कविता : उत्सव

NAWALPUR TIMES
प्रकाशित : २०७६ असोज १८ गते १६:०७

राधा पाण्डे गैंडाकोट -१६ नवलपुर

जब गाउँभरि चाडपर्वको बास्ना फैलिन्थ्यो
तब सासुआमा भन्नुहुन्थ्यो–
हाम्रो घराँ चाडपर्व त आउदै नि बा !

स्नेहले लब्रिदै भन्नू हुन्थ्यो
खाऊ !
नमिठो भएपनि खाऊ बा ! यत्ति खाऊ !

तिनै सासुआमाका ममताका तागतले
डल्लाभात फोडेर
सिन्की झोलसंग सल्बलाएर निल्थें म

स्नेहका धारले सासुआमा
घरका सबै दुःख कटाउनु हुन्थ्यो
र, पटकपटक भन्नुहुन्थ्यो–
तिमोरु छौ र त, मलाई स्वर्ग छ

समयले यसरी कोल्टे फेर्यो
खुसीले जरा गाड्यो
हाम्रो घरमा वर्षै पिच्छे
तिज आउँछ
दशै आउँछ
तिहार आउँछ
यो उत्सव हेर्ने सासुआमा छैनन्
अहिले म सासु बनेकी छु
आखाँभरि सासुआमा र उनका छोरा लुकाएर
घरको सबै खुसी हेरिरहन्छु

यो रमझमको म मौन श्रोता हुँ
बुहारी खुसी आयात निर्यात गर्ने ब्यापारी हो
छोरा समय सापेक्ष परिकार हो

ऊ कहिले पर्व बन्छ
कहिले उत्सव बन्छ
कहिले खेलौना बन्छ
कहिले औषधी बन्छ
छोरा बिभाजन भएको म हेरिरहन्छु

यसवर्ष पनि फेरि चाडपर्व आउदैछ
ऊ फेरि दर बन्छ
दक्षिणा बन्छ
उपहार बन्छ
ऊ बिभाजन हुनु र मैले टुलुटुलु हेर्नू
जीवनको नियति बनेको छ

हरेक इच्छा आकांक्षासंग खण्डित छोरासंग
मलाई यत्ति भन्ने चाहाना छ

बाबू !
हरेक वर्ष चाडपर्व दोहोरिएझै
तिम्रा बाउको तिथिपनि वर्षै पिच्छे आउँछ

यति धेरै चिजमा विभाजित मेरो बाबू !
तिमी फेरि एकपटक खण्डित हुन सक्छौ ?
अबदेखि कुलवंश स्मरणको उत्सवपनि मनाउनू है

प्रकाशित : २०७६ असोज १८ गते १६:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI