प्रधानमन्त्रीले भने : नक्सा सच्याउनेमात्र होइन कालापानीबाट विदेशी फौज हटाउछौं

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १ गते ८:११
प्रधानमन्त्रीले भने : नक्सा सच्याउनेमात्र होइन कालापानीबाट विदेशी फौज हटाउछौं

१ मंसिर, कामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अ‍ोलीले यो सरकारले विदेशी फौज फिर्ता गराउने समेत दावी गरे ।

नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए ।

उनले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको बताए । तर केही व्यक्तिहरुले अतिरिक्त देशभक्ति देखाउने नाममा उछृङ्खल गतिविधि गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।

उनले भने ‘यस नाममा केही उछृङ्खल गतिविधि देखिए । कतिपयले आफूलाई हिरो देखाउन, अतिरिक्त देशभक्ति देखाउने हिसाबले त्यस्ता गतिविधि गरेका छन् । यसले समाधान हुँदैन । अहिलेको सरकार नेपाली जनताको सरकार हो । देशभक्त सरकार हो । यो सरकारले एक इन्च भूमि पनि मिचिन दिदैन ।’

हामीलाई अरुको जमिन चाहिएन भन्दै प्रधानमन्त्रीले हाम्रो जमिनबाट छिमेकीले सेना फिर्ता लैजाओस भन्ने आग्रह गरे । नेपालले शान्ति सेनामार्फत विश्वमै शान्तिको पक्षमा नाम कमाएको भन्दै उनले छिमेकीसँग कुनै तनावबिना संवादको माध्यमबाट सीमा समस्या समाधान गर्ने पनि बताए ।

‘अहिलेको सरकार संवाद गर्न नसक्ने, कुरा गर्न नसक्ने त्यस्तो सरकार होइन । इतिहासले देखाइसकेको छ । यो सरकार राष्ट्रिय हितका पक्षमा अड्न सक्छ र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ ।’

प्रधानमन्त्री ओलीले भारतले पछिल्लो समय जारी गरेको नक्सा सच्याएरमात्र नहुने समेत प्रष्ट पारे । कतिपय मान्छेले नक्सा सच्याउ भनेर आन्दोलन गरिरहेको भन्दै उनले भने ‘नक्सा त प्रेसमा छाप्दा सच्याउन भइहाल्छ । हामी भूमि फिर्ता लिन लागेका छौं, विदेशी फौज हटाउन लागेका छौं । हामी त्यसमा सक्षम छौं । नक्सा सच्याउने कुरै होइन ।’

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए । उनले केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताए ।

प्रधानमन्त्रीले भने ‘नेपालको गरिमा बढेको छ । महत्वपूर्ण शक्ति राष्ट्र प्रमुखको भ्रमण लगातार भइरहेको छ । इतिहासमा यस्तो हुदैनथ्यो । अहिले नेपालको कुरा सुनिन थालेको छ ।’

प्रकाशित : २०७६ मंसिर १ गते ८:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI