मल्टीस्टार टिम पारसको चितवनलाई, डिफेन्डिङ च्याम्पियन पोखराको चुनौती

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १ गते १०:३३
मल्टीस्टार टिम पारसको चितवनलाई, डिफेन्डिङ च्याम्पियन पोखराको चुनौती

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत मंगलबार हुने एकमात्र खेलमा शरद भेसावकर कप्तानीको पोखरा पल्टन बिरुद्ध पारस खड्का कप्तानीको चितवन राइनोज खेल्दैछ। पोखरा पल्टनले अघिल्लो सिजन चितवनलाई फाइनलमा पराजित गर्दै लिगको उपाधि उचालेको थियो।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समय ११:३० बजे सुरु हुँदैछ।

लिग अन्तर्गत पोखराको यो दोश्रो तथा चितवनको पहिलो खेल हो। पोखराले पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको थियो। त्यस क्रममा काठमाडौँले दिएको ११६ रनको लक्ष्य १४.१ ओभरमै पुरा गरेको थियो।

पोखरा VS चितवन ( हेड टु हेड ) 

पिपिएलको गत सिजन पोखरा र चितवन बीच खेलिएको दुवै खेलमा पोखरा विजयी भएको थियो।

लिग चरणमा पोखराले ५ विकेटको जित निकाल्ने क्रममा चितवनले दिएको १४१ रनको लक्ष्य पोखराले १७.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो।

चितवन : १४०/५ ( २० ओभर ) , सन्नी पटेल – ४६, पारस खड्का – ४४ , बिक्रम भुसाल -२/३३
पोखरा : १४६/५ ( १७.२ ओभर ) , रभी इन्दर सिंह – ६५, शरद भेसावकर – ३७ , करन केसी – ३/१९

गत सिजन फाइनलमा पोखराले चितवनलाई पराजित गरेको थियो

लिगको फाइनलमा पनि पोखराले चितवनलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले ७ विकेट गुमाएर १९.२ ओभरमा पुरा गरेको थियो।

चितवन : १६०/५ ( २० ओभर ) , पारस खड्का – ५१, सन्नी पटेल – ४३ , कृष्ण कार्की – २/३६
पोखरा : १६१/७ ( १९.२ ओभर ) , रभी इन्दर सिंह – ९० , मोहम्मद नभिद – २५, भुवन कार्की – २/४२

चितवन बिरुद्ध दुवै खेलमा पोखराका विदेशी खेलाडी रभी इन्दर सिंह प्लेयर अफ द म्याच चुनिएका थिए। रभी यो पटक पनि पोखरा टिममा रहेका छन्।

कस्तो छ चितवन राइनोज

नेपाल र विदेशी स्टार खेलाडीले भरिएको चितवन कागजमा प्रतियोगिताकै सबैभन्दा बलियो टिम हो। पारस खड्का कप्तानी रहेको चितवनमा करन केसी, आरिफ शेख, बिक्रम सोब, भुवन कार्की जस्ता राष्ट्रिय क्रिकेटर रहेका छन्। यस्तै यो पटक विदेशी खेलाडीको रुपमा सन्नी पटेल, बाबर हायात र रोहन मुस्तफा रहेका छन्।

पारस, सन्नी, रोहन, करन जस्ता अल-राउण्डरहरु रहनु टिमको अझ मजबुत पक्ष हो। बाबर, सन्नी, करन, पारस, रोहन, आरिफ जस्ता ब्याट्सम्यानहरु टिममा रहनुले चितवनको ब्याटिंग पक्ष कति बलियो देखिन्छ।

नेपाली घरेलु क्रिकेटमा अनुभवी स्टार खेलाडी सन्नी पटेल चितवनमा छन्

यस्तै बलिंगमा अघिल्लो सिजन सर्वाधिक विकेट लिएका तिब्र गति बलर करन केसी ( १२ विकेट ) तथा दोश्रो धेरै विकेट लिएका सन्नी पटेल ( १० विकेट ) ले बलिंगको नेतृत्व गर्नेछन्। रोहन मुस्तफा, विक्रम सोब र बिक्रम भुसाल, भुवन कार्की, रामनरेश गिरि जस्ता बलरहरु टिममा छन्।

टिम चितवन राइनोज : पारस खड्का (कप्तान), अनिल कुमार शाह, भुवन कार्की, हरि शंकर शाह, करन केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, विक्रम शोब र विक्रम भुसाल, विदेशी खेलाडी – सन्नी पटेल, बाबर हायत र रोहन मुस्तफा

कस्तो छ पोखरा पल्टन 

शरद कप्तानीको पोखराले अघिल्लो सिजन प्रतियोगिता जित्दा रभी इन्दर सिंहको प्रदर्शन उत्कृस्ट रहेको थियो। यो पटक पनि टिममा रहेका रभी प्रतियोगिताकै सर्वाधिक रनकर्ता रहेका थिए जसले ६ खेलमा ४३.३३ को औशतले २६० रन बनाएका थिए।

गत सिजन पोखरा टिममा रहेका मोहम्मद नभिद भने यो पटक टिममा छैनन्। नभिदको अनुपस्थितिको कमि टिमले पक्कै महसुस गर्नेछ। सो कमिलाई कम गर्न उसले यो पटक भारतको रणजी ट्रफी खेलीसकेका तिब्र गति बलर प्रथमेश डाके र आईपीएल खेलीसकेका लेग स्पिनर सर्बजित लड्डालाई टिममा समावेश गरेको छ। लड्डा आइपिएल टिम दिल्ली डेयरडेभिल्स, गुजरात लायन्स, कोलकाता नाइट राइडर्सको प्रतिनिधित्व गरिसकेका छन्। अन्तिम पटक उनले गुजरातबाट २०१६ आइपीएल खेलेका थिए।

रभी इन्दर सिंह गत सिजनको सर्वाधिक रनकर्ता हुन्

पोखराको ब्याटिंगमा कप्तान शरद सहित बिनोद भण्डारी, आसिफ शेख, रोहित पौडेल, कुशल भुर्तेल, रभी इन्दर सिंहको उपस्थितिले सन्तुलित बनाउछ। ओपनिंग गरेका कुशल भुर्तेलले आफ्नो लय पहिलो खेलमा अर्धशतक बनाउदै देखाइसकेका छन् जुन टिमको लागि सकारात्मक पक्ष हो।

बलिंगमा अघिल्लो सिजन दोश्रो सर्वाधिक विकेटकर्ता ललित राजवंशी ( १० विकेट ) सहित गत सिजन राम्रो खेलेका उदयमान युवा तिब्र गति बलर राशिद खान, कृष्ण कार्की सहित दुइ अनुभवी विदेशी खेलाडी प्रथमेश डाके, सर्बजित लड्डा हुनुले टिमलाई पूर्ण बनाएको छ।

अर्कोतर्फ शरदको टिमको राम्रो पक्ष टिमको एकरुपता हो।

 टिम पोखरा पल्टन : शरद भेसावकर ( कप्तान ) , बिनोद भण्डारी, राशिद खान, आसिफ शेख, रोहित पौडेल, कुशल भुर्तेल, मेहबुब आलम, कृष्ण कार्की, इशान पाण्डे, ललित राजबंशी, सुमन घिमिरे, विदेशी खेलाडीहरु – रभी इन्दर सिंह, प्रथमेश डाके, सर्बजित लड्डा

प्रकाशित : २०७६ पुष १ गते १०:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI