पल प्रकरण : पूर्वी नवलपरासीमा प्रहरीले छुट्टै अनुसन्धान प्रतिवेदन बुझाउँदै

NAWALPUR TIMES

पल प्रकरण : पूर्वी नवलपरासीमा प्रहरीले छुट्टै अनुसन्धान प्रतिवेदन बुझाउँदै
download 12022 03 16 01 08 15

नवलपुर, चैत ०२ । जबर्जस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरीले बयान सकेर तनहुँमा फिर्ता पठाएको छ । फागुन २४ मा तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएका शाहसँग प्रहरीले बयान लिएर एक साता अनुसन्धान गरेको थियो ।

 

 

साहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता गरिएको थियो । तनहुँमा जाहेरी दिएकी नावालिगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् । पूर्वी नवलपरासीमा शाहले नाबालिगलाई बलात्कार गरेको आरोपबारे अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पूर्व नवलपरासीमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । नावालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि बलात्कार गरेको आरोप छ ।

 

 

‘अनुसन्धान सकेर हामी पूर्वी नवलपरासी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँछौँ’ पूर्वी नवलपरासीका एसपी प्रज्वल महर्जनले भने–‘मुद्दा फरक–फरक दर्ता गर्ने वा तनहुँमा नै मिसिल पठाउने भन्नेबारे सरकारी वकिल कार्यालयबाट निर्णय हुन्छ ।’

 

फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) प्रहरीको हिरासतमा छन् । शाहका म्यानेजर कृष्ण जोशीमाथि पनि प्रहरीले ‘बलात्कार मतियार’ को आरोपमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । तनहुँ प्रहरीले अहिलेसम्म सो प्रकरणमा जोडिएका ५ जनासँग बयान लिएको छ । तनहुँ प्रहरीले नाबालिग र शाह बसेको घरका घरधनी प्रदिप थापा र उनको पत्नीसँग बयान लिएको छ । घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालिकासँगै बसेका हुन् ।’ घटना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बालिकाको उजुरीलाई सहयोग पुग्नेगरी बयान दिएका छन् ।

 

कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंसँग पनि प्रहरीले बयान लिइसकेको छ । आरोपी पल शाहले चाहिँ ‘बलात्कार’ अस्वीकार गरेका छन् । तनहुँका अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीसँगको बयानमा शाहले आरोप अस्वीकार गरेका हुन् । प्रहरीले पीडित बालिकाको पनि घटना विवरण कागज गराएको छ ।

 

 

शाहबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘म्यानेजरबारे पनि अनुसन्धान हुँदैछ’ डिएसपी खड्काले भने–‘शाहलाई पूर्वी नवलपरासीबाट तनहुँमा ल्याइएको छ, अब थप अनुसन्धान अघि बढाउँछौँ ।’ तनहुँ जिल्ला अदालतले शाहलाई दोस्रोपटक थप १२ दिन हिरासतमा राख्न अनुमती दिएको थियो ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology