खेमराज गुरु त्यागी हुन्, जिताएर राजनीतिको दृष्टकोणमा परिवर्तन ल्याउनुस् : गगन थापा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ६ गते ४:३२
खेमराज गुरु त्यागी हुन्, जिताएर राजनीतिको दृष्टकोणमा परिवर्तन ल्याउनुस् : गगन थापा

पोखरा । नेपाली काँग्रेसका शीर्ष नेताहरु शुक्रबार पोखरामा भेला हुँदैछन् । उनीहरु उपनिर्वाचनका लागि काँग्रेसको माहोल बनाउन देश दौडाहामा जाँदै गर्दा पोखरामा पुग्न लागेका हुन् । 

कास्की २ मा प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका त्यागी नेता खेमराज पौडेल उठेका छन् । उनलाई भोट माग्ने क्रममा काँग्रेस केन्द्रीय सदस्य गगन थापाले प्रवृत्तिलाई पुरस्कृत गर्ने क्रममा खेमराज गुरुलाई उम्मेदवार बनाइएको बताएका छन् । 

उनले यो निर्वाचनको परिणामबाटै कस्ता मान्छेहरु राजनीतिमा आउने भन्ने निर्धारण हुने पनि बताए । पोखरावासीलाई गगन थापाले भने, ‘खेमराज गुरुलाई जिताएर देखाउनुस् । उहाँको सुविधा भोगी त्यागलाई सम्झेर भोट हाल्नुस् ।’

थापाले पोखराको नतिजाले प्रचण्ड बहुमतको नेकपालाई फरक नपार्ने तर खेमराज गुरुले जितेमा राजनीतिलाई हेर्ने दृष्टकोणमा परिवर्तन आउने बताए । 

उनी बिहीबार लमजुङमा सुन्दरबजार नगरपालिकाका वडाध्यक्ष प्रकाश सेढाइका लागि भोट मागेर बिहीबार साँझ नै पोखरा पुगेका थिए । उनी सुकुम्वासी बस्तीमा आयोजित कार्यक्रममा शुक्रबार बिहान खेमराज गुरुलाई भोट माग्न पुगेका हुन् । 

गगन थापा शनिबार बिहानसम्म पोखरा रहने छन् र त्यहाँबाट चुनावी अभियानका लागि बागलुङ जानेछन् । 

त्यसैगरी काँग्रेस सभापति शेरबहादुर देउवाको अगुवाईमा चिप्लेढुंगामा अपरान्ह ४ बजे विशेष र्याली आयोजना हुनेछ । 

उक्त र्यालीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला लगायत सहभागी हुनेछन् 
शनिबार बिहान नेपाल तरुण दलको आयोजनामा पोखरामा काँग्रेसले भब्य चुनावी सभा आयोजना गर्दैछ । पोखराबाटै काँग्रेसले उपनिर्वाचनको सन्देश देशभरलाई दिने पनि दावी गरिएको छ । 
 

प्रकाशित : २०७६ मंसिर ६ गते ४:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI