स्मार्टफोन बजारमा कसको प्रगति, कसको अधोगति ?

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १ गते ८:३०
स्मार्टफोन बजारमा कसको प्रगति, कसको अधोगति ?

सन् २०१९ को तेस्रो त्रैमासिक विश्व स्मार्टफोन बजारका लागि खासै उत्साहजनक रहेन । यो अवधिमा विश्वमा ३ करोड ८० लाख स्मार्टफोन बिक्री भए । जबकि अघिल्लो वर्षको सोही त्रैमासिकमा ३ करोड ७९ लाख वटा स्मार्टफोन बिक्री भएका थिए ।

काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार यस अवधिमा कतिपय स्मार्टफोन ब्राण्डहरुले गत वर्षभन्दा बढी व्यापार गर्न सफल भएका छन् भने कतिपयका लागि यो त्रैमासिक दुखद् बनेको छ । यी हुन् यो त्रैमासिकमा कमाउने र गुमाउने मूख्य मूख्य स्मार्टफोन कम्पनीको नालीबेलीः

१ सामसुङ : गत वर्षको तेस्रो त्रैमासिकमा भन्दा यो वर्षको उक्त अवधिमा सामसुङले स्मार्टफोन बिक्रीमा ८.४ प्रतिशतको वृद्धिदर कायम गरेको छ । विश्व स्मार्टफोन बजारमा सामसुङको हिस्सा झण्डै २० प्रतिशत छ । तेस्रो  त्रैमासिकमा सामसुङको ग्यालेक्सी नोट १० र ग्यालेक्सी ए सिरिजका स्मार्टफोनको बिक्री उल्लेख्य रह्यो ।

२. हुवावे: चिनियाँ स्मार्टफोन ब्राण्ड हुवावेका लागि तेस्रो त्रैमासिक सबैभन्दा धेरै सुखद् रह्यो । यस अवधिमा कम्पनीले गत वर्षभन्दा २८.५ प्रतिशत बढि स्मार्टफोन व्यापार गर्न सफल भयो । चिनियाँ बजारको कुरा गर्ने हो भने हुवावेले आफ्नो बजार हिस्सा ४० प्रतिशत पर्याएकाे छ । अमेरिकासँगको व्यापार युद्धले चीनमा राष्ट्रवादको लहर चल्दा घरेलु बजारमा हुवावेलाई झनै फाइदा पुगेको देखिएको छ ।

३. एप्पल : एप्पलका लागि सन् २०१९ को तेस्राे त्रैमासिक खासै सुखद् रहेन । आइफोनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले खस्कियो । जसको असर कम्पनीको कूल आम्दानीमा पनि पर्यो । एप्पलको यो त्रैमासिकको आम्दानी गत वर्षको सोही अवधिको भन्दा ११ प्रतिशत कम रह्यो । यद्यपि, तेस्राे त्रैमासिकको अन्त्यतिर बजारमा आएको आइफोन ११ सिरिजले भने चालू अन्तिम त्रैमासिकमा एप्पललाई केही राहत दिने अपेक्षा गरिएको छ ।

४. ओप्पो : चिनियाँ ब्राण्ड ओप्पोले विश्व स्मार्टफोन बजारमा चौथो स्थान ओगट्छ । ओप्पोका लागि पनि चालू वर्षको तेस्रो त्रैमासिक सुखद् रहेन । यो अवधिमा गत वर्षको तुलनामा ओप्पोको विश्व स्मार्टफोन बजारको हिस्सा तथा स्मार्टफोन बिक्रीको संख्या दुवैमा गिरावट आएको छ ।

५. शाओमी : चिनियाँ ब्राण्ड शाओमीले समेत तेस्रो त्रैमासिकमा स्मार्टफोन बिक्रीमा गिरावटको सामना गर्नुपरेको छ । गत वर्षको तेस्राे त्रैमासिकमा ३ करोड ३३ लाख गोटा स्मार्टफोन बिक्री गर्न सफल भएकोमा यो वर्षको उक्त अवधिमा शाओमीले ३ करोड १७ लाख गोटा स्मार्टफोन मात्र बेचेको छ । चिनियाँ बजारमा हुवावेको उपस्थिति बलियो हुँदै जाँदा शाओमीलाई असर परेको देखिन्छ । तर भारतीय बजारमा चाहिँ शाओमीले आफ्नो प्रभुत्व कायम गरी नै रहेको छ ।

६. विवो : अर्को चिनियाँ ब्राण्ड विवोका लागि समेत तेस्राे त्रैमासिक बिर्सनलायक रह्यो । बजार हिस्सा तथा स्मार्टफोन बिक्री दुवैकाे मामिलामा विवोले गिरावट बेहोर्नुपर्यो । गतवर्षको तेस्रो त्रैमासिकमा ३ करोड ५ लाख गोटा विवो स्मार्टफोन विश्व बजारमा बिक्री भएकोमा यो वर्षको सो अवधिमा २ करोड ९५ लाख मात्र बिक्री भएका छन् । त्यस्तै विश्व स्मार्टफोन बजारको हिस्सा ८ प्रतिशतबाट घटेर ७.८ प्रतिशतमा झरेको छ ।

७. रियालमी : ओप्पोको भगिनी ब्राण्डको रुपमा रहेको रियालमीका लागिचाहिँ यो त्रैमासिक सुखद् रहेको छ । लगातार विश्व स्मार्टफोन बजारमा रियालमीले आफूलाई तीव्र गतिमा विस्तार गर्दै आफ्नो बजार विस्तार गरिरहेको छ ।

८. मोटोरोला : लेनोभो कम्पनीको स्वामित्वमा रहेको मोटोरोला ब्राण्डको बजार पनि यो त्रैमासिकमा खस्किएको छ । यस अवधिमा मोटोरोलाले केवल १ करोड स्मार्टफोन मात्र विश्व बजारमा पठाउन सकेको छ । जबकि अघिल्लो वर्ष सोही अवधिमा १ करोड १५ लाख गोटा मोटोरोला स्मार्टफोन बजारमा पठाइएको थियो । मोटोरोलाले आफ्नो रेजर सिरिजका स्मार्टफोनबाट बजारमा पुनरागमन गर्ने अपेक्षा गरेको छ ।

९. एलजी : दक्षिण कोरियाली कम्पनी एलजीका स्मार्टफोन पनि यो वर्षको तेस्रो त्रैमासिकमा खासै रुचाइएनन् । त्रैमासिक अवधिमा एलजीले मात्र ७७ लाख गोटा स्मार्टफोन विश्व बजारमा खपत गराउन सकेको छ । जबकि अघिल्लो वर्ष सोही अवधिमा विश्व बजारमा १ करोड ५ लाख गोटा एलजीका स्मार्टफोन खपत भएका थिए ।

१०. टेक्नो : चिनियाँ स्मार्टफोन कम्पनी टेक्नोचाहिँ सन् २०१९ को तेस्रो त्रैमासिकमा गत वर्षको तुलनामा केही प्रगति गर्ने कम्पनी बनेको छ । यस अवधिमा कम्पनीको विश्व स्मार्टफोन बजारको हिस्साका साथै वास्तविक स्मार्टफोन बिक्रीको संख्यामा समेत थोरै भए पनि वृद्धि भएको छ । तेस्रो त्रैमासिकमा टेक्नो ब्राण्डका ५० लाख स्मार्टफोन बिक्री भएका छन् । यो भनेको टेक्नोका लागि कुनै पनि त्रैमासिकमा अहिलेसम्मकै बढी हो । त्यस्तै विश्व स्मार्टफोन बजारमा समेत टेक्नोले आफ्नो हिस्सालाई १.२ प्रतिशतबाट १.३ प्रतिशतमा पूराएको छ ।
एजेन्सीको सहयोगमा

प्रकाशित : २०७६ मंसिर १ गते ८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI