपत्ति थियो । वामपन्थी खेमाका साहित्यकारहरुले त ‘प्राज्ञिक संघर्ष समिति’ नै गठन गरेर सडक संघर्षसमेत गरेका थिए र तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई ज्ञापन पत्रसमेत बुझाएका थिए ।

संघर्ष समितिका संयोजकका नाताले तथा प्रज्ञा प्रतिष्ठानको उग्र विरोधमा कलम चलाएको नाताले पारिजातले विरोध कार्यक्रममा सहभागी हुन आग्रह गर्दा बानिराले आफू कुनै राजनैतिक छातामुनिबाट विरोध कार्यक्रममा सहभागी नहुने तर सर्जकका नाताले भने आमरण अनसन बस्न तयार भएको भन्दै त्यो विरोध कार्यक्रममा सहभागी हुने आमन्त्रणलाई अस्वीकार गरेकी थिइन् ।

बानिराको ‘कारागार’ उपन्यास प्रकाशित भएपछि उनको गद्याख्यानको शक्ति पाठक, अध्येताले थाहा पाए । यस पूर्व उनले पनि आख्यान लेख्छिन् वा लेख्न सक्छिन् भन्ने कसैलाई अत्तोपत्तो थिएन । ‘कारगार’ यति धेरै रुचाइयो कि यसका बारेमा अत्यधिक सकारात्मक समीक्षाहरु विभिन्न प्रमुख पत्रपत्रिकामा प्रकाशित भए । अत्यन्त छोटो समयमा प्रथम संस्करण समाप्त भयो । त्यति मात्र नभई यो उपन्यास अंग्रेजी तथा हिन्दीमा समेत प्रकाशित भएर देश–विदेशका पाठकका हातमा पुग्यो ।

कारागारको सफलताले हौसिएर बानिराले त्यसको दोस्रो खण्डको रुपमा ‘निर्वन्ध’ उपन्यास लेखिन् र प्रकाशित भयो । तर, पाठकले कारागारजस्तो यो उपन्यासलाई स्वागत गर्न सकेनन् ।

उनको तेस्रो तथा पछिल्लो उपन्यास ‘शव्दातीत शान्तनु’ ले भने यौटा नयाँ कीर्तिमान कायम राख्न सफल भयो । यो उपन्यासले साझा पुरस्कार प्राप्त गर्न सफल भयो र उनी साझा पुरस्कार पाउने प्रथम महिला साहित्यकार भइन् ।

तर, खासमा बानिरा लेखकको लिङ्गका विषयमा असहिष्णु छिन् । उनलाई महिला साहित्यकार, नारी साहित्यकार, लेखिका भनेको पटक्कै मन पर्दैन । यस स्तम्भकारले सम्पादन गर्दै गरेको ‘दीप ज्योति’ साहित्यिक मासिकको नारी अङ्कका लागि त्यतिबेलाको उनको निवास थापाथलीमा जाँदा नारी साहित्यकार भनेकोमा आपत्ति जनाउँदै झण्डै अन्तरवार्ता दिन अस्वीकार गरेकी थिइन् । निकै अनुनय विनय र स्पष्टीकरणपछि उनले अर्काे दिन बोलाएर अन्तरवार्ता दिएकी थिइन् ।

त्यस्तै कवयत्री गोमाको जन्म जयन्ती समारोहमा पनि गोमालाई महिला लेखक, नारी लेखक भनेकोमा बानिराले निकै उत्तेजित भएर त्यसको विपक्षमा आफ्नो धारणा प्रस्तुत गरेकी थिइन् ।

बानिराले साहित्यिक भ्रमणहरु प्रशस्त गरिन् देश विदेशमा । उनको विदेशी साहित्यकारहरुसँग सुमधुर सम्वन्ध र सम्पर्क थियो । उनी कविता पढ्नकै लागि जापान फाउण्डेसनको निम्तोमा जापान पुगेकी थिइन् । उनले भारत लगायत, तत्कालीन सोभियत रुस, बेलायत, जापान, अमेरिकालगायत देशमा साहित्यिक भ्रमणहरु गरेकी थिइन् ।

साहित्य त आज पर्यन्त नेपालमा शौख हो । बाँच्नका लागि साहित्यकारले अन्य पेशा नअपनाई सुखै छैन । बानिराले आफ्नो जीवनको अधिकांश समय त्रिभुवन विश्व विद्यालयका क्याम्पसहरुमा अध्यापनमा खर्च गरिन् । तर, अध्यापनमा उनलाई सन्तुष्टि थिएन । उनले पाउनुपर्ने प्रमोशनहरु नपाउँदा अदालतसम्म पुग्नुपर्ने दुर्भाग्य व्यहोरेकी थिइन् । अन्ततः उमेरका कारण अवकाश लिइन् ।

बानिरा गिरी प्रतिभा, योग्यता र योगदानले नेपाल प्रज्ञा प्रतिष्ठानमा जान अनुपयुक्त पात्र थिइनन् । उनको घरसँगैको बाटो कवयित्री तोया गुरुङका नाममा ‘तोया मार्ग’ भयो । तोया गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानको प्रथम प्राज्ञ भइन् । तर, बानिरालाई त्यो जुरेन । यी सबले बानिरालाई अनन्त असन्तोषको भुङ्ग्रोमा हालिदिएको थियो ।

नेपाली साहित्यमा विविध गतिविधिमा सकृय जोडी नरेन्द्रराज प्रसाईं र ईन्दिरा प्रसाईंले आफ्नो नामको पहिलो अक्षरबाट खोलेको नई प्रकाशनले नेपालमा विभिन्न देशमा बसोवास गर्ने साहित्यकारहरुलाई बोलाएर सम्पन्न गरेको अन्तरराष्ट्रिय महिला साहित्य सम्मेलनमा बानिरालाई बग्गीमा राखी नगर परिक्रमा गराएर ‘विश्व नारी रत्न’ को उपाधि दियो । यसलाई बानिराले अत्यन्त ठूलो प्राप्तिका रुपमा लिइन् । र, यसले उनको सोच र व्यवहारमा ठूलो अन्तर ल्याइदियो ।

त्यसो त नेपाली साहित्यमा सिद्धिचरण श्रेष्ठलाई युगकवि, कवि रमेश खकुरेललाई आधुनिक आशुकवि, कवि केदारमान व्यथितलाई विश्व कवि, डा.ध्रुवचन्द्र गौतमलाई आख्यान पुरुष जस्ता उपाधि वा उपमा दिइएका छन् । बानिरालाई दिइएको त्यो उपमा वा उपाधि त्यस्तै थियो । उनले यसलाई अविश्वसनीय प्रकारले धेरै नै महत्व दिइन् । उनलाई यो उपाधिले अनन्त सन्तुष्टि दियो ।

बानिराको नियमित अखबारी लेखनले उनलाई पाठकसमक्ष पुर्‍याउन मद्दत गरे पनि साहित्यिक महत्ता र गम्भीरता, गहनता भएन भन्ने अवस्था पनि आयो । उनको सोभियत भ्रमणको धारावाहिक नियात्राले जुन उँचाइ लिएको थियो, पाठकहरुले जुन व्यग्रताका साथ अर्काे अंकको रुपरेखा पत्रिकाको प्रतीक्षा गर्दथे, पुनर्जागरण अखबारमा लेखेका धारावाहिक लेखनमा त्यस्तो स्वाद आएन भनेर गुनासा गर्नेहरु पनि देखिए ।

तर, जब २०७१ सालमा रत्न पुस्तक भण्डारले उनको ‘रोकिनेले आकार दिन सक्दैन’ शीर्षकको भव्य नियात्रा कृति प्रकाशित गर्‍यो, ती अफवाहहरुलाई यसले चिरिदियो । यो कृतिमा उनका रुपरेखामा प्रकाशित ती वहुचर्चित र वहुप्रतिक्षित सोभियत संघका भ्रमणका नियात्राका साथै स्वदेश तथा विदेशका नियात्राहरु समाविष्ट छन् ।

मुक्तिनाथ, चितवन, तातोपानी र जिरीका नेपाल भ्रमण, भारतको राजस्थान भ्रमण, संयुक्त राज्य अमेरिका, जापान तथा युरोपका इटली, स्वीट्जरल्याण्ड, डेनमार्क, नर्वेका भ्रमण वृतान्तहरु अत्यन्त काव्यात्मक बानिरा शैलीमा लेखिएका छन्, जसलाई शुरु गरेपछि पाठकले छाड्नै सक्तैनन् पूरा नगरिकन । यी भ्रमणहरु कतिपय साहित्यिक समारोह, सम्मेलन र विशेष आमन्त्रणमा भएका थिए भने कतिपय नितान्त व्यक्तिगत र पारिवारिक । तर, पनि ती भ्रमणहरु बानिरा शैलीको जलप र साहित्यिक महत्वले सुवासित छन् ।
बानिराले अशक्त हुनुभन्दा अगाडिसम्म आत्मकथा लेखिरहेकी थिइन् । यस पंक्तिकारसँग पनि उनले त्यसको चर्चा गरेकी थिइन् । निकै बोल्ड र साहित्यिक महत्वको त्यो आत्मकथा नेपाली साहित्यको भण्डारका लागि अमूल्य कृति पूरा हुन पाएन । र, अब यो उनबाट पूरा हुन सम्भव छैन । विगत केही वर्षदेखि उनी डिमेन्सिया अर्थात् स्मृति लोप हुने रोगबाट ग्रस्त भएर विस्मृतिको संसारमा बाँचिरहेकी छिन् ।

यो अल्जाइमरको प्रारम्भिक अवस्था हो । बानिरामा झण्डै चार वर्षअघि डिमेन्सियाको लक्षण देखा परेको थियो । तर, पनि त्यति गम्भीर अवस्था थिएन । तर, दुई वर्षअघि तीनपल्ट निमोनिया भएपछि भने उनी नराम्ररी गलिन् । झन् शौचालयमा लडेपछि त उनलाई हिँडडुल गराउन पनि सहयोगी नभई नहुने अवस्था छ ।

एउटा सकृय, जुझारु, अनन्त हुँकारयुक्त हठी एवं स्वाभिमानी लेखकका लागि योभन्दा ठूलो दुर्भाग्य अरु के हुन सक्छ ?

प्रकाशित : २०७६ मंसिर १ गते ९:२०
Copyright © 2020 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology